कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

‘युवा आऊ भनिन्छ, आउन खोज्दा राेक्न खाेजिन्छ’ 

काठमाडौँ — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि अगामी बिहीबार निर्वाचन हुँदै छ । अध्यक्ष पदमा हालका उपाध्यक्ष करण चौधरी र कार्य समिति सदस्य ध्रुव थापा प्यानलसहित उम्मेदवारी घोषणा गर्दै चुनावीमा मैदानमा उत्रिएका छन् । अध्यक्षका प्रत्याशी चौधरीका चुनावी एजेन्डा, अटोमोबाइल्स क्षेत्रका मुद्दाहरू र सहमतिको सम्भावनाबारे इकान्तिपुरका लागि कृष्ण आचार्य र विमल खतिवडाले गरेको कुराकानीको सम्पादित अंश :

‘युवा आऊ भनिन्छ, आउन खोज्दा राेक्न खाेजिन्छ’ 

अध्यक्षमा उम्मेदवारी दिँदैहुनुहुन्छ, केका लागि तपाईंको उम्मेदवारी ?

म पहाडै ढाल्छु भन्दिनँ । कोभिडले आज सबै क्षेत्र मार पारेको छ । व्यवसायीको गास, बास र कपासमा असर गरेको छ । मानिसको दैनिक जीवनमा ठूलो असर पुर्‍याएको छ । आज मान्छे बाँच्ने किन भन्ने प्रश्न उब्जाएको छ । व्यवसाय धराशायी छ । त्यसमाथि ‘ओमिक्रोन’ भाइरसले कस्तो असर गर्ने हो, थाहा छैन । आज ८/९ लाख मान्छे अटो क्षेत्रमा काम गर्छन् । उनीहरूलाई के गर्न सकिन्छ, त्यसतर्फ सोच्नुपर्ने छ । अहिलेसम्म नाडामा उपाध्यक्षको हैसियतमा बसेको छु । तर सम्पूर्ण जिम्मेवारी मेरो हातमा आइपुगेको छैन । सीजी होल्डिङ्समा मैले नेतृत्व गरेको अलि समय भयो । कोभिड सुरु भएको दुई वर्ष भयो । यो समयमा आजसम्म यहाँ काम गर्ने र उनीहरूको परिवारलाई मर्न दिएको छैन । मेरो व्यावसायिक एजेन्डा भने एउटा मात्र छ । आज नाडालाई कसरी ‘प्रडक्टिभ’ बनाउन सकिन्छ भन्ने हो । अटोमोबाइल व्यवसाय आज टायर, ट्युब, ब्याट्री सबै पार्ट्सलाई ‘प्रडक्टिभ’ हिसाबले कसरी अघि लग्न सकिन्छ भन्ने नै मेरा मुख्य एजेन्डा हुनेछ ।

अटोमोबाइल उद्योग ठूलो र सर्वसाधरणसँग जोडिएको छ । निजी सवारीदेखि सार्वजनिक यातायातसम्म यसैभित्र पर्छन्, यससँग सम्बद्ध मुद्दा छैनन्, व्यवसायीका हिसाबले तपाईंहरूले पनि उठाउनुपर्दैन ?

अटोमोबाइल क्षेत्रलाई प्रोडक्टिभ हिसाबमा राख्नुका साथै व्यवसायीमा आइपर्ने समस्या सरकारको हरेक अंगबाट समाधान हुने छ । कहिलेकाहीँ हेर्ने दृष्टिकोणले कर्मचारीतन्त्रलाई नै परिर्वतन गरिरहेको हुन्छ । अहिले जल्दोबल्दो विषय भनेको भन्सारको सन्दर्भमूल्यसूचीको छ । त्यसमा मोटर पार्ट्हरूको एउटा सन्दर्भ मूल्य तोकिएको छ । त्योभन्दा कममा लिएर आए पनि त्यत्तिमै भन्सार छुटाउनुपर्छ । हाम्रो दृष्टिकोण अझै पनि अटोमोबाइल भनेको अनुत्पादक क्षेत्र हो भन्ने छ । अरु विविध समस्या पनि यस क्षेत्रमा छन् । म यसको जडबाटै समाधान गर्न लागिपरेको छु ।

धेरैजसो व्यवसायीले उठाउने मुद्दा करको हो, यसबारे तपाईको धारणा के छ ?

