कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

हिमपातले केरुङमै रोकिए कन्टेनर

बलराम घिमिरे

रसुवा — तिब्बतमा बुधबार बिहानदेखि  लगातार बाक्लो हिमपात हुँदा केरुङबाट रसुवागढीतर्फ आउने कन्टेनर बाटोमै रोकिएको छ । केरुङमा तीन फिटभन्दा बाक्लो हिउँ जमेका कारण यातायात चल्न नसकेको हो ।

हिमपातले केरुङमै रोकिए कन्टेनर

हिमपातले कन्टेनरमा सामान लोड हुन सकेको छैन, लोड भएर रसुवागढीतर्फ हिँडेका कन्टेनर केरुङमै रोकिएको व्यवसायी धर्म पौडेलले बताए । उनले भने, 'लोड भएर रसुवागढीतर्फ आउन लागेका कन्टेनरमा रेडिमेड र जुत्ता चप्पल रहेको छ । हिमपातको कारण धिङ्ग्री, झोङ्गा लगायतका ठाउँमा पनि सडक अवरुद्ध हुँदा केरुङ आउन लागेका कन्टेनर उतै रोकिएका छन् ।'

उक्त नाकाबाट अचेल बिहान र साँझ नौ चाइनीज कन्टेनरबाट मात्र सामान आयात भइरहेको छ । चिनियाँ पक्षले ती कन्टेनर रसुवागढीसम्मै ल्याइदिने गरेको छ । बिहीबार बिहान दुई वटा कन्टेनर रसुवागढी नाकामा आएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले बताए । 'बिहीबार रसुवागढी नाका आएका कन्टेनर पनि बुधबार बेलुका नै सीमापारि आएर बसेका कन्टेनर हुन्,' उनले भने ।

कहिले हिमपात, कहिले पहिरोका कारण रसुवागढी नाकामा आयात प्रभावित हुने गरेको छ । रसुवागढी नाकाबाट केरुङसम्मको दुरी २४ किमि छ । चीनबाट नेपालतर्फ तयारी कपडा, स्याउ, रबर, प्लास्टिकका जुत्ता चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्रीलगायतका वस्तुहरु आयात हुने हुने गर्दछ । नेपालबाट चीनतर्फ धातुको मूर्ति, श्रृंगारका सामान, ऊनी, गलैंचा, कार्पेट, भाँडाकुँडालगायतका मुख्य वस्तुहरु निकासी हुने गरेको छ ।


प्रकाशित : पुस १५, २०७८ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?