नेपाल र स्लोभेनियाबीचको आर्थिक सम्बन्ध विस्तारमा काम गरौं- राजदूत घोस- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

नेपाल र स्लोभेनियाबीचको आर्थिक सम्बन्ध विस्तारमा काम गरौं- राजदूत घोस

कान्तिपुर संवाददाता

काठमाडौँ — भारत र नेपालका लागि स्लोभेनियाकी राजदूत मोताया बोदेब घोसले दुई देशबीचको आर्थिक सम्बन्ध विस्तारमा जोड दिएकी छन् । नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटमा राजदूत घोसले नेपाल र स्लोभेनियाबीचको व्यापार वृद्धि गर्न सकिने क्षेत्रको पहिचान गरी आर्थिक सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिइन् ।  

उनले स्लोभेनियाले दीगो पर्यटनमा उदाहरणीय काम गरेको बताउँदै नेपालले पनि यसमा काम गर्न सक्ने उल्लेख गरिन् । राजदूत घोसले नेपालमा विदेशी लगानी सम्भावना रहेका क्षेत्रमा स्लोभेनियाका लगानीकर्ता आकर्षित गर्न आफूले पहल गर्ने बताइन् । ‘नेपाल र स्लोभेनियाबीच दुई पक्षीय आर्थिक सम्बन्ध विस्तारका धेरै सम्भावना रहेका छन्,’ उनले भनिन् ‘अब हामीले दुई पक्षीय व्यापार विस्तार एवं लगानी वृद्धिका लागि काम गर्नुपर्छ ।’

छलफलका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा कृषि, पर्यटन, जलविद्युतलगायतका क्षेत्रमा लगानीको ठूलो संभावना रहेको भन्दै स्लोभेनियाका लगानीकर्ताले लगानी गर्न सक्ने उल्लेख गरे । ‘नेपाल सरकारले नीतिगत सुधारका धेरै काम गरेको छ,’ उनले भने ‘विदेशी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य हो ।’ अध्यक्ष अग्रवालले नेपालमा हरित ऊर्जाको अथाह संभावना रहेको र नेपालमा उत्पादित ऊर्जा निर्यातको बजार पनि प्रशस्त रहेकाले विदेशी लगानीकर्ताले ढुक्कले लगानी गर्न सक्ने बताए ।

परिसंघका पूर्वअध्यक्ष एवं स्लोभेनियाका अवैतनिक महावाणिज्यदूत हरिभक्त शर्माले स्लोभेनियाले प्रविधिको क्षेत्रमा ठूलो विकास गरेकाले नेपालले पनि औद्योगिक क्षेत्रका लागि आवश्यक प्रविधि भित्र्याउन सक्ने उल्लेख गरे । परिसंघको कार्यालयमा भएको भेटमा परिसंघका उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी र वीरेन्द्रराज पाण्डे तथा बैंकिङ समितिका सभापति अनलराज भट्टराई, एजुकेसन काउन्सिलका सभापति द्विराज शर्मा, राष्ट्रिय परिषदका सदस्य सुरजभक्त पौडेल र महानिर्देशक यादवप्रसाद पौड्यालको उपस्थिति थियो ।

प्रकाशित : मंसिर २३, २०७८ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्

सामसङको वासिङ मेसिनमा जाडो यामको छुट योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — सामसङ नेपालले यस जाडो यामलाई लक्षित गर्दै वासिङ मेसिनका मोडेलहरुमा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । यो योजना मंसिर १२ देखि पुस मसान्तसम्म वा स्टक रहुन्जेलसम्मका लागि लागू हुने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार यो योजनामार्फत ग्राहकले केही वासिङ मेसिनहरुमा १७ प्रतिशतसम्म छुट पाउने छन् । योजनाद्वारा सामसङ नेपालले ग्राहकलाई जाडो याममा वासिङ मेसिनको प्रयोग गर्न तथा हालै भएको पुरानो मेसिनलाई एआई कन्ट्रोलयुक्त मेसिनसँग अपग्रेड गर्न प्रोत्साहन गर्ने कम्पनीको भनाइ छ ।

ए आई कन्ट्रोल, इको बबल र हाइजिन् स्टीम जस्ता नविनतम प्रविधिका मेसिनमा छुट अफर प्रदान गरिएको सामसङले जनाएको छ । यस अफरमा अरु प्राविधिका वासर ड्रायर र सेमी अटोमेटिक मेसिन पनि उपलब्ध छन् ।

सामसङका अनुसार नयाँ प्राविधिक वासिङ मेसिनका इको बबल प्रविधिले कठिन भन्दा कठिन दागहरु हटाउने र हाइजिन् स्टीमले ९९.९९ प्रतिशत किटाणुहरु मार्ने छ । केही वासिङ मेसिनमा एडवास सुविधा छ, जसले मेसिनमा हाल्न छुटेका कपडाहरु धोइरहेको समयमै राख्न मिल्छ ।

यस विशेषताले समय, पानी र ऊर्जा बचत हुन्छ । सामसङ वासिङ मेसिनहरुमा १ वर्षको पूर्ण वारेन्टी र डीआइटी कम्प्रेसरमा १० वर्षको वारेन्टी हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वासिङ मेसिनको खरिद गर्ने ग्राहकहरुले नि:शुल्क जडान सेवाको फाइदा पाउने छन् ।


प्रकाशित : मंसिर २३, २०७८ १९:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×