करमा पनि आजको दिनमा कुनै न कुनै शाखामा एउटा–एउटा संकुचित कर्मचारी भेटिन्छन् । उनीहरु कसैले पनि हामीलाई यिनी हाम्रा करदाता हुन्, देशलाई सहयोग गरिरहेका छन्, यिनीहरुको काम छिटो गरिदिनुपर्छ भन्दैनन् । हामीमा समस्या छ भने त्यसलाई देखाइदिनुपर्‍यो । होइन भने काम गर्न सजिलो बनाइदिनुपर्‍यो । सवारी आयातमा तीन सय प्रतिशतसम्म कर लिइन्छ । त्यो बेलामा हामीले सरकारलाई झकझक्याउन सकेनौं । कत्तिको महत्वपूर्ण छ छैन भनेर बुझाउन सकेनौं । आजसम्म विभिन्न क्षण र चरणमा कुरा गर्दा जहिले गाडी आयातको कुरा हुन्छ, सन्दर्भ मूल्यसूचीले गर्दा कति गाडीका पार्ट्स अड्किराखेका छन् । यो सबैभन्दा गहन विषय हो । नाडामा रहँदा मेरो मुख्य काम व्यवसायीका ससाना समस्या समाधान गर्ने हुन्छ ।

पछिल्लो समय इलेक्ट्रिक भेहिकलले बजार लिँदै छ, यसलाई कसरी अघि लैजानुपर्ला ?

इलेक्ट्रिकल भेहिकलभन्दा पनि आजकल इलेक्ट्रिफिकेसनमा गइरहेका छौं । अबको भविष्य भनेकै इलेक्ट्रिफिकेसन हो । यसका लागि नाडाले सोच्ने भनेको विस्तारै इलेक्ट्रिक सवारीका लागि आवश्यक पूर्वाधार बनाउने, चार्जिङ स्टेसन राख्ने आदि विषय हुन् । सरकारले पनि बढी लागत लगाउनुपर्दैन यसमा । यसमा नाडाले काम गरिरहेको छ । हामी इलेक्ट्रिक भेहिकलबाट अहिलेको परिप्रेक्ष्यमा खासै धेरै अपेक्षा नराखौं । संसारमा सबैभन्दा धेरै इलेक्ट्रिक भेहकल बिक्री हुने देश भनेको नर्वे हो, जुन देशमा ३८ दशमलव ७ प्रतिशत उपभोक्ता यस्ता सवारी चढ्छन् । नेपाल टप फिप्टिनमा छिरिसकेको छ । नेपालका लागि यो ठूलो उपलब्धि हो । तर हाम्रो मुख्य फोकस भनेकै पूर्वाधार बनाउनेमै छ ।

पेट्रोलियम गाडी बेच्नमै तपाईंहरू रमाइरहनुभएको छ, इलेक्ट्रिकमा त्यति चासो दिनुहुन्न भन्ने आरोप छ नि ?

यो आरोप सही भएको भए नाडाले इलेक्ट्रिक भेहिकलमा कर बढी भयो भनेर किन कुरा उठाउँथ्यो ? म आफैं पनि तत्कालिन अर्थमन्त्री युवराज खतिवडासँग विद्युतीय कर धेरै भयो भनेर बारम्बार गएँ । यति धेरै कर बढ्नु भनेको इलेक्ट्रिफिकेसनको विपरीत हो ।

मोफसलका व्यवसायीका मुद्दा तपाईं धेरै बुझ्नुहुन्न, छलफलमा हुनुहुन्न भनिन्छ, तपाईं नाडाको अध्यक्ष बन्दा उहाँहरूलाई थप समस्या त हुँदैन ?

