तातोपानी नाका : हिमपातले न्यालम र खासामै रोकिए सय कन्टेनर 

हिउँले छोपिँदा दुई कन्टेनरका स्याउ कुहिए
अनिश तिवारी

सिन्धुपाल्चोक — भोटेकोसी गाउँपालिका–२ तातोपानी नाकामा भित्रिने चिनियाँ कन्टेनर हिमपातका कारण चीनको खासा र न्यालम इलाका क्षेत्रमा रोकिएका छन् । बिहीबार बेलुकीबाट हिउँले सडक ढाकेका कारण शुक्रबारबाट अनिश्चतकालका लागि चीनले कन्टेनर पठाउन बन्द गरेपछि एक सयभन्दा बढी कन्टेनर उतै थन्किएका हुन् ।

तातोपानी नाका : हिमपातले न्यालम र खासामै रोकिए सय कन्टेनर 

तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमकाअनुसार चीन भेगमा बाक्लो हिउँ परेपछि कन्टेनर आउजाउ रोकिएको सूचनासहित बिहीबार एउटा मात्रै कन्टेनर तातोपानी भन्सार भित्रिएको छ । ‘हिमपातको कारण देखाएर चीनले तत्काललाई कन्टेनर पठाउन बन्द गरिदिएको छ । अब फेरि कहिले कन्टेनर पठाउने अनिश्चत भएको छ,’ गौतमले भने । भूकम्पको चार वर्षपछि मालबाहक समानका लागि खुलाइएको तातोपानी नाकामा भूकम्पपछि निर्यात शून्य छ ।कन्टेनरबाट आयात मात्रै भइरहेको नाका पनि हिमपातकै कन्टेनर नआएपछि बन्दजस्तै भएको उनले उल्लेख गरे ।

चीनको न्यालम काउन्टीस्थित चिनियाँ अधिकारी ‘ल्यू’ काअनुसार न्यालममा रोकिएका तिब्बत सिल्क र मुसा ट्रान्सपोर्टका ४० फिटे टेलर केही समय खासा क्षेत्रमा आउन सक्ने अवस्था छैन । चार फिट बाक्लो हिउँले सडक भरिएकाले एकसय २० सिबीएमसम्म गह्रुँगा भारी बोकेका ट्रेलर न्यालम क्षेत्रमै रोकिएका छन् ।

‘खासामा भ्यान पार्किङमा रोकिएका कन्टेनर पनि हिउँले आधा छोपिएका छन् । खुला ट्रेलरमा लोड गरिएका स्याउजस्ता खाद्य सामाग्री हिउँले छोपिएपछि कुहिन थालेका छन् । सयौं टन स्याउ र अन्य सामाग्री पनि रोकिएका छन्,’ उनले भने । चीनको खासा, न्यालम र बिम्बु क्षेत्रमा केही दिन हिउँ परिहरहने भएकाले नेपालका लागि लोड गरिएका स्याउजस्ता खाद्य सामाग्री बिग्रने अवस्था पुगेको उनको भनाइ छ ।

सोमबार तातोपानी भन्सार भित्रिएका दुई कन्टेनरमा स्याउ कुहिएको भेटिएपछि स्थानीय व्यवसायी निराश भएको अधिकृत गौतमले जनाए । चिनियाँको पक्षलाई यो समस्याबारे भन्दा यसको जिम्मा व्यापारी र सप्लायर्स कम्पनीले लिनुपर्ने भन्दै जवाफ दिएको उनले उदाहरण दिए । ‘चीन क्षेत्रमा बाक्लो हिउँले सडक ढाकेको र त्यसले गर्दा कन्टेनर थन्किएका छन्यो । समस्याबारे चिनियाँले व्यापारी र कम्पनी जिम्मेवार हुने जवाफ दिएको छ,’ उनले भने ।

यसअघि तिब्बतको स्थानीय प्रशासन न्यालम काउन्टीले खासाभन्दा करिब ३५ किमिमाथिको ‘क्यानोन कु’ ताल फुट्ने सम्भावाना भएकाले तातोपानी नाकाबाट कारोबार नगर्न भन्दै नागरिकलाई सूचना जारी गरेपछि पछिल्लो पटक तातोपानी नाका बन्द थियो । कोभिडकालपछि चीनको खासा र न्यालम क्षेत्रमा थन्किएका डेढ सय कन्टेनरका रेडिमेड र अन्य सामाग्री राजधानी पुर्‍याउने लक्ष्य राखेर ‘आइसोलेट एरिया’ सहित नाका सञ्चालनमा ल्याइएको थियो ।

कार्गो बैठक छलफल मात्रैमा सिमित

गत महिना चीनको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमा नेपाल र चीनका उच्च अधिकारीबीच ‘कार्गो’ कन्टेनर आयात बढाउने विषयमा लामो छलफल र बैठक भएको थियो । ‘चाइनिज रुट सिस्टम’ले सीमित कन्टेनरबाट ढिलो गरी सामाग्री उत्तरी तातोपानी र केरुङ नाका क्षेत्र भित्रिँदा नेपाली व्यापारी आजित छन् ।

तातोपानीबाट दैनिक १३ र रसुवाबाट १० गाडी मात्रै आयात हुँदा चिनियाँ क्षेत्रमा पालो कुरेर बसेका कन्टेनर ३ दिनसम्म रोकिन बाध्य भए । यसको हल गर्न भनी बसिएको ल्हास कार्गो बैठकको सहमति आजसम्म कार्यान्वयनमा नआएको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए ।

‘तातोपानी र केरुङ दुवै नाकाबाट २०/२० कन्टेनर सामान छाड्ने भएको प्रमुख सहमति र निर्णय ल्हासामै सीमित रह्यो । चिनियाँ अधिकारीले योभन्दा बढी कन्टेनर पठाउन नसकिने बताउँदै आएको छ,’ उनले भने । चीनले ठाउँको अभाव ,कोरोना महामारी र मौसम प्रतिकूलताको अनेक कारण देखाउँदै ‘कार्गो ’कन्टेनर आयात तत्कालका लागि नबढाउने सूचना दिएको उनले प्रष्ट्याए ।

प्रकाशित : पुस १६, २०७८ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?