१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

सुन्तला खेतीबाटै आत्मनिर्भर

परम्परागत कृषिबाली छोडेर व्यावसायिक सुन्तला खेतीमा लागेका एक किसानले यसै सिजनमा गरे ६५ लाख रुपैयाँ आम्दानी
सम्झना रसाइली

तनहुँ — परम्परागत रुपमा कोदो, मकैको खेती गर्दै आएकी म्याग्दे गाउँपालिका–३ काँफलडाँडाकी कमला शाही अहिले सुन्तला खेती गर्छिन् । मिहिनेत गरे अनुसार कोदो, मकैको उत्पादन नहुने र उत्पादन भएको उपज पनि बाँदरले खाइदिँदा उनले बारी बाँझै राखेकी थिइन् ।

सुन्तला खेतीबाटै आत्मनिर्भर

‘१२ वर्षदेखि सुन्तला खेती गर्दै आएकी छु,’ उनले भनिन्, ‘कोदो, मकैभन्दा सुन्तला खेतीमा कम मिहिनेत लाग्ने र आम्दानी पनि राम्रो हुने भएपछि विदेशमा रहेका श्रीमान्लाई समेत गाउँमै बोलाएर सुन्तला खेती गर्न थालेका छौं ।’

हाल करिब ४ रोपनीमा सय बोट सुन्तला लगाएकी छन् । उत्पादन भएको सुन्तला आफैंले काठमाडौंको कालिमाटी तरकारी तथा फलफूल बजारमा लगेर बिक्री गर्छिन् । ‘सुन्तला खेतीमा औषधिउपचार, गोडमेल, मलजललगायत कार्यमा करिब एक लाख रुपैयाँ बराबर खर्च हुने गरेको छ । यस वर्ष उत्पादन पनि राम्रो भएको र मूल्य पनि राम्रै पाइएको हुँदा ७ लाख रुपैयाँ आम्दानी भइसकेको छ,’ उनले भनिन् ।

म्याग्दे–३ का कमल सारु मगरले पनि यो सिजनमा अहिलेसम्म एक लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरिसकेका छन्् । सानो–ठूलो गरी १ सय ९० बोट सुन्तला लगाएकोमा ७० वटामा फल लागेको छ । ‘गतवर्ष करिब ३५ हजार रुपैयाँको मात्र सुन्तला बिक्री भएको थियो,’ उनले भने, ‘यो वर्ष एक लाख रुपैयाँ बराबरको बेचिसकें । अब एक/डेढ लाख रुपैयाँमा कट्छ होला । हामीलाई सुन्तला खेतीले लखपति बनाउँदै लगेको छ ।’

उमाचोक सुन्तला ब्लक सञ्चालक समितिका संयोजकसमेत रहेका निर्मल अधिकारीले सुन्तला खेतीबाट अनपेक्षित रूपमा आम्दानी लिन सफल भएको बताउँछन् । ‘पहिले धान, कोदो, मकै खेती गरिने र बाँदरको आतंकका कारण उत्पादित कृषि उपज आफैंलाई पनि पुग्दैनथ्यो । खेतबारी पनि बाँझिन पुगेको थियो,’ उनले भने, ‘अहिले सुन्तलाबाट मनग्ये आम्दानी भएपछि हामी सबै व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित भएका छौं ।’

करिब ३५ रोपनी क्षेत्रफलमा ७ सय बोट सुन्तला रोपेका अधिकारीले यस वर्ष सुन्तला बिक्रीबाट २५ लाख रुपैयाँ आम्दानी गरेको सुनाउँछन् । उनका अनुसार स्थानीय सुकनारायण श्रेष्ठले यस वर्ष ६० लाख रुपैयाँ बढीको सुन्तला बिक्री गरेका छन् । वातावरणीय हिसाबले यस क्षेत्रको हावापानी सुन्तला उत्पादनको लागि उपयुक्त भएकोले व्यावसायिक सुन्तला खेतीतर्फ किसानको आकर्षण बढेको अधिकारीले बताए । उनका अनुसार म्याग्दे गाउँपालिकाभित्र करिब ४० हजार सुन्तलाका बोट छन् । भने, ‘हालसम्म यस क्षेत्रबाट करिब ७ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री भइसकेको छ ।