मोफसललाई नबुझ्ने, प्राथमिकता नदिने, महत्त्व नदिने भएको भए नाडा सात प्रदेशमा जाँदैनथ्यो । प्रदेश संरचना बढ्दै बढ्दैनथ्यो । मैले मोफसललाई महत्त्व नदिने भएको भए मेरो मुख्य एजेन्डा मोफसलको कार्यान्वयन, कार्यविधि कार्यान्वयन गराउने मेरो एजेन्डा हुने थिएन । सबै कुरा आज केन्द्रबाट हुने भएको भए प्रदेश संरचना किन बनाउनु ? म अध्यक्ष भएँ भने सबै प्रदेशका अध्यक्षज्यू मेरो भनाइ याद राखिराख्नुस्- नाडाको हितमा काम गर्न आगामी दुई वर्षको दौडधुप साह्रै हुनेवाला छ ।

नाडामा छिर्नै पनि स–साना व्यवसायीलाई समस्या छ, धेरैलाई समेट्न सक्नुभएको छैन, सिन्डिकेट छ पनि भनिन्छ नि ?

त्यो म मान्दिनँ । किनभने ९ सय ६४ बाट आज ३२ सय सदस्य पुगेका छन् । यत्ति संख्या निर्वाचनकै लागि पुग्यो कि भन्नेहरु पनि छन् । निर्वाचनका लागि मात्र पुगेको होइन, यसो नगरिएको भए सातै प्रदेशको उपस्थिति कहाँ हुन्थ्यो ? सबैको सहभागिता गराउनुपरेन । साना, मझौला, उद्योग, आयातकर्ता, डिलर र मोफसलको सहभागिता राम्रो छ । मेरो १७ जनाको टिम पनि सबैलाई समेट्ने गरी बनाएको छु । हरेक क्षेत्रबाट सबैको प्रतिनिधित्व हुने गरी टिम बनाएको छु । आगामी दिनमा हामी उद्योगको युगमा जाँदै छौं । हामी नेपालमै सवारी एसेम्ब्लिङ र उत्पादनमा जाँदै छौं ।

नाडामा करिब ३२ मात्र सदस्य हुनुहुन्छ, देशभर डिलर्सहरू १०/११ हजारको संख्या छन्, उनीहरु छुटेनन् त ?

आज नाडाले कसैलाई सदस्य बनिदिनुस् भनेर जाँदैन । सबैलाई प्रदेश तहबाट समेट्ने हो । नाडाको विधानमा नाडाको सदस्य हुन पहिला प्रदेशबाट सिफारिस आउनुपर्‍यो । सबैभन्दा धेरै सदस्य बनाउनु भनेकै आजको दिनमा नाडाको शक्ति, गरिमा बढ्नु हो । यो पटक ९ सयबाट ३२ हुनु नै ठूलो फड्को हो । ९ सयबाट १० हजार भएको भए ठूलै समस्या हुन्थ्यो होला ।

नाडा भनेको दसैंअघि नाडा अटो सो गर्ने, आफ्ना मौज्दात सवारी विभिन्न स्किम राखेर बिक्री गर्ने र खास अरु गतिविधि नगर्ने भन्ने आम बुझाइ छ, यसमा के भन्नुहुन्छ ?

हामीले यत्ति मात्र गरेका छैनौं, अरु गतिविधि पनि नाडाले गरिरहेकै हुन्छ । ट्राफिक जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएका छौं ।

नाडा अटो सो नै दुई वर्षदेखि रोकिइरहेको छ, यसलाई तपाईंहरू कसरी अघि बढाउँदै हुनुहुन्छ ?

