कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

उच्च हिमाली बस्तीमा सधैं असारे विकासको भर

धेरैजसो गाउँका बासिन्दा हिउँ छल्न बेंसी झर्नुपर्दा सरकारबाट सञ्चालन हुने योजना ६ महिना ठप्प

मुगु, हुम्ला — मुगुमकार्मारोङ गाउँपालिकाका धेरैजसो बस्तीका बासिन्दा कात्तिक दोस्रो साता नै बेंसी झरिसकेका छन् । उनीहरू यस वर्ष मात्र औलका बस्ती झरेका होइनन्, विगतका वर्षमा पनि उनीहरूको चर्या यस्तै हुन्थ्यो । बर्सेनि ६ महिना कार्मारोङका सबै गाउँ सुनसान हुन्छन् । ‘बाक्लो हिउँले गाउँमा बस्नै सकिँदैन,’ मुगुगाउँका टासी तामाङले भने, ‘हिउँदभरि औलमा बस्छौं, चैत–वैशाखमा हिउँ बिलाएपछि मात्र गाउँ फर्किन्छौं ।’ तसर्थ असारे विकासको चपेटामा हिमाली बस्ती पर्ने गरेको स्थानीय बताउँछन् ।

उच्च हिमाली बस्तीमा सधैं असारे विकासको भर

अहिले मुगु, चितै, डोल्फु, किम्री, ताखा, खारीलगायत गाउँ सुनसान छन् । यस वर्ष वडा, गाउँपालिका, प्रदेश र संघीय सरकारबाट सञ्चालन हुने कुनै पनि योजना सुरु नभएको तामाङले जानकारी दिए । बेंसी झरेका बासिन्दा गाउँ फर्किएपछि मात्र वैशाखमा योजनाहरूको सम्झौता हुन्छ । यस वर्ष किम्री–डोल्फु पर्यटकीय मार्ग निर्माणका लागि प्रदेश सरकारले ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । ‘हामी गाउँमा बस्दासम्म बजेटको अख्तियारी आउँदैन,’ तामाङले भने, ‘अख्तियारी नआउँदै हामीले गाउँ छाडिसकेका हुन्छौं ।’

वडा कार्यालयमा यो वर्ष विनियोजित झन्डै ५० लाख बजेटले मुगुगाउँको बाटो ‘आरसीसी’ गर्ने योजना भए पनि चिसोले जेठ/असारमा गर्नुपर्ने अवस्था आएको वडाध्यक्ष कार्मा तामाङले बताए ।

माथिल्लो बस्तीमा असोजदेखि नै बरफ जम्दा सिमेन्ट नजम्ने समस्या भएको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाको भनाइ छ । ‘गाउँपालिकाको पूरै बजेट जेठ/असारमा सकाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘बजेट छुट्याएको सबैजसो योजनामा रकम फ्रिज गइरहेको छ । गाउँपालिकाले यो वर्ष करिब ३२ करोड बजेट छुट्याएको छ । गत वर्ष पनि ३२ करोडकै हाराहारीमा बजेट विनियोजन गरिएकामा झन्डै ४ करोड रुपैयाँ फ्रिज गएको थियो । ३ वर्षमा झन्डै १२ करोड रकम फ्रिज भएको गाउँपालिकाको तथ्यांक छ । गाउँपालिकामा यो वर्ष करिब डेढ सय योजनामा रकम छुट्याइएको भए पनि अहिलेसम्म विकास खर्च एक रुपैयाँ पनि खर्च भएको छैन ।

वडा कार्यालयमा ताला

गाउँले सबै औलतिर झरेपछि मुगमकार्मारोङका वडा कार्यालय, स्वास्थ्यचौकी र सामुदायिक विद्यालयहरूमा ताला लागेको छ । मुगुगाउँस्थित प्रहरी चौकीका १५ जना प्रहरी पनि कात्तिक दोस्रो सातादेखि सदरमुकाम गमगढीमा विस्थापित भइसकेका छन् । बाक्लो हिमपात र अत्यधिक चिसोका कारण मुगु र चीन सीमामा स्थापित प्रहरी चौकी जिल्ला प्रहरी कार्यालयमा विस्थापित हुने गरेको हो । गाउँले फर्किएको जानकारी पाएपछि सुरक्षाकर्मी चैत–वैशाखमा प्रहरी चौकीमा फर्कने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लालबहादुर ऐरले बताए । हिमाली बस्तीका विद्यालयको पढाइ पनि चैतसम्मका लागि बन्द गरिएको छ भने स्वास्थ्यकर्मी पनि स्वास्थ्यचौकीमा ताला लगाएर स्थानीयसँगै औल झरेका हुन् ।

चिसो छल्न तराई झर्दै हुम्लावासी

उच्च हिमाली जिल्ला हुम्लामा चिसो अत्यधिक बढेपछि यहाँका बासिन्दा तराई झर्न थालेका छन् । हुम्लामा मंसिर दोस्रो साता हिमपात भएपछि चिसो अत्यधिक छ । सदरमुकाम सिमकोटकै तापक्रम माइनस ५ डिग्रीसम्म पुगेको छ । चिसोका कारण बर्सेनि हुम्लाका बासिन्दा जाडो छल्न नेपालगन्ज, सुर्खेत, काठमाडौंलगायत सहर जान्छन् । चिसो छल्न बाहिर जानेहरूकै कारण सिमकोट विमानस्थल व्यस्त बनेको सीता एयरलाइन्सका कर्मचारी सूर्य लामाले जानकारी दिए । अहिले विमानस्थलमा प्रतिदिन १० वटासम्म उडान भइरहेका छन् । विशेषगरी उत्तरी क्षेत्रका गाउँपालिका नाम्खा र खार्पुनाथबाट बाहिर जानेहरू बढेको उनले बताए ।

हुम्लामा सबैभन्दा बढी हिमपात हुने नाम्खा गाउँपालिकामा पनि यो वर्ष विकास निर्माणका कुनै काम सुरु भएका छैनन् । विकास बजेट १५ करोड २५ लाख रुपैयाँ छुट्याएको नाम्खाले पनि स्थानीय बेंसीबाट फर्किएपछि वैशाखबाट मात्र काम सुरु गर्ने गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिए । ‘३ महिनामा सबै बजेट सक्नुपर्छ,’ उनले भने, ‘त्यसैले ठूला योजनामा बजेट विनियोजन गर्दैनौं ।’ ठूला योजनामा रकम नछुट्टिँदा गाउँमा सडक, सिँचाइ, खानेपानीलगायत पूर्वाधार विकासको काम हुन नसकेको उनको भनाइ छ । अहिले नाम्खा गाउँपालिका–५ लिमी झन्डै ३ फिटसम्म हिउँ जमेको छ । लिमीका बासिन्दाहरूलाई बाक्लो हिउँ परेपछि गाउँ बाहिर निस्कन नै समस्या भएको छ । बर्सेनि झन्डै ६ महिना लिमीका बासिन्दाको अन्य गाउँसँग आवतजावत बन्द हुन्छ । बाहिर हिउँ परिरहेकाले घरभित्रै बसेर आगो ताप्नुको विकल्प नभएको स्थानीय किगिर लामाले टेलिफोनमा बताए ।

प्रकाशित : पुस ११, २०७८ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?