कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

गहुँ छर्न मल अभाव

मागअनुसार आपूर्ति नहुँदा धान र गहुँको सिजनमा बर्सेनि समस्या भोग्दै किसान

(जनकपुर) — गहुँ छर्ने सिजन सुरु भए पनि मल अभाव हुँदा धनुषाका किसानले बाली लगाउन सकेका छैनन् । मागअनुसार सरकारले आपूर्ति गर्न नसक्दा मल अभाव भएको हो ।

गहुँ छर्न मल अभाव

शुक्रबार मलको जोहोमा धनौजी गाउँपालिका ३ कटैयाका शंकर ठाकुर कृषि सामग्री कम्पनी लिमिटेडको जनकपुर कार्यालय पुगे । तर, आपूर्तिको जिम्मेवारी पाएको कम्पनीमा नै मल नपाउँदा उनी निराश देखिए । ‘१५ कट्ठा खेत तयार पारेर राखेको छु । बीउको जोहो पनि भइसकेको छ । तर, मल नपाएर गहुँ छर्न पाएको छुँइन,’ उनले भने, ‘मल पाइँदैन भन्ने थाहा भएको भए खेत तयारीमा किन खर्च गर्थे ।’ १५ कठ्ठा गहुँ खेती गर्न पहिलो खेपमा दुई बोरा डीएपी र दुई बोरा युरिया मल चाहिने उनले बताए ।

उनको गाउँ कटैया नेपाल–भारत सीमा नजिकै पर्छ । त्यहाँ भारतबाट चोरीपैठारी गरी ल्याइएको तथा नेपालकै केही डिलर सञ्चालकले कालोबजारीमा बिक्री गरेको मल पाइन्छ । तर, त्यस्ता मल महँगो अनि नक्कली पर्ने भएकाले कृषि सामग्री कम्पनीमा धाइरहेका छन् । डिलरमा २ हजार ४ सयमा पाइने डीएपी कालोबजारीमा ३ हजारदेखि ३ हजार ५ सयसम्ममा तथा ९ सयमा पाइने युरिया १ हजार २ सयदेखि १ हजार ५ सयसम्ममा बिक्री भइरहेको उनले बताए । ‘महँगोमा पनि खरिद गर्न सकिन्थ्यो । तर यसरी कालोबजारीमा बिक्री हुने मल नक्कली भयो भने त बाली नै बिग्रिन्छ,’ ठाकुरले भने ।

जनकपुरधाम–४ स्थित कृषि सामग्री कम्पनीका प्रमुख रामकुमार चौधरी मागअनुसारको आपूर्ति हुन नसकेका कारण मल अभाव भएको बताउँछन् । उनका अनुसार गहुँ सिजनको लागि जनकपुर शाखाले कम्पनीको वीरगन्जस्थित प्रादेशिक कार्यालयसंग ४ हजार मेट्रिक टन युरिया, ३ हजार मेट्रिक टन डीएपी र ४ सय मेट्रिक टन पोटास माग गरेको थियो । तर, हालसम्म ९ सय ५० मेट्रिक टन युरिया, ९ सय ५० मेट्रिक टन डीएपी र ४ सय मेट्रिक टन पोटास मात्र आपूर्ति हुन सकेको छ ।

मौज्दात मल शाखा कार्यालयको सेवा क्षेत्र रहेको धनुषा र महोत्तरीका २७ पालिकामा निर्धारित २ सय डिलरमार्फत वितरण गरिएको चौधरीले जानकारी दिए । ‘अधिकांश डिलर सञ्चालकहरूले कोटाअनुसारको मल लगिसकेका छन् । केहीको बाँकी छ । उनीहरूले पनि सुविधाअनुसार लग्ने क्रममा छन्,’ उनले भने । पालिकाको सिफारिसका आधारमा कृषि सामग्री कम्पनीले जनही ५० हजार धरौटी राखेर मल खाद र बीउ बिक्री गर्ने डिलरको अनुमति दिन्छ ।

धान र गहुँको सिजनमा मल अभाव भएको यो पहिलो पटक भने होइन । प्रत्येक वर्ष किसानलाई मल र बीउकै सास्ती हुन्छ । कृषि ज्ञान केन्द्र धनुषाले जिल्लामा खेतीयोग्य जग्गाका आधारमा कृषि सामग्री कम्पनीलाई वार्षिक ७ हजार ७ सय मेट्रिक टन युरिया, ६ हजार मेट्रिक टन डीएपी र २ सय ३५ मेट्रिक टन पोटासको आवश्यकता हुने जानकारी गराएको छ । तर, कम्पनीले वार्षिक ५ हजार मेट्रिक टन युरिया, ४ हजार ५ सय मेट्रिक टन डीएपी र १ सय मेट्रिक टन पोटासको लक्ष्य राखेको छ । वीरगन्जस्थित प्रादेशिक कार्यालय लक्ष्यअनुसारको मल कहिल्यै पनि आपूर्ति गर्दैन, जसले किसानलाई चाहिएकै बेला मल पाइँदैन ।

कृषि सामग्री कम्पनी जनकपुर शाखाले गतवर्ष युरिया ६ हजार मेट्रिक टन तथा डीएपी ५ हजार मेट्रिक टन बिक्री गर्ने वार्षिक लक्ष्य राखेको थियो । तीमध्ये जनकपुर शाखालाई ३ हजार ५ सय २५ मेट्रिक टन युरिया तथा ४ हजार ५ सय २५ मेट्रिक टन डीएपी मात्र उपलब्ध गराइएको थियो । धनुषा हंसपुर नगरपालिका २ का किसान हरि कापरले भने, ‘जिल्लास्थित कृषि ज्ञान केन्द्रले तोकेको भन्दा थोरै लक्ष्य कृषि सामग्री कम्पनीले राखेको देखिन्छ । कम्पनीले तोकेको भन्दा पनि थोरै आपूर्ति प्रदेश कार्यालयले गरेको देखिन्छ । अनि मलको हाहाकार हुने नै भयो ।’

प्रकाशित : पुस ४, २०७८ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?