कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

५ महिनामै बजेटबाहिरबाट साढे १३ अर्ब खर्च

बजेट कार्यान्वयन मार्गदर्शनविपरीत साउनबाटै रकमान्तर, स्रोतान्तर र थप निकासा

काठमाडौँ — विनियोजन ऐन (रातो किताब) मा राखिएका बजेट शीर्षकभन्दा बाहिरबाट हालसम्म साढे १३ अर्ब रुपैयाँ खर्च भएको सरकारले जनाएको छ ।

५ महिनामै बजेटबाहिरबाट साढे १३ अर्ब खर्च

अर्थ मन्त्रालयले बुधबार चालु आर्थिक वर्ष ०७८/७९ को ५ महिनामा भएको रकमान्तर, स्रोतान्तर र थप निकासासम्बन्धी विवरण सार्वजनिक गर्दै १३ अर्ब ५० करोड ३२ लाख रुपैयाँभन्दा धेरै रकम बजेट शीर्षकभन्दा बाहिरबाट खर्च गर्न भुक्तानी अनुमति दिइएको जनाएको हो । विभिन्न मन्त्रालय र मातहतका निकायहरूबाट यस्तो रकम खर्च भएको छ ।

सरकारले मंसिर मसान्तसम्ममा गरेको बजेट प्रणालीभन्दा बाहिरको निकासा यही अवधिमा भएको पुँजीगत खर्चको करिब आधा हो । यो अवधिमा पुँजीगत खर्च २८ अर्ब ४० करोड रुपैयाँ बराबर रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकबाट देखिन्छ । आर्थिक वर्ष सुरु भएको पहिलो त्रैमासमा अत्यावश्यक कामका लागि बाहेक रकमान्तर, स्रोतान्तर र थप निकासा नगर्न अर्थ मन्त्रालयले बजेट कार्यान्वयन मार्गदर्शनमार्फत विषयगत मन्त्रालयलाई परिपत्र गरेको थियो ।

तर, मन्त्रालयको विवरणबाट भने आर्थिक वर्ष सुरु भएको पहिलो महिनादेखि नै रकमान्तर, स्रोतान्तर र थप निकासा भइरहेको देखिन्छ । गत साउन र भदौमा बजेटविहीन भएको अवस्थामा सरकारले विभिन्न शीर्षकमा बजेट निकासा दिएको थियो । यसरी थप निकासा दिइएका शीर्षकहरू आर्थिक सहायता, भैपरी आउने प्रशासनिक खर्च, कर फिर्ता र दण्ड जरिवानालगायत विषयका छन् ।

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि कोरोनाविरुद्धको खोप खरिद र ढुवानी गर्न भन्दै मंसिर मसान्तसम्ममा १ अर्ब १० करोड ५० लाख रुपैयाँ अतिरिक्त निकासा दिएको छ । त्यस्तै, चीनबाट कोरोनाविरुद्धको खोप किन्न ५ अर्ब २४ करोड रुपैयाँ छुट्याइएको छ । मन्त्रिपरिषद् बैठकको गत कात्तिक २७ को निर्णयअनुसार सुक्खा बन्दरगाह भन्सार कार्यालय विस्तार गर्न अधिग्रहण गरिने जग्गाको मुआब्जाका रूपमा भुक्तानी दिन १ अर्ब रुपैयाँ रकमान्तर निकासा भएको छ । राष्ट्रिय जनगणना कार्यक्रम, २०७८ मा खटिने गणकलाई तलब भुक्तानी शीर्षकमा १ अर्ब १ करोड ७६ लाख रुपैयाँ रकमान्तर भएको अर्थ मन्त्रालयको भनाइ छ ।

५ महिनामध्ये सबैभन्दा धेरै रकमान्तर, स्रोतान्तर र थप निकासा मंसिरमा भएको छ । अर्थ मन्त्रालयका अनुसार साउनमा ६ अर्ब ३६ करोड ९४ लाख, भदौमा २ करोड १६ लाख ९३ हजार, असोजमा ३८ करोड ५५ लाख र कात्तिकमा १५ करोड ६५ लाख रुपैयाँ अतिरिक्त निकासा भएको छ । मंसिरमा भएको अतिरिक्त निकासा मात्र ६ अर्ब ५७ करोड रुपैयाँ बराबर छ ।

