‘महिलाहरू अवैधानिक बाटोबाट विदेश पुग्नुमा सरकार नै मुख्य जिम्मेवार’- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘महिलाहरू अवैधानिक बाटोबाट विदेश पुग्नुमा सरकार नै मुख्य जिम्मेवार’

डिला संग्रौला

काठमाडौँ — महिलालाई घरेलु कामदारका रूपमा विदेश जान जुन प्रतिबन्ध लगाइएको छ, यसले हामीकहाँ ठूलो बहस र प्रश्न सिर्जना गरेको छ । घरेलु श्रमिकलाई वैदेशिक रोजगारीमा रोकिनु सुरक्षा कि अधिकारको हनन हो ? महिला घरेलु श्रमिकलाई कानुनी रूपमा जान दिइएको भए यो कुरै उठ्ने थिएन ।

तर, उनीहरू असुरक्षित हुन्छन् भनेर सरकारले रोकेको छ । महिला अधिकारकर्मी र नागरिक समाजले भने यो व्यक्तिगत अधिकारको हनन र श्रम अधिकारको शोषण हो भनिरहेको छ । महिला अधिकारकर्मीको नाताले मलाई यो प्रतिबन्ध विभेदकारी लाग्छ ।

नेपालको संविधानले श्रम अधिकारलाई मौलिक अधिकारका रूपमा राखेको छ । संविधानको समानताको सिद्धान्तलाई हेर्ने हो भने पनि महिलालाई प्रतिबन्ध लगाउने र पुरुषलाई पठाउने कुरा सिधै विभेदकारी छ । म छाया श्रममन्त्री छँदा यो मुद्दाबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई प्रश्न गरेकी थिएँ । २०६९ देखि नै सरकारले घरेलु कामदारका रूपमा विदेश जाने महिलालाई कहिले खुला त कहिले प्रतिबन्ध लगाउने काम गर्‍यो । २०७३ मा पूर्ण प्रतिबन्ध लगाएको छ ।

संसद्को श्रम समितिको २०७४ को अध्ययनअनुसार घरेलु कामदारका रूपमा, अवैधानिक ढंगले खाडी मुलुक पुर्‍याउन प्लेनमै सेटिङ हुन्छ । घरेलु कामदारमा महिला पठाउनलाई गन्तव्य मुलुकसँग छलफल गरी बेग्लै नीति बनाउनुपर्छ । यसो नहुँदा महिलाहरू अवैधानिक बाटोबाट जान बाध्य छन्, अलपत्र, असुरक्षित, शोषित र पीडित भएका छन् । यो हरेक घरको समस्या हो, यस विषयमा हामी गम्भीर छौं ।

संसद्मा महिला श्रमिकका सवाल, मुद्दा र अहिलेका ज्वलन्त समस्याबारे ध्यानाकर्षण गराउँदा सांसदहरू सुन्छन्, ताली पड्काउँछन् र बनिबनाउ कुरा मात्रै बोल्छन् भन्ने गरिन्छ । तर, त्यो सही होइन । संसद्का समितिहरूमा यसबारे थुप्रै प्रश्नहरू उठेका छन् । २०७४ को छलफलमा महिलाहरूलाई अवैध ढंगले मलेसिया, खाडी र अन्य मुलुकमा पुर्‍याइन्छ, यसका लागि सेटिङ हुन्छ, महिलामाथि दुर्व्यवहार हुन्छ, प्रतिबन्ध लगाइनु व्यावहारिक छैन, मानवताविरोधी छ भन्ने विषयहरू उठान भएका थिए ।

समस्या कहाँनिर छ, त्यसलाई हेरेर हामीले कानुन र नीति बनाउनुपर्छ । समय सापेक्ष नभएका कुरालाई परिवर्तन गर्नुपर्छ । चुरो कुरा पहिल्याउन नसक्दा समस्या भएको हो । अहिले थुप्रै महिला घरेलु कामदारका रूपमा विदेश पुगेका छन्, उनीहरू नेपाल फर्किने प्रतिरक्षामा छन् । तर, प्रतिबन्धका कारण फर्किन पाएका छैनन् । फर्केपछि पुन: विदेश जान पाउँदैनन् । समस्या यहाँनिर छ, यसलाई केलाउनुपर्छ । प्रतिबन्ध लगाइरहँदा अवैधानिक बाटोबाट विदेश पुर्‍याउने गिरोह जन्मिएका छन् ।