ठूलो गहन अध्ययनपछि रोकिएको हो । केही पहिला हामीले आगामी फेब्रुअरीमा गर्ने भनेका थियौं । यसबीचमा विदेशमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखापर्‍यो । यसले नेपालमा असर गर्छ गर्दैन, कसैलाई थाहा नहुँदा अटो सोलाई सेप्टेम्बरमा सारेका छौं । व्यवसाय भनेको सबैको गाँस बचाउने बाटो हो । त्यसैले गाँस बचाउनुभन्दा पहिला मान्छे सुरक्षित हुनुपर्छ । नाडाले कसैलाई पनि जोखिममा राखेर कुनै पनि इभेन्ट्स गर्दैन । यो इभेन्ट्स सोहार्दपूर्ण वातावरणमा सबै सुरक्षित हुने भएपछि मात्र हुनेछ ।

कोभिडका कारण समग्र अटोमोबाइल्स इन्डस्ट्रीमा कस्तो परिवर्तन भएको छ ?

व्यवसाय आफ्नो ठाउँमा छ, सबैभन्दा ठूलो कुरा म आफैं बाँचिनँ भने यो सारा सिर्जना गरेर के गर्ने भन्ने जीवनबोध यसले सिकाएको छ ।

एसेम्बल उद्योगमा हामी बामे सर्दै छौं, तपाई आफैंले पनि एसेम्बल उद्योग सुरु गर्न खोजिरहनुभएको छ, यस विषयमा विद्यमान नीति नियम र हाम्रो अवस्था के छ ?

नेपालमा दुईपांग्रे सवारी एसेम्ब्लिङ भइरहेको छ । टायरको पनि उत्पादन सुरु भइसकेको छ । ब्याट्रीको सुरु हुदै छ । लुब्रिकेन्ट्स त पहिलादेखि नै भइरहेको छ । मुख्य चर्चाको विषय नै चारपांग्रेको हो । गाडी सस्तो पाइन्छ भन्ने हिसाबले यो विषय चर्चामा आएको हो । तर कार्यविधि र नियम अहिलेसम्म प्रस्ट्याइएको छैन । यो नहुनु ठूलो विडम्बना हो । सरकारका लागि एसेम्ब्लिङ भनेकै रोजगारी सिर्जना गर्नुपर्‍यो, विदेशी मुद्रा बाहिर जानुभएन । नेपालीले नेपालमै उत्पादित गाडी चढ्न पाउनुपर्‍यो भन्ने हो । तर यसमा आवश्यक पूर्वाधार खै ? यसमा हामीले काम गर्नु छ । सरकारले पनि उदार मनले सोचिदिनुपर्ने छ । गाडीलाई १० वटा पार्टमा ल्याएर यहाँ जोड्नु कुनै ठूलो विषय होइन ।

सरकारले एसेम्बल उद्योगलाई कर छुटदेखि लिएर विभिन्न सुविधा दिएको छ, भइदिनुपर्ने के त ?

के गाडीको सिट मात्र ल्याएर राख्दा एसेम्बल हुन्छ ? टायर खोलेर ल्याएर जोडे पनि एसेम्बल हुन्छ ? सरकारले गर्न खोजेको के हो ? मैले आजको नियमलाई टेकेर ल्याउने भए ऐना मात्र ल्याएर जोडियो भने पनि एसेम्बल हुन्छ । हामीले गर्न खोजेको त यस्तो होइन नि ।

सरकारले व्यवसायीलाई कर छुट पनि दिएको छ, कतिपय अवस्थामा सहजीकरण पनि गरिदिएको छ, यहाँ उत्पादन गरेपनि ‘भ्यालु एड’ भएन, उपभोक्ताले पनि छुट पाएनन्, यो मुद्दा त सशक्त रुपमा आएको छ नि ?