सरकारले भैपरी आउने र आर्थिक सहायता शीर्षकमा पूर्वविशिष्ट व्यक्तिहरूलाई उपलब्ध गराएको रकमलाई पनि रकमान्तर निकासाका रुपमा देखएको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनालको भारतमा उपचारका क्रममा खर्च भएको ४८ लाख ५० हजार रुपैयाँ सरकारले व्यहोर्ने निर्णय गरेको थियो । गत असोज ३ को मन्त्रिपरिषद् बैठकले खनालको उपचारका लागि थप १० लाख ३ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । यी दुवै रकम भुक्तानीका लागि अनुमति दिइसकेको मन्त्रालयले जनाएको छ ।

यसैगरी, सरकारको गत असार २३ को निर्णयअनुसार मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई पूर्वप्रधानमन्त्रीका रूपमा उपलब्ध गराइने सेवा सुविधाका लागि पनि रकमान्तर गरिएको छ । रेग्मीलाई शाखा अधिकृत तहका एक सहयोगी, एक सवारी चालक र मासिक १ सय ५० लिटर इन्धन सुविधा उपलब्ध गराउन गत असोजमा ७ लाख ३७ हजार रुपैयाँ निकासा भएको छ ।

मन्त्रिपरिषद्को गत कात्तिक ८ को निर्णयअनुसार पूर्वराष्ट्रपति रामवरण यादवलाई आर्थिक सहायताका रूपमा १० लाख रुपैयाँ उपलब्ध गराइएको छ । मन्त्रिपरिषद्कै गत असार २१, भदौ ५ र भदौ १० को निर्णयअनुसार एमाले नेता रघुजी पन्तसमेत ३ जनालाई आर्थिक सहयोग उपलब्ध गराएकोमा उक्त रकमलाई अतिरिक्त निकासाका रूपमा देखाइएको छ । वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपचारमा खर्च भएको १ लाख २९ हजार र मन्त्रिपरिषद्को गत कात्तिक २२ को निर्णयअनुसार अर्जुनकुमार खड्कालगायत ३ जनालाई औषधि उपचारबापत आर्थिक सहायताका रूपमा १४ लाख रुपैयाँ निकासा दिइएको छ । उपराष्ट्रपतिको कार्यालयका लागि भौतिक सुविधा शीर्षकमा ५ लाख र भैपरी आउने सुविधाका रूपमा ४ लाख रुपैयाँ रकमान्तर गरी निकासा गरिएको छ । भौतिक सुविधाकै लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ७७ लाख १३ हजार रुपैयाँ रकमान्तर गरिएको अर्थ मन्त्रालयको तथ्यांकमा छ ।

गत कात्तिक दोस्रो साता स्कटल्यान्डको ग्लास्गोमा आयोजना भएको कोप–२६ सम्मेलनमा भाग लिएको प्रधानमन्त्रीसहितको टोलीको खर्चका रूपमा १ करोड ८५ लाख ९४ हजार रुपैयाँ निकासा भएको छ । थारू आयोगका पदाधिकारीहरूलाई सवारी साधन खरिद तथा भाडामा लिन पहिलो पटक १ करोड ४३ लाख २५ हजार रुपैयाँ र दोस्रो पटक ६ लाख रुपैयाँ गरी गैरबजेटरी निकासा भएको देखिन्छ । फेवाताल चार किल्ला निर्धारण सीमांकन तथा नक्सांकन समितिको म्याद थप गर्दा समितिका लागि १२ लाख ९६ हजार रुपैयाँ रकमान्तर गरिएको छ ।

माओवादी सेनाका लडाकुलगायत घाइते, अपांगता भएका व्यक्तिका लागि दिइने जीवन निर्वाह भत्ताका रूपमा ४ करोड ६१ लाख रुपैयाँ थप निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले निषेधाज्ञा अवधिमा बिक्री गरेको खाद्यान्न सामग्रीमा २० प्रतिशत छुट दिएकोमा त्यसको शोधभर्नाका रूपमा ६३ लाख ५५ हजार रुपैयाँ निकासा भएको छ । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा सहभागी खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार तथा सम्मानका लागि १ करोड २४ लाख रुपैयाँ रकमान्तर गरिएको छ ।

प्रकाशित : पुस २२, २०७८ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?