३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

साना तथा मझौला उद्योगका उत्पादनलाई दराजमा नि:शुल्क सेवा

काठमाडौँ — साना तथा मझौला उद्योग (एसएमईज)का उत्पादनले अब अनलाइन बजार दराजमा नि:शुल्क सेवा पाउने भएका छन् । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र अनलाइन दराजबीच यसबारे सम्झौता भएको हो । सम्झौतापत्रमा एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छा र दराजका प्रबन्ध निर्देशक लिनो अहलरिङले हस्ताक्षर गरे । 

साना तथा मझौला उद्योगका उत्पादनलाई दराजमा नि:शुल्क सेवा

यो सम्झौताले साना तथा मझौला उद्योगका उत्पादनहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ग्राहकसम्म सहजरूपमा पुर्‍याउने महासंघको भनाइ छ । महासंघसँग जोडिएका साना तथा मझौला उद्यमीहरूलाई दराजको अनलाइन सपिङमा एकीकृत गरी उनीहरूका उत्पादनलाई दराजमार्फत विक्रीवितरण हुने छ । व्यापक ई–कमर्स प्रशिक्षण तथा शिक्षा दिने र दर्ता र अनलाइन पसल स्थापनामा दराजले सहयोग गर्नेछ भने महासंघले आफ्नो नेटवर्कमार्फत सबै एसएमइज उत्पादनलाई दराजको अनलाइन सपिङमा जोड्न पहल गर्नेछ ।

एफएनसीसीआई र दराज बीचको सम्झौताअनुसार दर्ता भएका साना तथा मझौला उद्योगले एक वर्षको लागि दराजको अनलाईन सपिङमा नि:शुल्क डिस्प्लेको सुविधा पाउनेछन् । जनवरी २०२२ देखि डिसेम्बर २०२२ सम्म एसएमईजको लागि कुनै शुल्क लाग्ने छैन । साथै आवश्यक प्रचार, दृष्य सामग्रीको सुविधा पाउनेछन् । सम्झौता अनुसार साना तथा मझौला उद्योगहरूलाई आफ्नो अनलाइन व्यापार वृद्धि गर्नको लागि सही शिक्षा र सीपहरू दराजले प्रदान गर्नेछ । यसले एसएमईज बिक्रेता तथा ग्राहकलाई एकै ठाउामा ल्याउन मद्दत पुग्नेछ ।

हाल दराजले काठमाडौं, पोखरा, विराटनगर, भरतपुर, वीरगन्ज, जनकपुर, बुटवल, धनगढी र बिर्तामोडका १२ हजारभन्दा बढी बिक्रेतालाई सेवा प्रदान गरिरहेको छ । यी बिक्रेताहरूले नेपालका ४७ भन्दा बढी सहरमा आफ्ना उत्पादन तथा सेवा प्रदान गरिरहेका छन् । सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले दराजसँगको सहकार्य एसएमईजको पुनरूत्थानमा कोशेढुंगा हुने बताए । गोल्छाले यो अवसरको भरपुर लाभ उठाउन पनि साना उद्यमीहरूलाई आग्रह गरे ।

नेपालका अन्य क्षेत्रबाट थप बिक्रेताहरूलाई दराजमा भित्र्याउन र व्यवसायिक सफलता हासिल गर्न सहयोग पुग्ने दराजका प्रवन्ध निर्देशक लिनो अलरिङ्गले बताए । ‘एसएमईज क्षेत्रलाई अझै धेरै सहयोगको खाँचो छ त्यसैले हामी नेपालभरका साना व्यवसायहरूको सशक्तीकरणका लागि काम गरिरहने छौं’ उनले भने ।

प्रकाशित : मंसिर २३, २०७८ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?