सयौंको सख्यामा विदेश गएका महिलाहरू अलपत्र परेका छन् । यसलाई कसरी समाधान गर्ने ? समस्याको चुरो हेर्नुपर्‍यो र त्यसलाई खुकुलो बनाउनुपर्‍यो । अहिले घरेलु कामदारका रूपमा जाँदा असुरक्षित हुन्छन् भनेर सरकारले प्रतिबन्ध लगाइरहेको छ । तर, अवैधानिक बाटोबाट अलपत्र ढंगले महिलालाई विदेश पुर्‍याउने गिरोहलाई रोक्न सकेको छैन । नागरिकको अभिभावकको नाताले यसको पहिलो जिम्मेवार सरकार हो । यस विषयमा हामी सांसद्, सत्ता पक्ष, प्रतिपक्ष, नागरिक समाज, राजनीतिक दलका नेता सबै गम्भीर बन्नुपर्छ । महिला श्रमिकसम्बन्धीको यो (प्रतिबन्धात्मक) नीतिलाई परिवर्तन गर्नुपर्छ ।

स्वदेश फर्किएका महिलाको पुन:स्थापना र पुनर्मिलनमा पनि सरकारले ध्यान दिनुपर्छ । कोभिडपछि थुप्रै महिला दु:ख पाएर, हिंसा सहेर आएको देखियो । उनीहरूलाई कृषिलगायत घरेलु उद्योगधन्दा, काममा लगाउन सक्थ्यौं, केही रकम दिएर आत्मनिर्भर बनाउन सक्थ्यौं । तर, गरिएन । कमजोरी भएका छन् । कमी–कमजोरीलाई आत्मसात् गर्दै अबको दिनमा यो समस्यालाई निमिट्यान्न पार्न हामी गम्भीर बन्नैपर्छ ।

सबैभन्दा पहिले हामीले सरकारका नीति र कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । दोस्रो, श्रम आप्रवासनमा पठाउने भनेका म्यानपावर एजेन्सीले हुन् । तिनको कामकारबाहीबारे सरकारले कडा अनुगमन र निरीक्षण गर्नुपर्छ, अवैध बाटोबाट पठाइरहेका पो छन् कि ? केही राम्रो गरिरहेका छन् कि ? यसलाई हेर्नुपर्छ । तेस्रो, आप्रवासको प्रक्रियामा महिलाउपर लगाइएका जति पनि विभेदपूर्ण प्रावधान छन्, ती तत्काल अन्त्य गरिनुपर्छ । उनीहरूमाथि हुन सक्ने जोखिम आकलन गरी संरक्षण गर्ने विशेष व्यवस्था गर्नुपर्छ ।

अन्तिममा, वैदेशिक रोजगारबाट फर्केका महिलाहरूले व्यवसाय गर्न चाहेमा बैंक तथा वित्तीय संस्थाले ऋण सहयोग उपलब्ध गराउनुपर्छ । विदेश जानु बाध्यता हो । जोखिम छ, हिंसामा परिन्छ भनेर जान्दाजान्दै पनि आर्थिक सबलीकरणका लागि उहाँहरूलाई हामीले विदेश जान बाध्य बनाएका छौं । महिला कामदारलाई बैंकमार्फत विशेष सहुलियत उपलब्ध गराएर ‘नेपालमै काम गर्न सक्छु’ भन्ने वातावरण सरकारले बनाउनुपर्छ । वैदेशिक रोजगारीबाट फर्केका महिलाको पुन: एकीकरण र पुन: मिलनका लागि दीर्घकालीन र अल्पकालीन कार्यक्रम सरकारले ल्याउनुपर्छ, सरकारमा हामी छौं ।

(सांसद संग्रौलाले ‘कान्तिपुर आईएमई माइग्रेसन एण्ड रेमिट समिट २०२१’ मा राखेको विचारको सम्पादित अंश)

प्रकाशित : पुस १७, २०७८ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्

समाजवादको बाटो र नेपाली राजनीति

बीपीको प्रजातान्त्रिक समाजवाद गान्धीवाद, मार्क्सवाद र यथार्थवादको सम्मिश्रण हो, र हो— युग सुहाउँदो र दूरदर्शी क्रान्ति ।
डिला संग्रौला

समाजवादलाई बीपीले दुई बुँदामा परिभाषित गरेका छन् । पहिलो, समाजवाद भविष्यको लहर हो । समाजवाद तेस्रो विश्वको स्वाभाविक मित्र हो । तेस्रो विश्वका देशहरू समाजवादको मियोमा बाँधिएनन् भने या त फासिस्ट सैनिक तानाशाहीतिर जान्छन् या कम्युनिस्ट तानाशाही या कुनै सुधारविरोधी प्रतिक्रियावादी धार्मिक मौलिकतावादी तानाशाहीतिर ।

