पार्टीका महाधिवेशनले बढाए मुद्रण व्यापार

कोभिडले सुस्ताएको मुद्रण व्यवसायलाई राजनीतिक दलका चुनावी गतिविधिले गुलजार बनाइदिए
नुमा थाम्सुहाङ

काठमाडौँ — काठमाडौंको शंखमूलस्थित डल्फिन अफसेट प्रेसका सञ्चालक शंकर खड्का करिब दुई सातायता नेपाली कांग्रेसका पार्टी उम्मेदवारको प्रचारप्रसार सामग्री छाप्न व्यस्त छन् । उम्मेदवार चिनाउने पर्चा, भिजिटिङ कार्ड, नोट बुक, पेनमा नाम लेख्नेलगायत कामका लाग उनको छापाखाना दिनमा २० घण्टासम्म चलिरहेको छ । काम गरेअनुसार छापाको व्यापार बढेकामा उनी खुसी छन् ।

पार्टीका महाधिवेशनले बढाए मुद्रण व्यापार

‘यतिबेला काम धेरै बढेको छ, बिहानदेखि बेलुकासम्म पार्टीकै विभिन्न पर्चा–पम्प्लेट छाप्ने काममा व्यस्त छु । यो १० दिनमा ३३ देखि ३५ लाख रुपैयाँसम्मको कारोबार भइसकेको छ,’ नेपाल मुद्रण उद्योग संघका पूर्वअध्यक्षसमेत रहेका उनले भने, ‘यसअघि दिनमा १ लाखसम्म कारोबार हुन्थ्यो भने अहिले दिनकै ३ लाख रुपैयाँभन्दा बढीको काम आइरहेको छ । कोभिडपछि प्रेसको काम राम्रो भएकाले म एकदमै खुसी छु ।’ उनका अनुसार प्रिन्टिङसम्बन्धी मात्रै नभएर डिजिटल प्रिन्ट, फ्लेक्स, डिजाइनिङसम्बन्धी सबैले यति बेला काम पाइरहेका छन् । ‘पार्टीगत चुनाव भए, अब स्थानीय तहको निर्वाचन पनि हुने कुरा छ । यसले गर्दा पनि प्रिन्टको काम बढ्छ,’ खड्काले भने, ‘विद्यालय बन्द भएपछि छापा उद्योगमा किताब छाप्ने काम कम भयो । तर कोभिडसम्बन्धी जनचेतना फैलाउने काम भने आइरहेको छ ।’

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत हुने मतदानका लागि प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले आफ्नो प्रचारप्रसार सामग्री छापेकाले यहाँका छापाखानाले काम पाएका हुन् । विभिन्न राजनीतिक पार्टीको आन्तरिक चुनावी गतिविधिले गर्दा काम मलेको मुद्रण व्यवसायी प्रकाश नेपाली बताउँछन् । ‘म डिजाइनको काम बढी गर्छु, प्रिन्ट गर्न अरूलाई नै पठाउँछु,’ उनले भने, ‘चुनावी क्षेत्र नजिक भएर होला, डिजाइनको काम यत बेला बढेको छ । मेरो मात्र नभई यहाँ प्रेसको काम गर्ने सबै व्यस्त छन् ।’

अर्का व्यवसायी विष्णु थापा पनि काठमाडौंमा कांग्रेस महाधिवेशन सुरु भएयता प्रिन्टिङको काम बढेको बताउँछन् । ‘लकडाउनपछि काम कम भएको थियो,’ उनले भने, ‘तर चुनावले प्रिन्टिङ व्यवसाय तातेको छ ।’ चुनावका लागि तत्काल चाहिने ब्रोसर, पर्चा, भिजिटिङ कार्ड, नेमप्लेटलगायत छपाइको काम भइरहेको उनले जनाए । कोभिडपछि छापाखानाहरूको काम बढ्दा व्यवसायी उत्साहित देखएको उनको भनाइ छ ।

काठमाडौंमा मात्र नभएर चितवनमा हालै सम्पन्न एमालेको १० औं महाधिवेशनका बेला पनि त्यहाँका छापाखनाले राम्रै काम पाए । महाधिवेशनको तीन दिनमा मात्र आफ्नो कम्पनीले ५ लाख रुपैयाँको काम पाएको चितवनको नारायणगढस्थित चितवन डिजिटल फोटो एन्ड कम्प्लेक्सका सञ्चालक गुणराज दाहालले जानकारी दिए । ‘एमालेको प्रायः सबै काम काठमाडौंबाट नै भएको थियो,’ उनले भने, ‘यहाँ बाँकी रहेको काम मात्र भयो । हामीले फ्लेक्स प्रिन्ट गर्ने, ठूला ब्यानर बनाउने र स्वागतद्वार तयार गर्ने काम गर्‍यौं ।’ हालै काठमाडौंमा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा पनि प्रचार सामग्री छाप्ने छापाखानाको व्यवसाय बढेको व्यवसायी बताउँछन् ।

पार्टीगत चुनावमा हुने यस्ता गतिविधिको काम क्षणिक भए पनि कोभिडले थलिएको प्रेसको बजार बढाउन यसलले सघाएको नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष पुष्कर गौतमको भनाइ छ । प्रतिस्पर्धी उम्मेदवारहरूले पर्चा, पम्प्लेट र भिजिटिङ कार्ड छपाउने भएकाले छापाखनाहरूले काम पाएको उनले बताए ।

देशभर ४ हजार ४ सय मुद्रण उद्योग सञ्चालनमा रहेको गौतमले जानकारी दिए । झन्डै ८० अर्ब रुपैयाँ लगानी रहेको यस उद्योगले २ लाखलाई रोजगारी दिइरहेको उनले बताए । ‘यस व्यवसायबाट कति राजस्व संकलन हुन्छ भन्ने यकिन तथ्यांक छैन,’ गौतम भन्छन् ।

प्रकाशित : मंसिर २७, २०७८ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?