पुसमा निक्षेपको ब्याज नबढ्ने

कर्जाको ब्याजदर भने माघदेखि कम्तीमा १ प्रतिशत वृद्धि हुने
यज्ञ बञ्जाडे

काठमाडौँ — पुसका लागि बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर नबढाउने भएका छन् । ब्याजदर बढाए पनि निक्षेप नबढ्ने तर लागत बढ्ने भएपछि बैंक तथा वित्तीय संस्थाले पुसका लागि पनि मंसिरकै ब्याजदर प्रकाशन गर्ने भएका हुन् ।

पुसमा निक्षेपको ब्याज नबढ्ने

यसका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका छाता संगठनले अनौपचारिक छलफल गरेका छन् । सोही छलफलका आधारमा आगामी महिनाका लागि मंसिरकै ब्याजदर प्रकाशन गर्ने निर्क्योलमा बैंकहरू पुगेको स्रोतले बताएको छ । ‘मंसिरको ब्याजदरमा मिति मात्र परिवर्तन गरेर प्रकाशन गर्ने सहमति भएको छ,’ स्रोतले भन्यो ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले हरेक महिनाको अन्तिममा आगामी महिनाका लागि कर्जा र निक्षेपको ब्याजदर प्रकाशन गर्नुपर्नेछ । सोही निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले पुसका लागि बुधबार ब्याजदर प्रकाशन गर्दै छन् । अघिल्लो महिनामा आफ्नो वर्गका वित्तीय संस्थाको औसत ब्याजदरको १० प्रतिशतसम्म ब्याज बढाउन सक्ने छुट बैंकहरूलाई छ ।

तर, यस पटकका लागि उक्त सुविधा उपयोग नगरी मंसिरकै सरह ब्याजदर प्रकाशन गर्ने धारणा अधिकांश बैंकबाट आएको बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिए । ‘ब्याजदर बढाए पनि निक्षेप नबढेपछि यस पटकका लागि स्थिर राख्ने कुरा आएको छ,’ उनले भने, ‘ब्याज बढाउँदा लागत बढ्ने तर निक्षेप नबढ्ने अवस्था आयो ।’

गत कात्तिकमा वाणिज्य बैंकहरूले आपसमा सहमति गरेर मंसिरका लागि एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.०५ प्रतिशत प्रकाशन गरेका छन् ।

मंसिरका लागि संस्थागत मुद्दती निक्षेपको ब्याजदर ९.०५ प्रतिशत र साधारण निक्षेपको ५.०५ प्रतिशत तोकिएको छ । सहमतिअनुसार अब पुसका लागि पनि वाणिज्य बैंकहरूले निक्षेपमा उल्लिखित दर नै कायम गर्नेछन् ।

धेरैजसो विकास बैंकबाट निक्षेपको ब्याजदर स्थिर राख्ने प्रस्ताव आएपछि पुसका लागि ब्याजदर नबढ्ने सम्भावना देखिएको विकास बैंकर्स एसोसिएसनका अध्यक्ष प्रद्युमन पौडेलले बताए ।

मंसिरका लागि सबै विकास बैंकले एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १०.२५ प्रतिशत ब्याजदर प्रकाशन गरेका छन् । संस्थागत मुद्दती निक्षेपमा ८.२५ र साधारण निक्षेपमा ५.२५ प्रतिशतसम्म ब्याजदर प्रकाशन गरेका छन् ।

‘छलफलमा ब्याजदर किन बढाउनुपर्‍यो भन्ने प्रश्न उठ्यो,’ फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले भने, ‘फाइनान्स कम्पनीहरूले पनि मंसिरको ब्याजदरमा मिति मात्र परिवर्तन गरेर प्रकाशन गर्दै छन् ।’ वाणिज्य र विकास बैंकहरूबाट पनि ब्याजदर नबढाउने धारणा आएपछि फाइनान्स कम्पनीले पनि पुरानै ब्याजदर कायम राख्ने सहमति भएको उनले बताए ।

फाइनान्स कम्पनीहरूले मंसिर महिनाका लागि एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १०.३५ प्रतिशत ब्याजदर प्रकाशन गरेका छन् । संस्थागत मुद्दती निक्षेपमा ९.३५ र साधारण निक्षेपमा ५.३५ प्रतिशतसम्म ब्याजदर प्रकाशन गरेका छन् ।

बैंकहरूले निक्षेपको ब्याज स्थिर राख्न खोजे पनि कर्जाको ब्याजदर कम्तीमा एक प्रतिशत बढ्ने बताएका छन् । गत कात्तिक र मंसिरमा निक्षेपको ब्याजदर वृद्धि भएपछि बैंकहरूको लागत (खर्च) बढेको छ । लागतमा भएको वृद्धिका आधारमा आउँदो पुस मसान्तमा बैंकहरूको आधार दर (बेस रेट) वृद्धि हुने र त्यसले कर्जाको ब्याजदर पनि बढाउने बैंकहरूले बताएका छन् ।

पुसमा बैंकहरूले निक्षेपको ब्याजदर नबढाए पनि कात्तिक र मंसिरमा बढिसकेको छ । यसले आधार दर बढ्ने भएकाले आउँदो माघदेखि कर्जाको ब्याजदर कम्तीमा १ प्रतिशत बिन्दुले बढ्ने बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहालले बताए ।

‘बैंकहरूले पुसमा पनि निक्षेपको ब्याजदर बढाए माघदेखि कर्जाको ब्याजदर एक प्रतिशतभन्दा धेरै बढ्ने निश्चित छ,’ उनले भने, ‘पुसमा पनि मंसिरसरह नै निक्षेपको ब्याजदर कायम रहे पनि औसतमा एक प्रतिशत बिन्दुसम्म कर्जाको ब्याजदर बढ्न सक्छ ।’

माघपछि कर्जाको ब्याजदर एकल अंकबाट माथि जाने पनि बैंकहरूले बताएका छन् । हिजोआज बैंकहरूद्वारा प्रवाह भइरहेको नयाँ कर्जाको ब्याजदर दोहोरो अंकमा छ । अब बढ्दा झन् माथि पुग्ने उनीहरूको धारणा छ ।

बैंक तथा वित्तीय संस्थाले पुस मसान्तमा आधारदर गणना गर्छन् । गत कात्तिक र मंसिरमा निक्षेपको ब्याजदर बढेकाले पुसमा आधार दर बढ्ने निश्चित छ । आधार दर बढेपछि सोही वृद्धिका आधारमा कर्जाको ब्याजदर पनि बढाउने बैंकहरूको भनाइ छ ।

राष्ट्र बैंक स्रोतका अनुसार गत मंसिर दोस्रो सातासम्म बैंकहरूको कर्जाको औसत ब्याजदर ९.९९ प्रतिशत छ । अब माघदेखि १ प्रतिशत बिन्दुले मात्र पनि कर्जाको ब्याजदर बढे औसत १०.९९ प्रतिशत पुग्ने बैंकरहरूको अनुमान छ ।

गत असोजमा वाणिज्य बैंकहरूको औसत आधार दर ७.५७ प्रतिशत छ । २०७७ असोजमा यस्तो दर ७.७३ प्रतिशत थियो ।

‘२०७८ असोजमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ५.४३ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ८.६९ प्रतिशत छ,’ राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख छ, ‘अघिल्लो वर्षको सोही महिनामा यस्ता दर क्रमशः ५.४५ प्रतिशत र ९.८३ प्रतिशत थिए ।

प्रकाशित : मंसिर २९, २०७८ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?