रसुवागढीबाट २२ महिनादेखि निर्यात ठप्प 

बलराम घिमिरे

रसुवा — रसुवागढी नाकाबाट बेसार र खुर्सानी निर्यात गर्ने यहाँका ब्यापारी मुकुन्द पौडेल अचेल घाम तापेर बसिरहेका छन् । मासिक ४० टनसम्म बेसार, खुर्सानी चीन पठाउने उनको व्यापार २२ महिनादेखि ठप्प छ । २२ महिनाअघि निर्यात गरेको सामान केरुङको गोदाममै थन्किएको छ । ‘करोडौं रुपैयाँको त्यो सामान अब कुहिएर काम नलाग्ने भइसक्यो होला,’ पौडेलले भने, ‘अब त बिक्री हुने आश छैन । उठाउन बाँकी अरु पैसा पनि रोकिएको छ ।’ 

रसुवागढीबाट २२ महिनादेखि निर्यात ठप्प 

चीनतर्फ हुने निर्यात २२ महिनादेखि ठप्प छ । सर्वसाधारणको आउजाउ पनि बन्द छ । निर्यात ठप्प हुँदा पौडेलजस्तै सयौं व्यापारीले केरुङसम्म पुर्‍याएको सामान बिक्री गर्न नपाउँदा गोदाममा थन्किएका छन् । पौडेलले चिनियाँ व्यापारीलाई सामान बिक्री गरेवापत करोडौं रुपैयाँ उठाउनै बाँकी छ । केरुङसम्म जान नपाउँदा सामान बिक्री गरेको रकम उठाउन नपाएको पौडेलले बताए ।

चिनियाँले नेपाली सामान औधी मन पराउँछन् । नेपालबाट चीनतर्फ बाँसको मुढा, अम्रिसो, मैदा, वनस्पति घ्यू, चाउचाउ, पास्ता, बिस्कुट, जुस, जाम, चिउरा, लप्सीको क्याण्डी, चकलेट, सख्खर, चुइंगमलगायतका बस्तु निर्यात हुँदै आएको थियो । मुलुकले व्यापार घाटा बेहोरिरहेको अवस्थामा नेपाली बस्तुको निर्यात ठप्प हुँदा पनि सरकारले ध्यान नदिएको व्यापारीहरूको गुनासो छ । उनीहरू छिटो निर्यात सहज बनाउनुपर्ने माग गर्दै आएका छन् ।

२०७६ माघ १५ देखि नै रसुवागढी नाका भएर चीनमा हुने निर्यात प्रभावित छ । सुरुमा हिमपात र ल्होसार पर्वका कारण निर्यात बन्द भएको थियो । पछि कोरोना भाइरस देखा परेपछि रसुवागढी नाका भएर चीनबाट हुने आयात–निर्यात थप प्रभावित भएको हो । रसुवागढी नाकाबाट व्यवसायीले २२ महिनादेखि सामान निर्यात गर्न पाएका छैनन् ।

कहिले हिमपात त कहिले पहिरोले सडक नै अवरुद्ध हुने गरेकाे छ । साढे पाँच महिना भने कोरोना महामारीका कारण नाका ठप्प रह्यो । अहिले नाकाबाट दैनिक चिनियाँ ८ कन्टेनर मात्र सामान आयात भइरहेको छ । नेपाली कन्टेनर सामान लिन केरुङ जान नपाएको २२ महिना पूरा भएको छ । केरुङ पुगेका खाली कन्टेनर पनि उतै रोकिएका छन् । यो नाकाबाट व्यापारीका सामान सहज रुपमा आउन सकेको छैन ।

चीनले व्यापारीका आफ्नै दैनिक आठ कन्टेनर सामान नेपाली भूमिसम्मै ल्याइदिने गरेको छ । निर्यात गर्ने र आयात बढाउने विषयमा महावाणिज्य दूतमार्फत प्रयास भइरेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले बताए । ‘प्रयास भए पनि आउटपुट आउन सकेको छैन्,’ मैनालीले भने । रसुवागढीबाट आयात–निर्यात प्रभावित हुँदा सयौं व्यवसायीका अर्बौं मूल्यका सामान चीनतर्फ रोकिने गरेका छन् । बारम्बार आइरहने यस्ता समस्याले व्यापारीहरू मर्कामा परेका छन् । सामानको आयातसँगै राजश्व संकलन पनि घटेको भन्सार कार्यालयले बताएको छ । रसुवागढी चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो ।


प्रकाशित : मंसिर २४, २०७८ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?