धितोपत्र बोर्ड अध्यक्षका लागि १५ जनाको आवेदन (सूचीसहित)- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

धितोपत्र बोर्ड अध्यक्षका लागि १५ जनाको आवेदन (सूचीसहित)

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष पदका लागि १५ जनाको आवेदन परेको छ । अध्यक्ष पद सिफारिस समितिले दोस्रो पटक आह्वान गरेको सूचनापछि १५ जनाको आवेदन परेको हो । अघिल्लो पटक जारी सूचनामा १२ जनाको आवेदन परेको थियो ।

पहिलो सिफारिस समितिको गठन प्रक्रियामै प्रश्न उठेपछि सरकारले दोस्रो पटक समिति गठन गरेको थियो । नेपाल सरकारद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वमा गठित समितिले सेबोन अध्यक्ष पदका लागि १५ दिन अघि सूचना जारी गरेको थियो । सिफारिस समितिको सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी र वित्त सदस्यमा जीवनाथ धिताल रहेका छन् । आवेदनका लागि आज अन्तिम दिन थियो । परेका आवेदनमध्येबाट समितिले तीन जना छनोट गर्ने छ । छनोटमा परेकामध्येबाट सरकारले एक जनालाई अध्यक्षमा नियुक्त गर्नेछ ।

सेबोनका पूर्व अध्यक्ष भिष्मराज ढुङ्गानाको बर्खास्तपछि उक्त पद खाली छ । सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न भएको भेटिएपछि ढुङ्गानालाई सरकारले बर्खास्त गरेको थियो । धितोपत्र ऐन २०६३ मा धितोपत्र अध्यक्षका लागि उच्च नैतिक चरित्र भएको नेपाली नागरिक हुनुपर्ने, धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तिमा ७ वर्षको पेशागत अनुभव हासिल गरेको व्यक्ति हुनुपर्ने प्रावधान छ ।

सेबोनमा अध्यक्ष पदका लागि आवेदन दिनेहरूको सूची :

१. डा‍. गोपालप्रसाद भट्ट

२. खगेन्द्र कटुवाल

३. मुक्ति अर्याल

४.रमेश घिमिरे

५. चिरन्जिवी चापागाईं

६. डा नवराज अधिकारी

७. अम्बिका शर्मा लामिछाने

८. कृष्णराज पोखरेल

९. डा जीवन अंगाई

१०. रमेशकुमार हमाल

११. सिताराम थपलिया

१२.डा. केशवप्रसाद श्रेष्ठ

१३. अनिलराज पौडेल

१४. निरज गिरी

१५. हेमन्त बस्याल

प्रकाशित : पुस २९, २०७८ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्

विद्यालय जान थाले सैनामैनाका आमाहरू

अमृता अनमोल

बुटवल — विभिन्न कारणले बाल्यकालमा विद्यालय जान नपाएका र बिचमै पढाइ छाडेका महिलाको शिक्षा पूरा गराउनका लागि विद्यालय सञ्चालन भएको छ । आमाहरूको काँधमा घर व्यवहार चलाउने जिम्मेवारी छ । तैपनि समय निकालेर पढ्न गएका छन् ।

हरिकला घर्ती मगरले बाल्यकालमा पढ्न पाइनन् । ९ वर्षकै उमेरमा बिहे भयो । त्यसपछि घरधन्दा र छोराछोरी हुर्काउँदैमा दिन बिते । अहिले छोराछोरी हुर्किए । घरधन्दा कम हुँदै गयो । ५१ वर्षे टिकामाया दिउँसो फुर्सद निकालेर पढ्न जान थालेकी छन् । ‘असाध्यै पढ्न मन थियो,’ उनले भनिन्,‘ त्यसैले पोहोर साल प्रौढ कक्षाबाट सावा अक्षर सिकें । अहिले कक्षा ४ मा भर्ना भएकी छु ।’

हरिकला मेहनती छिन् । नियमित गृहकार्य गर्छिन् । आवाज निकालेर अंक र गुणन कण्ठस्थ गर्छिन् । ‘पढाइमा मात्रै ध्यान दिन पाइँदैन,’ हरिकलाले सुनाइन्, ‘भान्सामा काम गर्दै‚ पढ्दै गर्नुपर्छ । नातिनातिना हेर्दै‚ लेख्दै गर्नुपर्छु ।’ मोबाइल चलाउने र आफ्नो नाम लेख्ने रहरले पढ्न गएकी टिकामायाको अब कक्षा १२ सम्म पढ्ने धोको छ । गाउँका साना विद्यार्थीजस्तै नेपाली र अंग्रेजी फरर पढ्ने रहर छ ।

