माघमा निक्षेपको ब्याजदर स्थिर, ऋणको बढ्ने

औसत १ प्रतिशतभन्दा बढीले कर्जाको ब्याजदर वृद्धि हुने सम्भावना
यज्ञ बञ्जाडे

काठमाडौँ — माघमा बैंकहरूमा निक्षेपको ब्याजदर स्थिर रहे पनि कर्जाको ब्याजदर भने बढ्ने भएको छ । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले बुधबार माघका लागि निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ ।

माघमा निक्षेपको ब्याजदर स्थिर, ऋणको बढ्ने

‘ब्याजदर बढाए पनि निक्षेप बढी हाल्ने होइन । लागत मात्र बढ्छ । यसकारण पुसमा जस्तै माघमा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय भएको छ,’ संघका कार्यकारी निर्देशक अनिल शर्माले भने, ‘तर आधार दर (बेस रेट) मा भएको वृद्धिअनुसार कर्जाको ब्याजदर भने बढ्छ ।’

गत कात्तिक र मंसिरमा निक्षेपको ब्याजदर वृद्धि भइसकेकाले बैंकहरूको लागत (खर्च) बढेको छ । लागतमा भएको वृद्धिका आधारमा पुस मसान्तमा बैंकहरूको आधार दर वृद्धि हुने र सोही अनुपातमा कर्जाको ब्याजदर पनि बढ्ने संघले बताएको छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले हरेक तीन/तीन महिनामा आधार दर गणना गर्नुपर्छ । यसरी त्रैमासिक रूपमा आधार दरमा आएको परिवर्तनअनुसार कर्जाको (नयाँ पुराना सबै) ब्याजदर पनि परिमार्जन गर्नुपर्छ । पछिल्लो पटक बैंकहरूले गत असोजमा आधार दर गणना गरेका थिए । उक्त आधार दरका आधारमा पुससम्मका लागि कर्जाको ब्याजदर निर्धारण भएको थियो । अब पुस मसान्तमा बैंकहरूले पुनः आधार दर गणना गर्नेछन् । गत कात्तिक र मंसिरमा निक्षेपको ब्याजदर बढेकाले पुसमा आधार दर बढ्ने निश्चित छ । आधार दर बढेपछि बैंकहरूले कर्जाको ब्याजदर पनि बढाउँछन् । यसकारण पनि माघदेखि कम्तीमा औसत १ प्रतिशतभन्दा बढीले कर्जाको ब्याजदर बढ्ने सम्भावना देखिएको बैंकर्स संघका उपाध्यक्ष सुनील केसीले बताए ।

‘सबै बैंकको समान दरले कर्जाको ब्याजदर बढ्छ भन्ने हुँदैन,’ उनले भने, ‘बैंकहरूको आधार दर कुन अनुपातमा बढ्छ । ऋणको ब्याजदर पनि सोही अनुपातमा बढ्छ ।’ आधार दरमा भएको परिवर्तनअनुसार ब्याजदर बढाउन पाउने राष्ट्र बैंककै निर्देशन छ । माघदेखिको लागत तेस्रो त्रैमासको अन्त्यमा गणना हुने आधार दरमा समावेश हुने भएकाले बैंकहरूले आउँदो महिना निक्षेपको ब्याजदर नबढाए पनि कर्जाको बढ्ने उनले स्पष्ट पारे ।

हाल कायम ब्याजदरका आधारमा हेर्दा पनि माघदेखि कर्जाको ब्याजदर दोहोरो अंकमा पुग्ने निश्चित छ । ‘अहिले पनि बैंकहरूले ११/१२ प्रतिशतमा कर्जा दिइरहेका छन्,’ एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘अब आधार दर बढेपछि त्यो भन्दामाथि जाने निश्चित जस्तै छ ।’ राष्ट्र बैंकका अनुसार गत कात्तिकमा वाणिज्य बैंकहरूको औसत आधार दर ७.८२ प्रतिशत थियो । २०७७ कात्तिकमा यो ७.५७ प्रतिशत थियो । यस्तै, गत कात्तिकसम्म वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ५.८० प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ९.०२ प्रतिशत थियो । गत वर्षको सोही अवधिमा निक्षेपको भारित औसत ब्याजदर ५.३१ प्रतिशत र कर्जाको ९.५२ प्रतिशत थियो ।

