१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

नयाँ वर्षले तान्यो पर्यटक

पोखरा, चितवन र लुम्बिनीका होटलले ल्याए छुट अफर, कतै फेस्टिभल गरेर पर्यटक आकर्षित गरिँदै, कतै सुविधा दिएर

लुम्बिनी, चितवन र पोखरा — क्रिसमस र अंग्रेजी नयाँ वर्षमा घुमफिर गर्ने आन्तरिक पर्यटकका कारण लुम्बिनी प्रदेशका होटल तथा रेस्टुराँ भरिन थालेका छन् । कोरोना महामारीले दुई वर्ष सेवा बन्द गरेका होटल र रेस्टुराँ अहिले लयमा फर्किएका छन् । आन्तरिक पर्यटक ह्वात्तै बढेपछि पर्यटन व्यवसायीले नयाँ वर्षलक्षित मनोरञ्जन र सेवामा छुट कार्यक्रम तय गरेका हुन् ।

नयाँ वर्षले तान्यो पर्यटक

प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटक आगमन बढेको छ । कोरोना कहरले दुई वर्षसम्म व्यवसाय चलायमान बनाउन कठिनाइ भोगेका लुम्बिनीका होटल व्यवसायीले यस वर्ष खाना महोत्सव गर्ने भएका छन् । लुम्बिनी सांस्कृतिक तथा आठौं सडक खाना महोत्सव आन्तरिक पर्यटकलक्षित रहेको होटल संघ लुम्बिनीका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले बताए । डिसेम्बर ३१ र जनवरी १ मा पर्यटकले खाजा, खाना सडकमै खाने र तारे होटलमा २५ प्रतिशत र मध्यममा ५० प्रतिशतसम्म छुट व्यवस्था गरिएको छ । खाना र खाजामा ३० देखि ४० प्रतिशत छुट दिने उनले जनाए ।

‘अहिले ३ सय ५० पर्ने खाना महोत्सवमा २ सय रुपैयाँसम्ममा पाइनेछ,’ उनले भने, ‘रूपन्देहीसहित छिमेकी नवलपरासी, पाल्पा र कपिलवस्तुका होटलका स्टल महोत्सवमा रहनेछन् ।’ देशभित्रकै पर्यटक लक्षित गरिएकाले काठमाडौं, धरान, पोखरालगायतका स्थानदेखि समेत पर्यटकको बाक्लो उपस्थिति रहने शर्माले बताए । लुम्बिनी होटल संघमा आबद्ध ८१ होटलमध्ये तारे होटलले भ्याट तिर्न नपर्ने गरी २५ प्रतिशत छुट दिने व्यवस्था मिलाएका छन् ।

नयाँ वर्षलाई स्वागत गर्न रूपन्देहीको तिलोत्तमास्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्टले रमाइलो साँझको आयोजना गरेको छ । रिसोर्टमा डिसेम्बर ३१ तारिखको साँझ ७ बजेदेखि गायक सरिता सुनारसहित शिव ब्यान्डको प्रस्तुति रहने कार्यक्रम राखेको सञ्चालक गोपाल रानाले जनाए । ‘कार्यक्रममा सहभागिताका लागि एकल ग्राहकले १ हजार ५ सय रुपैयाँ, जोडीले २ हजार ५ सय र बच्चाका लागि १ हजार रुपैयाँ टिकट दर तोकिएको छ,’ उनले भने, ‘टिकटदरमा खाजा, पेय पदार्थ र खाना निःशुल्क रहनेछ ।’

होटल हिडन प्यालेसमा पुस १५ देखि १७ सम्म लाइभ म्युजिकल ब्यान्ड कार्यक्रम रहेको सञ्चालक आभ्षूण खनालले बताए । ‘यस अवसरमा प्यालेसमा आउने जोडीलाई ८ हजार ५ सय रुपैयाँमा बस्ने व्यवस्थासहित खाजा, खाना र रोजाइको पेय पदार्थ उपलब्ध गराउने प्याकेज छ,’ उनले भने, ‘यसबाहेक अन्य पाहुनालाई रुममा ३० प्रतिशत र फुड एन्ड वेभरेजमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाइएको छ ।’