त्यसकारण तेस्रो विश्वका समाजवादीहरूका अघिल्तिर ठूलो चुनौती छ । आज समाजवादको आकर्षणको केन्द्रविन्दु युरोपबाट हटेर तेस्रो विश्वमा पुगेको छ, जहाँ समाजवाद जीवनको प्रेरणादायी आदर्श र विकासको नमुनाका रूपमा सान्दर्भिक बनिरहेको छ । समाजवादका मुख्य दुइटा पाटा छन्— राजनीतिक स्तरमा प्रजातन्त्र र आर्थिक क्षेत्रमा गरिब जनतालाई न्याय दिने विकास । यी दुईबिना गरिबी उन्मूलन गर्छु र राजनीतिक स्वतन्त्रता ल्याउँछु भन्नु असम्भव हो । यो आदर्शको मात्र नभएर, जीवन–मरणको प्रश्न हो ।

दोस्रो, समाजवादको मुख्य लक्ष्य हो— समानता, जसले यस महान् आन्दोलनलाई प्रेरणा दिन्छ । समानताका दुइटा पूर्वावस्था छन् । एक, समाज दैवीय संरचना होइन, शुद्ध भौतिक व्यवस्था हो, जसको उद्देश्य हो— सदस्यहरूको सर्वाधिक कल्याण र सुरक्षा । कल्याण र सुरक्षाको अर्थ शुद्ध भौतिक छ, आध्यात्मिक होइन । दुई, समाजका सदस्यहरूका आकांक्षा र आवश्यकताहरू प्रायः समान हुन्छन् । उनीहरूको कला या विज्ञानको वृत्ति पनि प्रायः समान नै हुन्छ । अनि आफ्नो वृत्तिको विकास गर्न सबैले समान अवसर पाउनुपर्छ ।

नेपालजस्तो मुलुकले राष्ट्रियता जोगाएर जनताको अधिकार सुरक्षित गर्दै विकासका लागि समाजवादको बाटो अवलम्बन गर्नुपर्छ भन्दै बीपीले प्रजातान्त्रिक समाजवादको सिद्धान्त प्रतिपादन गरेका हुन् । यही प्रजातान्त्रिक समाजवादलाई २०१२ सालमा नेपाली कांग्रेसको महाधिवेशनले मूल आदर्शका रूपमा पारित गर्‍यो । बीपीले २०१६ जेठदेखि २०१७ पुस १ सम्म सरकार चलाउँदाको अवधिका कतिपय नीति–कार्यक्रमहरूमा समाजवादी दर्शन प्रतिविम्बित थिए । आधारभूत मानवीय मूल्य भनेको समानतामा आधारित सिद्धान्त हो र यो प्रजातान्त्रिक पद्धति र समाजवादबाट हासिल हुन्छ भन्ने दृढ विश्वास थियो बीपीलाई ।

नेपाली राजनीति र अबको कांग्रेस

नेपाली कांग्रेसको छैटौं महाधिवेशनले समाजवादका निम्न कार्यदिशा पहिल्याएको थियो— लोकतन्त्रवादका आधारमा समाजवाद र प्रजातन्त्रको सुदृढ गठबन्धनबाट समाजवादी समाजको निर्माण; सामाजिक न्यायका आधारमा आर्थिक समृद्धिका लागि भूमिसुधार र औद्योगिकीकरण; धार्मिक, जातीय, वर्गीय र लैंगिक निरपेक्षताका आधारमा प्रजातान्त्रिक समाजवादको स्थापना; सामाजिक रूपान्तरणका लागि विकेन्द्रीकरण कार्यक्रम; यथाशीघ्र संविधानसभाको निर्वाचन; एसियाली समाजवादी सम्मेलनको सदस्यता ग्रहण र समाजवादी समाज निर्माणका लागि राष्ट्रिय योजना समितिको निर्माण । यही महाधिवेशनबाट नेपाली कांग्रेसले ‘प्रजातान्त्रिक समाजवाद’ को सिद्धान्तलाई संस्थागत गर्‍यो । यो महाधिवेशनले भनेको थियो, ‘नेपाली कांग्रेस प्रजातन्त्र र अध्यात्मको हत्या गरेर समाजवाद स्थापना गर्न चाहने कार्यको विरोधी छ, समाजवाद ल्याउनका लागि प्रजातन्त्रको विनाश गर्नु आवश्यक छैन भन्ने यसको विश्वास छ । यसले समाजवाद र प्रजातन्त्रको गठबन्धनबाटै सच्चा समाजवादी समाजको निर्माण गर्न सक्छ भन्ने विश्वास गर्छ । अतः शान्तिपूर्ण र लोकतान्त्रिक उपायबाट समाजवादको स्थापना गर्न चाहन्छ ।’

