तीन प्रदेशमा कार्यालय खोल्दै बिमा समिति


काठमाडौँ — बिमा समितिले निकट भविष्यमै तीन वटा प्रदेशमा आफ्नो प्रादेशिक कार्यालय खोल्ने भएको छ । सात वटै प्रदेशमा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याउने बिमा समितिको योजनाअनुरुप पहिलो चरणमा तुलनात्मक रुपमा पिछडिएका सूदुरपश्चिम, कर्णाली र प्रदेश २ मा शाखा कार्यालय खोल्ने तयारी भएको समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले बताए ।



दोस्रो चरणमा बाँकी प्रदेशमा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याउँछौं । ‘यसबारेमा व्यवस्थापन तहमा निर्णय भइसकेको छ,’ उनले भने, ‘अब सञ्चालक समितिबाट पारित गराएर कार्यावयनमा जान्छौं ।’ प्रादेशिक रुपमा बिमा पहुँच विस्तारसँगै आवश्यक पूर्वाधार विकास गर्ने उद्देश्यले कार्यालय सञ्चालनमा ल्याउन लागिएको सिलवालले बताए ।
प्रादेशिक कार्यालयहरूले केन्द्रकै मातहतमा रहेका काम गर्ने छन् । ‘त्यहाँको गुनासो सुनुवाई सम्बन्धमा निर्णय गर्ने, दाबी भुक्तानीमा सहजीकरण गर्ने, तथ्यांक संकलन गर्ने, बिमा पहुँच विस्तारका लागि सम्भावना भएका क्षेत्रमा खोजी तथा अनुसन्धान गर्ने लगायत काम प्रादेशिक कार्यालयले गर्नेछन्,’ उनले भने, ‘यसो हुँदा बिमा क्षेत्रको विकास तथा विस्तारमा व्यापकता आउने छ ।’
केन्द्रबाट हुँदै आएका काम कारबाहीबारे प्रादेशिक कार्यालयलाई कतिसम्म अधिकार प्रत्यायोजन गर्ने भन्ने सम्बन्धमा अन्तिम निर्णय हुन बाँकी रहेको समितिले बताएको छ । सुरुको अवस्थामा हरेक कार्यालयमा उपनिर्देशकको नेतृत्वमा ५ देखि ७ जना कर्मचारी रहने छन् । कामको प्रकृति र चापका आधारमा कर्मचारी थप गरिने बताइएको छ । ‘हालका दरबन्दीले प्रादेशिक कार्यालयहरूमा कर्मचारी व्यवस्थापन गर्न पुग्दैन,’ स्रोतले भन्यो, ‘सुरुमा करारमा कर्मचारी भर्ना गरेर कार्यालय सञ्चालन गर्छौं । पछि दरबन्दी थप गरेर लोकसेवामार्फत स्थायी पदपूर्ति गर्छौं ।’
समितिका अनुसार हालसम्म करिब ३० प्रतिशत नागरिकमा बिमा पहुँच पुगेको छ । यो वैदेशिक रोजगारी बिमा समेतलाई जोड्दा आएको तथ्यांक हो । सामान्यतया बिमा पहुँचमा वैदेशिक रोगजार बिमालाई अलग गरिन्छ । विदेश जाने कामदारका लागि त्यो बिमा बाध्यात्मक भएकाले त्यसलाई बिमा पहुँचमा नराखिएको हो । वैदेशिक रोजगार बिमालाई अलग गर्दा हालसम्म कुल जनसंख्याको करिब २७ प्रतिशतमा पहुँच पुगेको समितिले दाबी गरेको छ ।
समितिका अनुसार गत आर्थिक वर्षमा जीबन बिमा कम्पनीहरुको बिमा शुल्कको वृद्धिदर २६.१८ प्रतिशत र निर्जीबनको २२.७४ प्रतिशत छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा बिमा क्षेत्रको योगदान ३.५८ प्रतिशत छ ।
प्रकाशित : पुस १९, २०७८ १३:४६