७ वर्षसम्म अड्केको रेल्वेको काम बल्ल अघि बढ्यो 

ट्रयाक र स्टेसनको जग्गा छुट्याउँदै रेल विभाग 
सुनिता बराल

महोत्तरी — ७ वर्षसम्म जग्गाको मुआब्जा टुङ्गो नलाग्दा रोकिएको जयनगर–बर्दिबास रेल्वेको काम बल्ल अघि बढेको छ । सरकारले मुआब्जा निर्धारण गरेपछि बर्दिबासमा रेल्वे विभाग र नापीले जग्गा छुट्टाउने काम सुरु गरेका छन् ।  लामो समय जग्गाको मुआब्जा टुङ्गो नलाग्दा ७ वर्ष पहिले गरिएको सर्भेको सेन्ट्रल लाइन नै मेटिइसकेकाले पुन त्यसैबाट काम थालिएको रेल्वेको प्राविधिक टोलीले जनाएको छ ।

७ वर्षसम्म अड्केको रेल्वेको काम बल्ल अघि बढ्यो 

मुआब्जामा कुरा नमिल्दा र लामो समय रेल्वेले जग्गा नलिँदा कतिपय जग्गाधनीले सिमाना मेटाउने र किला उखेल्ने गरेकाले प्राविधिक टोलीले सुरुदेखि नै काम गर्नुपरेको जयनगर- जनकपुर रेल कार्यालयका साइट इन्जिनियर विनोद ओझाले जानकारी दिए । बर्दिबासमा रेल्वेको २ वटा सेन्ट्रल प्वाइन्ट नभेटिएको र पत्ता लगाउने काम भैरहेको ओझाले बताए । सेन्ट्रल लाइन भेटिएपछि दायाँ बायाँ कति जग्गा लाग्छ र क–कसको जग्गा कति पर्छ भनेर छट्याइने उनको भनाइ छ । भंगाहा, किसाननगर र आदर्श बेगाडाबरमा काम सकिसकेकाले अबको १५ दिनमा बर्दिबासमा पनि जग्गा छुट्टाउने काम सकिने ओझाले बताए । भारतीय रेल्वे निर्माण कम्पनी इरकान इन्टरनेसनल, नेपालको रेल्वे कम्पनी र नापी कार्यालय बर्दिबासको प्राविधिक सहितको टोलीले अहिले जग्गा छुट्याउने काम गरिरहेको छ ।

बर्दिबास रेल्वे स्टेसनमा परेको जग्गा खेतीयोग्य भएकाले खोला पस्दा र खेती लगाउने क्रममा आली सर्दा यस क्षेत्रमा फेरि उपकरण प्रयोग गरी जग्गा नापिने नापी कार्यालय बर्दिबासका प्रमुख रामचन्द्र पण्डितले जानकारी दिए । नापी कार्यालय बर्दिबासबाट नियमित २ जना र आवश्यक पर्दा अन्य कर्मचारी पनि काममा खटाइएको पण्डितले बताए । बर्दिबासबाट भंगाहा तर्फको रेल्वे लिकमा पर्ने जग्गाको नापी सकेर रिपोर्ट बनाउने काम भैरहेको छ । बर्दिबासको पनि नापी सकिनासाथ रिपोर्ट तयार पारेर रेल्वेलाई बुझाउने पण्डितले बताए ।

जिल्लास्थित मुआब्जा निर्धारण समितिले गत भदौ २ गते बर्दिबासको रेल्वे लिक र स्टेसनमा पर्ने जग्गाको मुआब्जा निर्धारण गरेको थियो । सरकारले तोकेको मुआब्जामा आफूहरुको असन्तुष्टि रहे पनि अब समयमै मुआब्जा वितरण गरी काम अघि बढाओस् भन्ने पक्षमा रहेको बर्दिबास १४ का स्थानीय जन्नुलाल महतोले बताए । जयनगर बर्दिबास ६९ किलोमिटर रेलवे निमार्णको काम मुआब्जा विवादपछि भंगाहाको बिजलपुरा स्टेसनमै रोकिएको थियो । अब केही महिनाभित्रै मुआब्जा वितरण सकेर बिजलपुराबाट बर्दिबास तर्फको काम सुरु गरिने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

माघको पहिलो हप्ताबाटै मुआब्जा वितरण सुरु गर्नेगरी काम गर्छाैं भनी रेल विभागको सर्भे टोलीले आफूहरुलाई आश्वासन दिएकाले मुआब्जा वितरणको काम अब छिट्टै सुरु हुने मुआब्जा निर्धारण समितिका संयोजक तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिए । रेल विभागले गरिरहेको काममा जिल्ला प्रशासनको सहकार्य र समन्वय रहेकाले सहयोग गर्दै कामलाई अब द्रुत गतिमा अघि बढाउने दाहालले बताए ।

बर्दिबासबाट भंगाहातर्फ मुआब्जामा समस्या नरहेको भएपनि बर्दिबासको मुआब्जा विवादले काम अघि बढेको थिएन । जयनगर–बर्दिबास रेल्वेको लिक र जयनगर–बर्दिबास तथा पूर्व –पश्चिम रेलमार्गको साझा स्टेसन रहेको बर्दिवासको करिब ५९ विघा जग्गाका डेढ सय घरपरिवारलाई मात्रै सरकारले २ अर्ब ३० करोड बराबर मुआब्जा वितरण गर्नेछ ।

७ वर्षदेखि मुआब्जा नटुङ्गिँदा जयनगर बर्दिबासको काम भंगाहामा रोकिएको छ भने पूर्व पश्चिम रेलमार्गको काम भप्सी खोलाबाट पूर्व बर्दिबासतर्फ अघि बढ्न सकेको छैन । अब मुआब्जा वितरण सकेर रेल्वेको काम अघि बढाइने र ४ वर्षभित्र बर्दिवासमा रेल आउनेगरी काम गरिने रेल्वेका साइट इन्जिनियर ओझाले बताए ।


प्रकाशित : पुस ९, २०७८ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?