पाल्पाको होटल श्रीनगरले विगतदेखि यस अवसरमा विभिन्न कार्यक्रम गरी पाहुना रिझाउने गरेको छ । यसपटक कोरोनाकाल काटेर कार्यक्रम गर्न पाएकामा खुसी लागेको होटलका व्यवस्थापक अशोक थापाले बताए । यसपटक विदेशी पाहुना आउन नसके पनि आन्तरिक र भारतीय गरी ५० प्रतिशत उपस्थिति रहने विश्वास गरेको उनको भनाइ छ ।

बर्दियाका होटल, होमस्टे र रेस्टुराँले पनि यसपटक आफ्नै शैलीले छुट र कार्यक्रम गर्ने भएका छन् । त्यहाँका होटलले यसअघि हरेक अवसरमा साम्हूिक प्याकेज र कार्यक्रम गर्ने गरेकामा कोरोनाका कारण उक्त प्याकेज गर्न नसकिएको होटल एसोसिएसन नेपाल बर्दियाका अध्यक्ष मोहन चौधरीले बताए । कोभिडपछाडि बिस्तारै तंग्रिँदै गरेका होटलमध्ये विदेशी पाहुना नै पर्खनुपर्ने होटलको अवस्था उस्तै रहेकाले कार्यक्रम गर्ने स्थिति नरहेको उनले जनाए । चौधरीका अनुसार हाल बर्दियाका होटलमा बुटवल, नेपालगन्ज, दाङ, धनगढी र भारतीय म्लूका पर्यटक आइरहेका छन् ।

पश्चिम नवलपरासीको भुमहीमा रहेको नेचर रे रिभर भ्यु रिसोर्टमा अंग्रेजी नयां वर्षमा दोहोरी गीत प्रतियोगिता हुने भएको छ । लुम्बिनी प्रदेशमा साना–ठ्लूा गरी ११ हजार होटल तथा रेस्टुराँ सञ्चालनमा छन् ।

चितवनमा बढ्दै चहलपहल

अंग्रेजी नयाँ वर्षले चितवनका पर्यटन व्यवसायीलाई पनि आशावादी बनाएको छ । वन्यजन्तु हेर्न मन पराउने पर्यटक चितवनमा झुम्मिने गर्दछन् । नयाँ वर्षको दिनमा सौराहामा चहल बढ्ने संकेत देखिएको छ । होटलहरूमा बुकिङ बढेको छ । केही होटलका कोठा पूरै बुक भइसकेका छन् । ‘नयाँ वर्षलाई भनेर हाम्रो होटलका सबै रुम बुक भएका छन्,’ सौराहाको पार्क सफारी रिसोर्टका सञ्चालक महेश खनालले भने ।

सौराहा क्षेत्रका राम्रा र ठूला होटल प्रायः पूरै बुक भएको खनालले बताए । ‘अहिलेसम्म समग्रमा सौराहाका होटलका ४० प्रतिशत बेड बुक भएका होलान् । क्रिसमसका बेलामा खासै व्यपार भएको थिएन । तर नयाँ वर्षमा सुधार हुने अवस्था छ,’ क्षेत्रीय होटल संघ सौराहा चितवन (हान)का अध्यक्ष दीपक भट्टराईले भने । सौराहामा झन्डै आठ हजार बेड भएको उनको भनाइ छ ।

क्रिसमसमा आफ्ना होटलमा खासै पाहुना नआए पनि नयाँ वर्षमा राम्रै व्यपार हुने देखिएको सौराहाको सपना भिलेजका सञ्चालक ध्रुव गिरीले बताए । ‘एमालेको महाधिवेशनताका राम्रै चहलपहल थियो । अब नयाँ वर्षमा हुन्छ,’ गिरीले भने । चितवन निकुञ्जमा रहेको दुर्लभ एकसिंगे गैंडा, पाटे बाघलगायतका जीवजन्तु हेर्न पर्यटक यहाँ आउँछन् । रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) सौराहाले नयाँ वर्षको अवसर पारेर कार्यक्रम राखेको छ । सौराहा घण्टाघरमा स्वागत गेट बनाउने र नयाँ वर्षमा सौराहा आउनेलाई विशेष तरिकाले स्वागत गर्ने रेबान सौराहाका अध्यक्ष नरेश गिरीले जानकारी दिए ।

