२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

साढे ६ वर्षमा सम्पदा पुनर्निर्माण ६४ प्रतिशत मात्रै

९३ प्रतिशत सरकारी भवन ठडिए । निजी घर, स्वास्थ्य संस्था र विद्यालयतर्फ क्रमशः ७४, ६५ र ८८ प्रतिशत मात्रै पुनर्निर्माण ।
नुमा थाम्सुहाङ

काठमाडौँ — भूकम्प गएको साढे ६ वर्षमा सम्पदा पुनर्निर्माण ६४ प्रतिशत मात्रै पूरा भएको छ । २१ प्रतिशत सम्पदा निर्माणाधीन र बाँकी १५ प्रतिशतको निर्माण नै सुरु भएको छैन । २०७२ वैशाखको भूकम्पले ९ सय २० वटा सम्पदामा क्षति पुर्‍याएको थियो ।

साढे ६ वर्षमा सम्पदा पुनर्निर्माण ६४ प्रतिशत मात्रै

सरकारी भवन र खानेपानी संरचनाको पुनर्निर्माण भने लगभग सकिने क्रममा छ । निजी आवास, विद्यालय भवन, स्वास्थ्य संस्था, पुरातात्त्विक सम्पदा, सडक तथा पुल निर्माणको काम भने अझै बाँकी छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बुधबार आजोजना गरेको ‘नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।

सरकारी भवनतर्फ ५ प्रतिशतको पुनर्निर्माण जारी रहँदा २ प्रतिशतको मात्रै निर्माण थाल्न बाँकी छ । ९३ प्रतिशत सरकारी भवन ठडिइसकेका छन् । निजी आवासतर्फ ९ र स्वास्थ्य संस्थातर्फ ५ प्रतिशत पुनर्निर्माण सुरु नै भएको छैन । भूकम्पले ८ लाख २९ हजार ६ सय ६७ निजी घरधुरीमा क्षति पुर्‍याएको थियो ।

१७ प्रतिशत घर बन्ने क्रममा छन् । ७४ प्रतिशत घर बनिसकेका प्राधिकरणले जनाएको छ । यस्तै, १ हजार १ सय ६४ वटा स्वास्थ्य संस्थाका भवन ढलेकोमा ६५ प्रतिशत भवन ठडिइसकेका छन् । प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार बाँकी पुनर्निर्माणको काम चालु आर्थिक वर्षभित्रै थालिनेछ ।

विद्यालय भवन पुनर्निर्माण अझै १२ प्रतिशत बाँकी छ । भूकम्पले ७ हजार ५ सय ८३ वटा विद्यालय भवनमा क्षति पुर्‍याएको थियो । ७ सय ६४ किलोमिटर सडकमध्ये १४ प्रतिशत निर्माणको क्रममा छ । १५ वटा पुलमा क्षति पुगेकोमा ४२ प्रतिशत पुल निर्माणाधीन छन् ।

बाँकी पुनर्निर्माण नियमित कार्यक्रमबाट

अर्थमन्त्री जनार्दन शर्माले भूकम्पपछिको पुनर्निर्माणका बाँकी कामहरू नियमित कार्यक्रममा राखेर सम्पन्न गरिने बताएका छन् । पुनर्निर्माण प्राधिकरणको समयावधि सकिनै लाग्दा बुधबार काठमाडौंमा आयोजना गरिएको सम्मेलनमा अर्थमन्त्री शर्माले पुनर्निर्माणअन्तर्गत निजी आवासको काम चालु आवमै सम्पन्न गर्ने गरी सहरी विकास मन्त्रालयलाई जिम्मेवारी हस्तान्तरण गरिएको बताए ।

‘भूकम्पले भत्काएका स्वास्थ्य संस्था, विद्यालय, सरकारी र पुरातात्त्विक संरचनाहरू सरकारका नियमित कार्यक्रममा राखी प्राथमिकतासाथ निर्माण गरिनेछ,’ उनले भने । विपद् व्यवस्थापनसम्बन्धी कार्यहरू विपद् व्यवस्थापन प्राधिकरणमार्फत सम्पन्न गर्ने व्यवस्था मिलाइएको उनले उल्लेख गरे ।कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले ठूलो पाठ सिकाएको बताइन् । ‘हाम्रो मुलुक धेरै भूकम्प आउनेभित्र पर्छ, यसलाई बदल्न सकिँदैन,’ उनले भनिन्, ‘भूकम्पले ठूलो विपत्मा पार्‍यो । तर हामीले भोग्नुपरेको क्षति हामीले निर्माण गरेका कमजोर संरचनाका कारण भएको रहेछ भन्ने सिकाइ नै ठूलो पाठ हो ।’

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणमा हासिल गरेको प्रगतिसम्बन्धमा कार्यपत्र प्रस्तुत गरे । सम्मेलनमा भारतका विदेशमन्त्री एस जयशंकर, चीनका विदेशमन्त्री वाङ यी, बेलायतको एफसीडीओका मन्त्री लर्ड अहमद, जापानका विदेश मामिलासम्बन्धी संसदीय राज्यमन्त्री होन्डा तारोले रेकर्डेड सन्देशमार्फत शुभकामना व्यक्त गरे ।

भारत र चीनका विदेशमन्त्रीद्वारा प्रशंसा

नेपालले गरेको पुनर्निर्माण कार्यको भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीले प्रशंसा गरेका छन् । जयशंकरले पुनर्निर्माणमा भारतीय सहयोगमा भएको कामलाई लिएर प्रशंसा गरेका थिए । उनले सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै भारतले यूएनडीपी र यूएनओपीएससँग मिलेर नुवाकोट र गोरखामा ५० हजार घर निर्माण गरेको उल्लेख गरे । उनले नेपालले सबै मुलुकलाई समेटेर गरेको पुनर्निर्माणको समेत प्रशंसा गरेका थिए ।

चिनियाँ विदेशमन्त्री वाङले पनि सम्मेलनलाई भर्चुअल रूपमा सम्बोधन गर्दै चीनले एक सहयोगी छिमेकीका रूपमा ‘नेपाल–चीन संयुक्त भाग्य समुदाय’ निर्माणका लागि ३ बुँदे प्रस्ताव प्रस्तुत गरे । उनले कोभिड–१९ महामारी प्रतिरोधी सहयोग, भूकम्पपछिको पुनरुत्थान र बीआरआई परियोजनाको गुणस्तरीय विकासमा जोड दिए । चीनले विकास साझेदारका रूपमा नेपालसँग हातमा हात मिलाएर महामारी प्रतिरोधी तथा आर्थिक पुनरुत्थानमा सहकार्य गर्दै जानेसमेत प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित : मंसिर २३, २०७८ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?