अर्थतन्त्रका सूचक गम्भीर अवस्थामा, चार महिनामै १ खर्ब ५० अर्बले मुलुक घाटामा 

काठमाडौँ — चालु आर्थिक वर्षको चार महिना (साउनदेखि कात्तिक मसान्तसम्म) मा मुलुकको भुक्तानी अवस्था १ खर्ब ५० अर्ब घाटामा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय अवस्थाअनुसार मुलुकको भुक्तानी सन्तुलन अर्थात शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोड घाटामा गएको हो ।

अर्थतन्त्रका सूचक गम्भीर अवस्थामा, चार महिनामै १ खर्ब ५० अर्बले मुलुक घाटामा 

देशमा भित्रिने र देशबाट बाहिरिने रकमको अन्तरलाई भुक्तानी सन्तुलनले जनाउँछ । मुलुकमा भित्रिनेभन्दा बाहिरिने रकम उच्च हुँदा यसले अर्थतन्त्रमै गम्भीर असर पार्दछ । गत वर्ष यसै अवधिमा मुलुकको भुक्तानी अवस्था १ खर्ब १० अर्ब बचतमा थियो ।

मुलुकको चालु खाता पनि ठूलो रकममा घाटामा पुगेको छ । चार महिनाको अवधिमा चालु खाता २ खर्ब २३ अर्ब १९ करोडले घाटामा रहेको छ । जबकि अघिल्लो वर्षको यसै अवधिमा चालु खाता १९ अर्ब १ करोडले बचतमा रहेको थियो ।

मुलुकको भुक्तानी अवस्था घाटामा जाँदा विदेशी मुद्रा सञ्चिति उच्च दरले घटेको छ । असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति कात्तिक मसान्तमा १२ खर्ब ४४ अर्ब ८५ करोडमा खुम्चिएको छ । ४ महिनामै कुल विदेशी मुद्रा सञ्चिति ११ प्रतिशतले घटेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा कात्तिक मसान्तमा ११ खर्ब ७ अर्ब ४७ करोडमा खुम्चिएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग असार मसान्तसम्म १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा कात्तिक मसान्तसम्म १ खर्ब ३७ अर्ब ३८ करोड कायम भएको छ । चालु आर्थिक वर्षको चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको कुल विदेशी विनिमय सञ्चितिले ७.९ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ ।

चालु आर्थिक वर्षको चार महिनामा मुलुकको बस्तु व्यापार घाटा ५ खर्ब ६८ अर्ब पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा व्यापार घाटा ५६.८ प्रतिशतले बढेको हो । चार महिनामा देशबाट कुल ८२ अर्ब १२ करोड रुपैयाँको बस्तु निकासी भएको छ भने विदेशबाट ६ खर्ब ५० अर्ब २९ करोडको भित्रिएको छ ।

व्यापार घाटा बढ्दै जाँदा रेमिट्यान्स भने घटेको छ । समीक्षा अवधिमा रेमिट्यान्सको आप्रवाह ७.५ प्रतिशतले कमी आएको छ । चार महिनामा कुल ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ११.२ प्रतिशतले बढेको थियो ।

प्रकाशित : मंसिर २९, २०७८ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?