कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

एपेक्स र नेक्स्ट भेन्चरबीच एमओयू, विद्यार्थीलाई उद्यमशीलतामा प्रोत्साहन गर्न १ करोडको कोष स्थापना

काठमाडौँ — एपेक्स कलेज प्रालि र एमएनएस नेक्स्ट भेन्चर कर्पबीच युवा उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि ‘स्टार्टअप सेन्टर’ स्थापना गर्ने विषयमा समझदारी (एमओयू) भएको छ । साथै स्टार्टअप सेन्टरका लागि १ करोड रुपैयाँको कोष खडा गरिएको छ । कलेजका सहायक निर्देशक डा. किशोर ढुंगाना र कर्पका प्रबन्ध निर्देशक कविराज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

एपेक्स र नेक्स्ट भेन्चरबीच एमओयू, विद्यार्थीलाई उद्यमशीलतामा प्रोत्साहन गर्न १ करोडको कोष स्थापना

एपेक्सका विद्यार्थी र पूर्व विद्यार्थीलाई तिनले शुरू गरेका नवउद्यम वा व्यवसायिक परियोजनाहरूमा सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको जोशीले बताए । कलेजका विद्यार्थी र आलुम्नाई (पूर्वविद्यार्थी)लाई व्यवसायसम्बन्धी सुझाव र जानकारी दिँदै तिनलाई आवश्यक संसाधन र लगानी जुटाइदिन स्टार्टअप सेन्टर महत्वपूर्ण हुने ढुंगानाको भनाइ थियो । आफूहरूले नवउद्यमशीलतालाई सधै प्राथमिकतामा राख्दै आएको उनले बताए ।

‘कलेजको ओरियन्टेसन प्रोग्राम (परिचयात्मक कार्यक्रम) मा नै हामी विद्यार्थीलाई विभिन्न ठाउँको बजार भ्रमण गरेर त्यहाँको समस्या पहिचान गरी समाधानका लागि बिजनेस आइडिया प्रस्तुत गर्न भन्छौं,’ ढुंगानाले भने, ‘शुरुदेखि नै विद्यार्थीमा व्यावसायिक दृष्टिकोण निर्माण गर्नका लागि यस्तो गरिएको हो ।’

एपेक्समा आन्टरप्रेनियर डेभेलप्मेन्ट प्रोग्राम, एपेक्स टक्स म्यानेजमेन्ट जस्ता कार्यक्रममार्फत् विद्यार्थीलाई उद्यमशिलतामा प्रोत्साहन गर्ने गरिएको पनि उनले जानकारी दिए । हाल कलेजमा अध्ययनरत करिब २ हजार विद्यार्थी र ५ हजार पूर्वविद्यार्थीले सेन्टरमार्फत् आफ्नो व्यापारिक परियोजनालाई मूर्त दिन सक्ने कर्पका जोशीले बताए । ‘कलेजका फ्याकल्टी र कर्पका १५० भन्दा बढी मेन्टरले विद्यार्थी उद्यमीलाई पथप्रदर्शन र स्रोत–साधनमा सहयोग गर्नेछन्,’ उनले भने, ‘वास्तविक उद्यमी उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।’

यस कार्यक्रममार्फत् कलेजका विद्यार्थीले आजीवन साथ र सहयोग पाउने बताइएको छ । उनीहरूलाई व्यवसायको लागि उत्प्रेरणा र जानकारी दिन मासिक रूपमा ‘एपेक्स वान ओ वान’ कार्यक्रम आयोजना हुने जोशीको भनाइ थियो ।

‘राम्रो सम्भावना भएका परियोजना प्रस्तुत गर्ने विद्यार्थी वा विद्यार्थी समूहलाई तीन महिना लामो बुट क्याम्पमा सहभागी गराइनेछ,’ जोशीले भने, ‘त्यसमा उनीहरूको व्यवसायलाई कसरी अघि बढाउने भन्नेबारे विज्ञहरूले मेन्टरिङ गर्नेछन् ।’ बुट क्याम्पपछिको डेमो डे हुने छ । कलेजका फ्याकल्टी, पूर्वविद्यार्थी वा अन्य व्यवसायीले परियोजनामा लगानी गर्न सक्नेछन् । ‘लगानी नपाएका स्टार्टअपहरूलाई फन्डमार्फत् अगाडि बढाइनेछ,’ उनले भने, ‘विद्यार्थी लक्षित यस्तो कार्यक्रम र कोष नौलो प्रयास हो ।’


प्रकाशित : मंसिर २१, २०७८ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?