२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सीईओकै नेतृत्वमा सप्तकोसीमा १६ करोड हिनामिना

सीईओ नवीन सुवेदीले परिवारका सदस्यहरुको सञ्जाल बनाएर बैंकको मुनाफा रकमलाई रेमिट्यान्सबाट आएको देखाई अपचलन गरे
देवनारायण साह

मोरङ — सप्तकोसी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदीले परिवारका सदस्यहरूको सञ्जाल बनाएर बैंकको १६ करोड मुनाफा रकम रेमिट्यान्सबाट आएको देखाएर हिनामिना गरेको पाइएको छ । सुवेदीले बैंकको विराटनगरस्थित कर्पोरेट कार्यालयमा जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुखमा आफ्ना फुपूका छोरा हिमाल भट्टराईमार्फत रकम हिनामिना गरेको भेटिएको हो ।

सीईओकै नेतृत्वमा सप्तकोसीमा १६ करोड हिनामिना

सुवेदीले आफ्ना ठूलाबाकी छोरी झापा, गौरादहकी बबिता सुवेदीका नाममा भट्टराईलाई फर्जी खाता खोल्न लगाएर १४ करोड रुपैयाँ झिकेको देखिएको छ । बबिताका नाममा रहेको बचत खातामा आईएमई, प्रभु मनी ट्रान्सफर, सिटी, आइपे, संसारा र हिमाल रेमिटबाट सन् २०१६ देखि २०२१ अगस्ट २ सम्ममा १४ करोडभन्दा बढी रकम आएको देखाई भट्टराईले गैरकानुनी ढंगले निकालेको बैंकका एक कर्मचारीले बताए । उक्त बैंकमा रहेका भट्टराईका विभिन्न पाँच वटा खातामा पनि रेमिट्यान्सबाट आएको भन्दै १ करोड रुपैयाँभन्दा बढी रकम निकालिएको छ । स्टेटमेन्ट रुजु गर्दा दुवै जनाको बैंक खातामा आएको रकम रेमिट्यान्स पेड भएको र कस्टुमरवाइज पेड नभएको देखिएको छ । तर

रेमिट्यान्सबाट कुनै किसिमको रकम नआएको बैंकका कर्मचारी बताउँछन् । सीईओ सुवेदीले भाउजू भन्ने भगवती सुवेदीको बचत खातामा पनि विभिन्न मितिमा ठूलो रकम जम्मा भएको छ । उक्त खाता सीईओ सुवेदी आफैंले फर्जी रूपमा खोली सञ्चालन गरेको बैंक कर्मचारीको भनाइ छ ।

सुवेदीले आफ्ना साला साजन पोखरेल, जेठी सासू बानी पोखरेल र बैंकका एचआर प्रमुख परमा काफ्ले खातामा पनि अस्वाभाविक रूपमा रकम जम्मा गरेर निकालेको बैंक कर्मचारीले बताए । यी खाता पनि सुवेदी आफैं वा आफ्ना मान्छेलाई सञ्चालन गर्न लगाएर बैंकको रकम हिनामिना गरेको कर्मचारीहरूको भनाइ छ । बैंकको रकम हिनामिनामा बैंकका वित्तीय प्रमुख देवीप्रसाद भण्डारी, अपरेसनल प्रमुख अमित थापा मगर, जीडीएस प्रमुख होमप्रसाद पौडेल र क्रेडिट प्रमुख विदुर पोखरेलको समेत संलग्नता रहेको अनुसन्धानमा संलग्न एक कर्मचारीले जानकारी दिए । क्रेडिट प्रमुख विदुर सीईओ सुवेदीका मामाका छोरा हुन् । वित्तीय प्रमुख भण्डारी र सीईओ सुवेदी यसअघि एक वित्तीय संस्थामा लामो समय सँगै काम गरेका निकट साथी रहेको बताइएको छ ।

काबेली विकास बैंक र सप्तकोसी डेभलपमेन्ट विकास बैंक २०५७ जेठ २२ मा गाभिएर सप्तकोसी डेभलपमेन्ट विकास बैंकका नामबाट वित्तीय कारोबार हुँदै आएको छ । दुई वटा बैंक गाभिएपछि बैंकका सञ्चालक समितिका तत्कालीन अध्यक्ष तारानाथ निरौला र सीईओ सुवेदी अनि काबेली विकास बैंकको टिमबीच बैंकको कारोबार व्यवस्थित बनाउने विषयमा विवाद हुँदै आएको एक कर्मचारी बताउँछन् । बैंकमा अनियमितता बढ्दै गएपछि बैंककै एक कर्मचारीले नेपाल राष्ट्र बैंकको विकास बैंक सुपरिवेक्षण विभागमा बेनामी उजुरी दिएका थिए । उक्त उजुरीको आधारमा राष्ट्र बैंकले पत्राचार गरेपछि मात्रै बैंकको नाफा रकम रेमिट्यान्सबाट आएको भन्दै सीईओ सुवेदीलगायतले हिनामिना गर्दै आएको रहस्य खुलेको हो ।

राष्ट्र बैंकको पत्र आएपछि सञ्चालक समिति अध्यक्ष निरौलालाई हटाएर स्वतन्त्र सञ्चालक अर्जुन बराललाई पुस १ गतेदेखि अध्यक्ष तोकिएको छ । सीईओ सुवेदी आफैंले जीएसडी प्रमुख भट्टराईविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका थिए । प्रहरीले मंसिर १९ मा भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । भट्टराईमाथि पुस २ मा बैंकिङ कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । राष्ट्र बैंक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि अनुसन्धान गरिरहेको बैंकले जनाएको छ । बैंकका सीईओ सुवेदीले हिरासतमा रहेका भट्टराईलाई आफू एक्लैले उक्त सबै रकम हिनामिना गरेको र त्यसमा कसैको संलग्नता नभएको लगायत कागजातमा सहीछाप गराएको भट्टराईका बुबा अम्बिकाप्रसाद भट्टराईको आरोप छ ।

प्रकाशित : पुस १४, २०७८ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?