स्विट्जरल्यान्डबाट एनएमबी बैंकले १ करोड २० लाख डलर ऋण ल्याउने

काठमाडौँ — एनएमबी बैंकले स्विट्जरल्यान्डस्थित स्वीस इन्भेष्टमेन्ट फण्ड इमर्जिङ मार्केट्स (सिफेम)सँग १ करोड २० लाख अमेरिकी डलर ऋण प्राप्त गर्नेगरी सम्झौता गरेको छ ।  सिफेमबाट पहिलो पटक नेपालमा लगानी भित्र्याउनेगरी यो सम्झौता भएको हो । स्वीस सरकार विकास सहयोग, एसडीसीले ऋण प्रदानका लागि महत्वपूर्ण सहयोग पुऱ्याएको बैंकले जनाएको छ । यो कर्जाको लागि एसडीसीले सिफेमलाई जोखिम बाँडफाँडको आधारमा सुविधा प्रदान गरेको छ । 

स्विट्जरल्यान्डबाट एनएमबी बैंकले १ करोड २० लाख डलर ऋण ल्याउने

सिफेमबाट बैंकले प्राप्त गरेको कर्जा रकम बैंकले मुख्यत: लघु, साना तथा मझौला उद्यमहरुलाई कर्जा प्रदान गर्न र वित्तीय पहँच अभिवद्धि गर्न, वित्तीय क्षेत्रको विकासमा योगदान पुग्ने, रोजगारी वृद्धिमा सहयोग र स्थानीय अर्थव्यवस्थामा सहजता बढाउन सहयोग पुग्ने क्षेत्रहरूमा लगानी गर्नेछ । नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत एलिजावेथ भोन क्यापेलरले यो ऋण लगानीबाट नेपाल–स्वीस सहकार्यमा नयाँ अध्यायको सुरुवात भएको दावी गरिन् । ‘यो लगानीले नेपाली लघु, साना तथा मझौला उद्यमहरुमा वित्तीय पहुँच बढाउन सहयोग गर्नेछ’ उनले भनिन् ।

त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले नेपालमा नै पहिलो पटक सिफेमबाट कर्जा लगानी भित्र्याउनका लागि सम्पन्न भएको योसम्झौताले वास्तविक अर्थतन्त्रका क्षेत्रमा लगानी गर्ने प्रतिबद्धतालाई थप गति दिएको बताए । एनएमबी र सिफेम बीच सम्पन्न यो सम्झौताले लगानीका स्रोतहरूलाई विविधीकरण गर्दै अन्तर्राष्ट्रिय सरोकारवालाहरूसँग जोडिन सहयोग पुगेको बैंकले जनाएको छ ।

विगतमा समेत यो बैंकले अन्तर्राष्ट्रिय वित्त निगम, सीडीसी समूह, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष र सिम्बायोटिक्स लगायतका संस्थाहरुबाट ऋण लिई राष्ट्र बैंकले तोके बमोजिम प्राथमिकताका क्षेत्रमा लगानी गर्दै आएको छ । एनएमबीलाई बेलायतस्थित दी फाइनान्सियल टाइम्सले सन् २०२१ को लागि बैंक अफ दी इयर एसिया र बैंक अफ दी इयर नेपालबाट सम्मानित गरेको छ । विगत ५ वर्षमा यस बैंकले ४ पटक बैंक अफ दी इयर नेपाल र यस वर्षका लागि बैंक अफ दी इयर एसियाको सम्मान प्राप्त गरेको छ ।


प्रकाशित : पुस १३, २०७८ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?