पश्चिम चितवनमा पनि नयाँ वर्षले चहलपहल ल्याएको छ । ‘उल्लेख्य त होइन, नयाँ वर्षका लागि भनेर सन्तोषजनक बुकिङ छ,’ हान पश्चिम क्षेत्रका संयोजक तथा होटल जंगल भिल्लाका सञ्चालक गणेश पौडेलले भने । चितवन घुम्न आउनेमा प्रायः नेपाली नै छन् ।

आन्तरिक पर्यटकले धानिँदै पोखरा

पर्यटनका लागि जाडोयाम ‘अफ सिजन’ मानिन्छ । तर, दसैंयता पोखराले राम्रै संख्यामा पर्यटक पाएको छ । दसैं, तिहार बिदा, जाडो बिदाको सदुपयोग गर्न विद्यालय, क्याम्पसका विद्यार्थीको भ्रमणले पोखरामा आन्तरिक पर्यटकको चाप बढाएको छ । आन्तरिक पर्यटकले अहिले पनि पोखरा भरिभराउ छ ।

राजनीतिक दलका अधिवेशन, विभिन्न संघसंस्थाका भेला, बैठक, सभा, सम्मेलनले पनि पोखरामा आन्तरिक पर्यटक बढेका छन् ।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको प्रदेश अधिवेशन, माओवादी केन्द्रको प्रदेश अधिवेशन, नेपाल जेसिसको राष्ट्रिय सम्मेलन पोखरामा हुँदा यहाँका होटल तथा रेस्टुरेन्टले व्यापारको मौका पाए । मंसिरमा गण्डकी प्रदेश लोकसेवा आयोगको परीक्षा दिन देशभरबाट परीक्षार्थी पोखरा आए ।

आयोगका अनुसार १० दिनको अवधिमा विभिन्न पदमा परीक्षा दिन एक लाख ३ हजार परीक्षार्थी पोखरा आए । अधिवेशन, सभा सम्मेलन र लोक सेवा आयोगको परीक्षा हुँदा सानादेखि मध्यमस्तरका सबै होटल भरिभराउ भएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

क्रिसमसमा समेत आन्तरिक पर्यटकले पोखरा खचाखच भयो । भारतीय पर्यटकको संख्यामा पनि वृद्धि भएको उनको भनाइ छ । हाल दैनिक १०–१५ वटा ठ्लूा बसमा भारतीय पर्यटक पोखरा भित्रिन्छन् । ‘ओमिक्रोन नफैलिएको भए पोखरामा राम्रै संख्यामा युरोपेली पर्यटक भित्रिने थिए,’ उनले भने, ‘अहिले बुकिङ रद्द गरेको सुनिएको छ । आन्तरिक र भारतीय पर्यटकले यहाँको पर्यटनमा राहत मिलेको छ ।’

आन्तरिक पर्यटकलाई जोड दिएर प्रवर्द्धनात्मक गतिविधि अगाडि बढाइएको पोखरा पर्यटन परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन् । कोरोना महामारीमा पुनः ओमिक्रोनको त्रास फैलिएपछि आन्तरिक पर्यटनलाई नै जोड दिनुपर्ने उनको भनाइ छ । ‘अहिले बास्तवमा पोखराको पर्यटन आन्तरिक पर्यटकले धानिएको छ,’ उनले भने, ‘यसले व्यवसायीलाई राहत मिलेको छ नै, पर्यटन व्यवसायकै भविष्य उज्ज्वल देखाएको छ ।’

सन् २०२२ मा १० लाख आन्तरिक पर्यटक पोखरा भित्र्याउने गरी व्यवसायीले तयारी गरेको उनले बताए । पोखरा मात्रै नभएर वरपरका पर्यटकीय गाउँमा समेत यतिखेर खचाखच पर्यटक छन् । घान्द्रुक, लान्द्रुक, सिकलेस, ताङतिङ, ल्वाङ, घलेल, कालावाङ, पञ्चासेलगायत गाउँमा आन्तरिक पर्यटकको घुइँचो छ ।

मर्दी, घोरेपानी–पुनहिल र अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रा मार्गमा पर्याप्ट पर्यटक पुगेका छन् । प्यराग्लाइडिङ, बन्जी जम्प, स्काई डाइभिङ जस्ता साहसिक गतिविधिमा पनि आन्तरिक र भारतीय पर्यटकको उल्लेख्य सहभागिता रहेको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले बताए ।

प्रकाशित : पुस १६, २०७८ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?