रुपन्देहीको सैनामैना नगरपालिका-६ पटनामा महिला विद्यालय सञ्चालन भएको छ । विभिन्न कारणले बाल्यकालमा विद्यालय जान नपाएका र बीचमै पढाइ छाडेका महिलाको विद्यालय शिक्षा पूरा गराउन विद्यालय खोलिएको हो । सैनामैना नगरपालिकाले गोरखनाथ सामुदायिक सिकाइ केन्द्रलाई यस वर्षदेखि आधारभूत तहसम्म पढाइ हुने महिला विद्यालयमा रुपान्तरण गरेको हो । महिलाहरू कक्षा उत्तीर्ण हुँदै नयाँ कक्षामा जाँदा विद्यालयलाई मावि तहसम्म पुर्‍याइने लक्ष्य छ । गाउँमै महिला विद्यालय खुलेपछि पढ्ने रहर भएका धेरै आमाहरू विद्यालय जान पाएका छन् ।

त्यसमध्येकी हुन्, ४५ वर्षीया लालुमाया राना । सावाँ अक्षरसमेत नजानेकी उनी गतवर्ष साक्षरता कक्षामा भर्ना भएकी थिइन् । अहिले उनी कक्षा ४ मा पढ्दैछिन् । नेपाली खरर पढ्छिन् । मोबाइल चलाउँछिन् । दिउँसो विद्यालयमा पढ्छिन् । साँझ-बिहान घरधन्दा गर्दै गृहकार्य सक्छिन् । उनको एसईईसम्म पढ्ने उनको धोको छ । ‘समयले बाल्यकालमा पढ्न दिएन । अहिले भए पनि रहर पूरा गर्दैछु,’ भीमाले भनिन्, ‘लेखपढ नजान्दा धेरै पटक ठक्कर खाएँ । पैसा नचिन्दा धेरै पटक ठगिएँ । साथीसंगी र आफन्तबाट अपमानित पनि भएँ । अब कहिल्यै त्यस्तो भोग्नुपर्ने छैन ।’ गुल्मीमा जन्मेकी लालुमायाले जान्ने भएदेखि घाँसदाउरा गरिन् । दाजुभाइलाई पढ्न पठाउँदा उनलाई पठाइएन । ‘साह्रै रहर थियो पढ्ने । अहिले पूरा भयो,’ लालुमायाले सुनाइन् ।


तस्बिर : अमृता अनमोल/कान्तिपुर ।

मेची-महाकाली बुहारी संयुक्त आवाजले विद्यालय व्यवस्थापन गरेको छ । उसले नै नगरपालिकाभित्र पढ्न नपाएका महिलाको सूची तयार पार्ने र विद्यालय आउन परामर्श गरेको छ । उनीहरूमध्ये धेरै साक्षर कक्षाबाट अक्षर चिनेका महिला हुन् । कोही बिचमै पढाइ छाड्ने महिला पनि छन् । अर्घाखाँचीकी मानकुमारी थापा कखरा पढ्दै थिइन् । बिहे भयो । घरधन्दा र छोराछोरी हुर्काउने कामले पढेका कुरा पनि बिर्सिंदै गइन् । अहिले मोबाइल र फेसबुकको जमाना आयो । उनलाई पढ्ने रहर लाग्यो । तिनै ४७ वर्षीया मानकुमारी थापा अहिले कक्षा ४ मा पढ्दैछिन् । उनले अहिले स-साना अंग्रेजी वाक्य पढ्न र मोबाइल चलाउन सिकेकी छन् । उनको एसईई‍सम्म पढ्ने मायाको धोको छ । ‘पढे संसार चिनिँदोरहेछ । पढेर जागिर खाने उमेर गयो तर पनि एसईईसम्म गर्नेछु,’ मानकुमारीले भनिन् ।

विद्यालयमा अहिले २५ जना महिला अध्ययनरत छन् । धेरैजसो आमा बनेका विद्यार्थी छन् । कोही हजुरआमा बनेका छन् । आमाहरूको काँधमा घरव्यवहार चलाउने जिम्मेवारी छ । तैपनि जसोतसो समय निकालेर पढ्न गएका छन् । नगर प्रमुख चित्रबहादुर कार्कीले घरेलु मजदुर, श्रमिकलगायत पढ्न नपाएका किशोरीहरूलाई समेत विद्यालय ल्याउन सर्वेक्षण थालेको बताए । ‘सबै महिलालाई शिक्षा र रोजगारीको अवसर दिने लक्ष्य छ,’ उनले भने, ‘पढाइ पूरा गरेका महिलालाई जागिर वा व्यवसायमा लाग्न पनि सघाउनेछौं ।’

विद्यालयमा बिहान ११ देखि दिउसो ३ बजेसम्म पढाइ हुन्छ । अन्य दिन विद्यालयको कोर्स पढाइन्छ । हप्ताको एक दिन शुक्रबार व्यवहारिक शिक्षा पढाइन्छ । त्यसमा स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ, मानवअधिकार लगायत विषय रहेको केन्द्रकी अध्यक्ष लता खड्काले बताइन् । ‘महिलाहरूको अधुरो शिक्षा पूरा गर्ने र आत्मनिर्भर बनाउने उद्देश्यले विद्यालय सञ्चालन गरिएको हो,’ उनले भनिन्, ‘विद्यालयबाटै रोजगारी र आयमूलक काम पनि सिकाइनेछ ।’

प्रकाशित : पुस २९, २०७८ १७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×