विद्युत् बेच्नेभन्दा स्वदेशमै खपतको नीति लिनुपर्छ : अर्थमन्त्री 

माघदेखि पुँजीगत खर्च बढ्ने दाबी 

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक परिवर्तनका कारण पनि पुँजीगत खर्च हुन नसकेको बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले गरेको नव उत्थान सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार परिवर्तन, बजेट परिमार्जन जस्ता राजनीतिक कारणले पुँजीगत खर्च समयमै हुन नसकेको उल्लेख गरे ।

विद्युत् बेच्नेभन्दा स्वदेशमै खपतको नीति लिनुपर्छ : अर्थमन्त्री 

सबै मन्त्रालयसँग खर्च बढाउनेबारे छलफल भइरहेकोले पुस माघदेखि नै पुँजीगत खर्च बढ्ने उनले दाबी गरे । त्यस्तै बन्द उद्योग संचालनका लागि सरकारले नीतिगत रुपमा तयारी गरिरहेको उनले बताए । निजी क्षेत्रसँग सहकार्य गरेर नै ती उद्योग संचालन गरिने उनको भनाइ छ ।

अर्थमन्त्री शर्माले विद्युत् बिक्रीभन्दा स्वदेशमै खपत गर्नुपर्ने नीति लिनुपर्ने बताए । स्वदेशमै विद्युत खपत हुँदा बस्तु उत्पादन तथा रोजगारी बढ्ने उनको भनाइ छ । उत्पादनमूलक उद्योगहरुलाई विद्युत् महशुल घटाउन सकिने उनले बताए । हाल कतिपय उद्योगले भनेजति विद्युत नै नपाएको गुनासो गरिरहेका छन् । सो प्रसंगलाई उल्लेख गर्दै मन्त्री शर्माले भने ‘विद्युत उद्योगलाई नदिने अनि खेर फाल्ने किसिमको नीतिलाई सरकारले सच्याउँछ । एकातिर विद्युत खेर गइरहेको छ, अर्कोतिर उद्योगले चलाउन पाएको छैन । यसले गर्दा रोजगारी सृष्टि हुन पाएको छैन ।’

विद्युत बिक्रीबाट अर्थतन्त्र बलियो नहुने भएकाले स्वदेशकै उत्पादनशील उद्योगहरूलाई सस्तो दरमा दिएर खपत बढाउन सकिने बताए । यसबारे नीति परिमार्जन गर्नेगरी मन्त्रालय र सम्बन्धित निकायसाग छलफल भइरहेको उनको भनाइ छ । कुन उद्योगलाई कहाँ, कति विद्युत उपलब्ध गराउनुपर्ने हो त्यसको यथेष्ट तथ्याङ्क बनाएर विद्युत् उपलब्ध गराउनुपर्ने उनले बताए ।

प्रकाशित : मंसिर २९, २०७८ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?