तरलता अभाव पुरानै स्थितिमा : राष्ट्र बैंक

मंगलबारसम्म वित्तीय प्रणालीमा करिब साढे ७ अर्ब रुपैयाँ मात्र अधिक तरलता रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । एक साताअघिसम्म यो आँकडा करिब ६० अर्ब रुपैयाँ थियो । स्थानीय तहको खातामा रहेको रकमको ८० प्रतिशतसम्म बैंकहरूले निक्षेपमा गणना गर्न पाउने व्यवस्था हुनु, सरकारी खर्च बढ्नु, करिब ९२ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत हुनु लगायत कारण वित्तीय प्रणालीमा तरलता स्थिति केही सुध्रिएको हो । तर, त्यो अवस्था धेरै दिन टिकेन । पुनः पुरानै स्थितिमा फर्किएको छ । पुस मसान्तलाई आधार मानेर करबापत रकम सरकारी खातामा जान सुरु गरेको, थप कर्जा प्रवाह भएकोलगायत कारण वित्तीय प्रणालीमा फेरि तरलता अभाव यथावत रहेको राष्ट्र बैंकले जनाएको छ ।

गत असोजमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अघिल्लो महिनाको तुलनामा १० प्रतिशत बिन्दुले मात्र ब्याजदर बढाउन पाउने निर्देशन दिएको थियो । कात्तिकमा त्यसमा परिमार्जन गरेर अघिल्लो महिनामा आफ्नो वर्गका सबै वित्तीय संस्थाको औसत ब्याजदरका आधारमा १० प्रतिशत बिन्दुले मात्र ब्याजदर बढाउन पाउने व्यवस्था ल्याइयो । उक्त व्यवस्थापछि घुमाउरो पाराले राष्ट्र बैंकले निक्षेपको ब्याजदर तोकिदिएको थियो । सोही निर्देशनपछि बैंकहरूले आफूहरूबीचमा पनि सहमतिका आधारमा ब्याजदर प्रकाशन गरिरहेका छन् । जसअनुसार वाणिज्य बैंकहरूमा एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर अधिकतम १०.०५ प्रतिशत र संस्थागत निक्षेपकर्ताका लागि अधिकतम ९.०५ प्रतिशत ब्याजदर तय भएको छ । यस्तै, साधारण बचतमा ५.०५ प्रतिशत ब्याजदर तोकिएको छ ।

विकास बैंक र फाइनान्स कम्पनीले भने अझै निर्णय गरिसकेका छैनन् । यसबारेमा छलफल गर्न भन्दै डेभलपमेन्ट बैंकर्स एसोसिएसनले बिहीबारका लागि बैठक डाकेको छ भने फाइनान्स कम्पनीले पनि एक/दुई दिनमै छलफल गर्ने बताएको छ । विकास बैंक र फाइनान्स कम्पनीले पनि गत पुसमा निक्षेपको ब्याजदर स्थिर राखेका थिए । स्रोतका अनुसार माघका लागि वाणिज्य बैंकले ब्याजदर स्थिर राखेपछि विकास बैंक र फाइनान्स कम्पनीले पनि स्थिर नै राख्ने सम्भावना बढी छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले हरेक महिनाको अन्तिममा आगामी महिनाका लागि कर्जा र निक्षेपको ब्याजदर प्रकाशन गर्नुपर्छ । जसअनुसार माघका लागि आउँदो शुक्रबारसम्म ब्याजदर प्रकाशन गर्नुपर्छ । हाल विकास बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १०.२५ प्रतिशत, संस्थागत निक्षेपकर्तालाई ९.२५ प्रतिशत र सर्वसाधारणलाई ५.२५ प्रतिशत ब्याजदर दिँदै आएका छन् । फाइनान्स कम्पनीहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १०.३५ प्रतिशत, संस्थागत निक्षेपकर्तालाई ९.३५ प्रतिशत र सर्वसाधारणलाई ५.३५ प्रतिशत ब्याजदर दिँदै आएका छन् ।

प्रकाशित : पुस २९, २०७८ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?