यस वर्ष उत्पादन र मूल्य राम्रो भएको हुँदा १० देखि १२ करोड रुपैयाँ गाउँ भित्रने अनुमान गरेका छौं । सुन्तला बिक्रीबाट एक जना किसानले न्यूनतम ५ हजारदेखि ६५ लाख रुपैयाँसम्म आम्दानी गरेका छन् ।’

यस्तै, उमाचोकका किसान रामहरि रानाभाटले यो वर्ष २ सय ५० बोटमा फलेको सुन्तला बिक्री गरी १५ लाख रुपैयाँ आम्दानी गरेका छन् । उनले भने, ‘मलजल राम्रोसँग पायो भने पनि सुन्तला उत्पादन राम्रो हुने रहेछ । अझै बिरुवा थपेको छु, फल दिन थालेपछि करिब २५ लाख रुपैयाँसम्म आम्दानी लिने लक्ष्य बनाएको छु ।’ गाउँका अन्य किसानले सुन्तला खेतीबाटै मनग्ये आम्दानी गरेको देखेपछि कोदो र मकै खेती गर्दै आएका म्याग्दे–२ का पवित्र रानाभाट र तारा रानाभाट पनि पछिल्लो समय सुन्तला खेतीतर्फ आकर्षित भएको बताउँछन् । एक वर्षअगाडि पवित्रले १ सय ५० र ताराले सय वटा सुन्तलाको बिरुवा रोपेका छन् ।

सुन्तला खेतीका लागि तनहुँको वातावरण उपयुक्त रहेको कृषि ज्ञान केन्द्र प्रमुख कुलप्रसाद तिवारीले बताए । उनले भने, ‘उत्तरतर्फ हिमाल देखिने चिसो पाखामा सुन्तलाको उत्पादन राम्रो हुनाले जिल्लाको समुद्री सतहबाट ७ सय मिटरदेखि १२/१५ सय मिटर उचाइका क्षेत्रमा सुन्तला राम्रो उत्पादन भएको छ ।’ जिल्लामा शुक्लागण्डकीको राइपुर, व्यास नगरपालिकाको तनहुँसुर, बेनीकोट, देवघाट गाउँपालिकाको छिपछिपे बैदी, कोटबैदी, भिमाद नगरपालिकाको भानुमतीलगायत क्षेत्रलाई सुन्तला खेतीको पकेट क्षेत्रका रुपमा विकास गरिएको छ । जिल्लामा उत्पादित सुन्तला काठमाडौंबाटै ठेकेदारहरू आएर खरिद गरी लग्ने गर्छन् ।

जिल्लामा गत वर्ष ८ हजार २ सय मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष १६ सय हेक्टर क्षेत्रफलबाट करिब ८ हजार ५ सय म्याट्रिक टन सुन्तला उत्पादन हुने अनुमान गरिएको केन्द्रका प्रमुख तिवारीले बताए । ‘यस वर्ष २४ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री हुने अनुमान गरिएको छ,’ उनले भने ।

कृषि ज्ञान केन्द्र तथा स्थानीय सरकारहरूले सुन्तला खेती प्रवर्द्धन तथा गुणस्तरीय सुन्तला उत्पादनका लागि किसानहरूलाई मल, बिरुवा, प्राविधिक सहयोग तथा औषधि उपलब्ध गराउँदै आएका छन् । अधिक वर्षाका कारण दाना सानो भएका, सुन्तलामा अमिलो पन बढी हुनुका साथै पाक्न समेत ढिलो भएको किसानहरूले बताएका छन् । सुन्तला खेती व्यवस्थापनमा ध्यान नदिँदा रोग र किराको प्रकोपलगायत समस्या पनि झेल्दै आएका छन् ।

प्रकाशित : पुस ७, २०७८ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?