कालिञ्चोकमा बढ्दै पर्यटक

नयाँ वर्ष नजिकिँदै गर्दा होटलहरुमा बुकिङ बढ्यो
केदार शिवाकोटी

दोलखा — जिल्लाकै मुख्य पर्यटकीय क्षेत्र कालिञ्चोक भारतीय र बंगलादेशी पर्यटकको रोजाइमा पर्न थालेको छ । अंग्रेजी नयाँ वर्ष मनाउन कालिञ्चोकका २० प्रतिशत होटल भारतीयले बुक गरिसकेका छन् ।

कालिञ्चोकमा बढ्दै पर्यटक

बंगलादेशबाट समेत कालिञ्चोकका होटलमा बुकिङ इन्क्वायरी आइरहेको होटल व्यवसायी हरि ओलीले जानकारी दिए । ‘नयाँ वर्ष मनाउन कालिञ्चोकका होटलमा भारतीय पर्यटकले बुकिङ गर्न थालेका छन्,’ उनले भने, ‘अहिले २० प्रतिशत जति कोठा भारतीयबाट बुकिङ भएको छ, नयाँ वर्ष नजिकिँदै गर्दा यो बढ्न सक्छ ।’

कालिञ्चोकमा मंसिरमा मात्रै ३ हजारभन्दा बढी भारतीय पर्यटक पुगेका छन् । भारतको उत्तर प्रदेश र बिहार राज्यबाट पर्यटक कालिञ्चोक घुम्न आउने गरेका छन् । मुम्बई र दिल्लीबाट समेत कालिञ्चोक आउनेहरू उत्तिकै छन् । मंसिरमा ७५ भन्दा बढी बंगलादेशी पर्यटक कालिञ्चोक घुम्न आएको होटल व्यवसायी बताउँछन् । फूलबारी राजमार्ग प्रयोग गरेर झापाबाट बंगलादेशी पर्यटक कालिञ्चोक आउने गरेको उनीहरूको भनाइ छ । कालिञ्चोकमा आन्तरिक पर्यटकको चहलपहल पनि राम्रै छ ।

पछिल्लो समय कालिञ्चोकमा भारत र बंगलादेशबाट पर्यटक आउन लागेको कालिञ्चोक केबरकारका निमित्त प्रमुख सन्देश शिवाकोटीले पनि स्विकारे । केबलकार चढ्नेको संख्या अहिले प्रतिदिन एक हजार हाराहारी रहेको उनले जनाए । यसमा १५ प्रतिशत पर्यटक भारतीय रहेको उनले बताए । कालिञ्चोकमा केबलकार चढ्न, मन्दिर दर्शन गर्न र हिउँ खेल्दै दृश्यावलोकनका लागि पर्यटक पुग्ने गरेका छन् ।

यस वर्ष अझैसम्म कालिञ्चोकमा हिमपात भएको छैन । क्रिसमस मनाउन आउनेहरूले समेत कालिञ्चोकका होटल बुकिङ गरिरहेको होटल व्यवसायी बताउँछन् । अहिले प्रतिदिन तीन सयसम्म सानाठूला सवारीसाधन कालिञ्चोक पुग्ने गरेका छन् । वैशाखसम्म हिमापात हुने कालिञ्चोक क्षेत्रबाट रोल्वालिङ, लामटाङलगायत हिमशृंखला देखिन्छन् ।

प्रकाशित : पुस ९, २०७८ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?