लोकतान्त्रिक समाजवाद वा सामाजिक लोकतन्त्र १९ औं शताब्दीको अन्त्यतिर समाजवादी आन्दोलनले जन्माएको राजनीतिक विचारधारा हो, जसमा पुँजीवादलाई लोकतान्त्रिक मूल्य र पद्धतिअनुरूप राज्यले नियमन गरी सामाजिक, आर्थिक सुधार गर्दै अगाडि बढिन्छ । विकेन्द्रित शासन पद्धति, लोकतान्त्रिक मूल्य पद्धति, सामाजिक न्याय र आर्थिक समानता (अवसर र वितरण), पुँजीको विकास र त्यसको न्यायोचित वितरण, कानुनी राज्य र शक्तिपृथकीकरण, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, आवधिक निर्वाचन र बहुलवाद लोकतान्त्रिक समाजवादका बलिया आधार हुन् । लोकतान्त्रिक समाजवाद लोकतान्त्रिक मूल्य पद्धतिमा आधारित भएर गरिबलाई न्यायोचित रूपमा माथि उकास्दै लैजाने राजनीतिक, आर्थिक व्यवस्था हो ।

नेपालमा समाजवादलाई बीपीले सन् १९५० को दशकमा राजनीतिक, आर्थिक अवधारणाका रूपमा विकास गरेका हुन् । बीपीले देश विकासका योजना हलो जोत्ने किसानको तस्बिर हेरेर बनाउनुपर्छ भने । हरेक नेपालीसँग एउटा घर, एउटा दुहुनो गाई, एक हल गोरु भएको सपना देखे । एक गाँस खानै नपाएर, औषधि उपचार नपाएर कोही मर्न नपरोस् भन्ने समाजवादी चिन्तनबाट नेपाली समाजलाई रूपान्तरण गर्न प्रजातान्त्रिक समाजवादको माटो सुहाउँदो व्याख्या गरे । बीपीको प्रजातान्त्रिक समाजवाद गान्धीवाद, मार्क्सवाद र यथार्थवादको समिश्रण हो, र हो— युग सुहाउँदो र दूरदर्शी क्रान्तिÙ कम्युनिस्टमा हुने अन्तर्निहित ‘निरंकुशता’ र ‘तानाशाही’ होइन ।

सरकारले धनीलाई जतिसक्यो धेरै कर लगाएर त्यसको लाभांश गरिबलाई बाँड्नु नै समाजवादको सपना हो । जनताहरू जतिजति धनी हुँदै जान्छन्, प्रगतिशील करको दरमा त्यतित्यति वृद्धि हुँदै जान्छ र त्यही कर निम्न आय भएका वर्गको हितमै खर्च गर्दै जानुपर्ने हुन्छ । यसबाट असमानताको खाडल कम हुँदै जान्छ । लोकतान्त्रिक समाजवादमा राजनीतिक स्वतन्त्रता वा व्यक्तिगत स्वतन्त्रतासहित आर्थिक समानता ल्याउन सरकारी नीति तथा कार्यक्रमहरू सोहीअनुरूप तय गर्नुपर्छ ।

कुनै बेला ‘साम्यवाद’ को अभीष्ट बोकेर नेपाली जनतालाई ‘भ्रमित’ गरेका कम्युनिस्टहरूको पतन अहिलेको राजनीतिक यथार्थ हो । साम्यवादको त्यो गन्तव्य न कहिल्यै भेटिन्थ्यो न त नेपाली कम्युनिस्टको नियत नै त्यो गन्तव्यको प्राप्ति थियो । उनीहरूको नियत शासन गर्ने मात्रै थियो । बीपीले त्यो युगमा जन्माएको समाजवाद आज नेपाली कांग्रेसको मात्र होइन, हरेक राजनीतिक दलको आदर्श बन्न थालेको छ । कम्युनिस्टहरूले त्यही समाजवादको बाटोमा आफ्ना एजेन्डा मिसाउन थालेका छन् । आयातित सिद्धान्त र अमुक अभीष्टले न देश समृद्ध हुन्छ न त जनताले नै केही पाउँछन् । हरेक राजनीतिक दलले यो कुरा बुझिसकेको छ । राजनीतिक इतिहासको अति नै चुनौतीपूर्ण यस घडीमा फेरि पनि देश हाँक्ने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आइपरेको छ ।

देशीय राजनीतिको बाटो नै ‘समाजवाद’ तिर मोडिएको यो क्षण नेपाली कांग्रेसका लागि अझ धेरै चुनौतीपूर्ण छ । अबको नेपाली कांग्रेस ‘समाजवाद’ को नेतृत्वकर्ता पनि हुनुपर्नेछ । सुरु भइसकेको १४ औं महाधिवेशनले यस्तै कांग्रेसको परिकल्पना गर्नैपर्छ । अनि नेतृत्वले त्यो सपनालाई डोर्‍याउनुपर्छ । र, आगामी निर्वाचनमा नेपाली कांग्रेस ‘समाजवादी’ मार्गको अगुवा पार्टी हुनुपर्छ । अनि मात्रै बीपीप्रति सच्चा सम्मान हुनेछ ।

प्रकाशित : भाद्र २४, २०७८ ०८:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×