३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

खरिद बिल नदेखाउने वीरगन्जका ७ वटा फर्मलाई जरिवाना

भूषण यादव

वीरगन्ज — अनुगमनको क्रममा खरिद बिल नदेखाउने वीगन्जका सातवटा फर्मलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले जरिवाना गरेको छ ।

खरिद बिल नदेखाउने वीरगन्जका ७ वटा फर्मलाई जरिवाना

वीरगन्ज महानगरपालिकाको बजार क्षेत्रमा रहेका फर्महरूले अनुगमनको क्रममा सहयोग नगरेको तथा खरिद बिल नदेखाएको कार्यालयले जनाएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण र जिल्ला प्रशासन कार्यालयको संयुक्त नेतृत्वमा प्रहरी, वीरगन्ज उद्योग वाणिज्य संघ, कन्जुमर आई नेपालका प्रतिनिधिसहितको अनुगमन टोलीले मंगलबार बजार अनुगमन गरेको हो।

अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम कसुर गरेकोले सोही ऐनको दफा ३९ बमोजिम फर्महरूलाई ५ हजारदेखि १० हजार रुपैयाँसम्म तत्काल जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकार दिलिप खंग खत्वेले जनाए ।

खत्वेका अनुसार वीरगन्ज– १३ स्थित न्यू गेजेटस जोन, वीरगन्ज– १० मा रहेको बालाजी डिपार्टमेन्टल स्टोर्स, वीरगन्ज– ७ रेशमकोठीमा रहेको न्यू मेलोडी, रुची सपिङ सेन्टर, राईट च्वाइसले अनुगमन टोलीलाई खरिद बिल देखाउन सकेका थिएनन् ।

खरिद बिल देखाउन नसकेका फर्मलाई जनही १० हजार रुपैयाँ जरिवाना गरिएको खत्वेले जनाए । यस्तै अनुगमन कार्यमा असहयोग गरेका नेपाल म्युजिक सेन्टरलाई १० हजार र कादमिया स्टोर्सलाई सात हजार रुपैयाँ जरिवाना गरिएको छ । जरिवाना रकम सात दिनभित्र बैंकमा जम्मा गरी भौचर कार्यालयमा पेश गर्न निर्देशन दिएको उपभोक्ता संरक्षण कार्यालयका खत्वेले जनाए ।

प्रकाशित : मंसिर २१, २०७८ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?