२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

पहिलो ४ महिनामा २ अर्ब बढी राजश्व संकलन

नारायण शर्मा

पूर्वी नवलपरासी — आन्तरिक राजस्व कार्यालय पूर्वी नवलपरासीले चालु आर्थिक वर्ष २०७८ र ७९ को पहिलो चौमासिकमा भन्दा २ अर्ब बढी राजस्व असुली गरेको छ । प्रमुख कर अधिकृत टेक बहादुर अर्यालका अनुसार चालु आवको प्रथम चौमासिकमा लक्ष्यभन्दा १ अर्ब ९४ करोड ८९ लाख बढी राजस्व असुली गरेको हो ।

५ अर्ब ८१ करोड ४२ लाख ६६ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकोमा ७ अर्ब ७६ करोड ३१ लाख ७१ हजार राजस्व संकलन गर्न सफल भएको अर्यालले जानकारी दिए । कार्यालयले सबैभन्दा बढी राजस्व अन्तःशुल्क शीर्षकमा असुली गरेको छ ।

प्रथम चौमासिकमा अन्तःशुल्क शीर्षकमा ५ अर्ब ५६ करोड ५२ लाख ४८ हजार राजस्व असुली गर्ने लक्ष्य लिएको कार्यालयले ७ अर्ब ४८ करोड ९४ लाख ८६ हजार राजस्व सङ्कलन गरेको हो ।

आयकर शीर्षकमा १३ करोड ९७ लाख ८७ हजार, मूल्य अभिवृद्धि कर भ्याट शीर्षकमा ९ करोड ८८ लाख १२ हजार, ब्याज शीर्षकमा रु एक करोड ७६ लाख १८ हजार, स्वास्थ्य सेवा शीर्षकमा १ करोड आठ लाख ७० हजार, घरबहाल कर शीर्षकमा ६५ लाख ३५ हजार तथा शिक्षा शीर्षकमा ६३ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले स्वास्थ्य सेवा शीर्षकमा लक्ष्यको तुलनामा ३९२ प्रतिशत, आयकरमा लक्ष्यको तुलनामा १५३ प्रतिशत र अन्तःशुल्क शीर्षकमा १३४ प्रतिशत प्रगति हासिल गरेको छ । यसैगरी घरबहाल कर, ब्याज, मूल्य अभिवृद्धि कर र शिक्षा शीर्षकमा भने कार्यालयले लक्ष्यअनुसारको प्रगति भेटाउन नसकेको अर्यालले बताए ।

कार्यालयले घरबहाल करमा ८९ प्रतिशत, मूल्य अभिवृद्धि करमा ८० प्रतिशत, ब्याजमा ७५ प्रतिशत र शिक्षामा तीन प्रतिशत प्रगति हासिल गरेको छ । गण्डकी प्रदेशका ११ जिल्लामा सबै भन्दा बढी राजश्व संकलन गर्ने जिल्ला पूर्वी नवलपरासी हो ।

प्रकाशित : मंसिर २३, २०७८ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?