सिकेडी र एसकेडीमा गएर खोजेको चिज केही पनि पाइँदैन । नेपालमा एसेम्बल हुन थाल्यो भनेर राम्रो कुराको विज्ञापन गरेको मात्र हो । नेपाली टायर, लुब्रिकेन्ट, नेपाली मेटलबाट बनेको नटबोल्ट प्रयोग गर्नुपर्छ, गाडीको फ्रेम त्यसरी बनाउनुपर्छ । त्यो बन्यो भने तब हामी भन्न सक्छौं— नेपालमा बनेको गाडी । त्यो बेलामा बल्ल सस्तो पनि पर्छ । जनशक्ति पनि बढी प्रयोग हुन्छ । नेपालकै मान्छेले जागिर पाउँछन् । यसमा महत्त्वपूर्ण भूमिका सरकारको रहन्छ । तर अझै पनि सरकारले प्रस्ट्याउन सकेको छैन ।

यी मुद्दाबारे नाडामा रहेर तपाईंले भविष्यमा सरकारसँग कसरी यसमा सहकार्य गर्नुहुन्छ ? योजना के छन् ?

आजको भोलि गर्न सकिने काम होइन यो । यसमा एक जनाले मात्र गर्नेभन्दा पनि सबै एकसाथ अघि बढ्नुपर्छ । नियमहरू बनाउँदै जानुपर्छ । म अध्यक्ष भएपछि जुन समिति छ, त्यसलाई राखेर ‘मेड इन नेपाल समिति’ बनाउने योजना छ । त्यो समितिलाई लगेर अर्थमन्त्रीअन्तर्गत पनि समिति बनाएर नियम बनाउन जरुरी छ । अरु पनि विविध योजनासाथ अघि बढ्ने हाम्रो तयारी छ ।

तपाईं आफ्नै उद्योगबाट सवारी उत्पादनको काम कहिले सुरु हुन्छ ?

जुन दिन यो नियम प्रस्टिन्छ । त्यो नियम भरपर्दो र यसले पोस आउने खालको हुन्छ, सीजीले उत्पादन थालिहाल्छ ।

अध्यक्षमा सहमति र उम्मेदवारी फिर्ताको सम्भावना छ ?

सबैभन्दा ठूलो कुरा, मैले निर्वाचनलाई अझै पनि स्विकारिसकेको छैन । निर्वाचनको नियम हो । मैले टिम बनाउनुपथ्र्यो, त्यो गरें । अन्तिम घडीसम्म केही न केही सहमति आयो भने भोट हाल्नुपर्दैन । मेरो तयारी भनेकै सर्वसम्मतितिर नै हो । तर प्रजातान्त्रिक पद्धति त छँदै छ— सक्षम नेतृत्व चयनका लागि उसलाई भोट हाल्नुस् भन्ने । यदि म आफैं पनि सक्षम छैन भने मलाई भोट नगर्नुस् । तर म उम्मेदवारी फिर्ता लिन्नँ । एउटा मेकानिकबाट आएर आज यहाँसम्म आइपुगेको छु । म दाबी गर्छु— म युवा र परिपक्व मान्छेको बीचको व्यक्ति हुँ । नाडालाई नेतृत्व दिन म सक्षम छु ।

अध्यक्षका अर्का प्रत्याशी भन्नुहुन्छ- दुई कार्यकाल उपाध्यक्ष हुनुभयो, अघिल्लो चुनावमा सहमतिका लागि भनेर सदस्यमा बस्नुभयो रे तपाईं, यसपालि उहाँलाई नेतृत्व दिने सहमति थियो रे तपाइहरूबीच ?

आजसम्म मैले वचन दिएको कुरामा पछि हटेको छैन । यो कुरा उहाँले स्विकार्नुहुन्छ भने म बस्न तयार छु । म उपाध्यक्ष हुँदा प्रस्ट रूपमा म अर्को पटक अध्यक्ष बन्नेवाला छु भन्ने थियो । दुई वर्षको अवधिमा उहाँले मसँग कहिल्यै ‘म अध्यक्ष बन्छु’ भन्नुभएन । म अध्यक्षका लागि अगाडि लागेपछि म पनि अध्यक्ष बन्छु भनेर लाग्नुभयो । मेरो एउटै मात्र भनाइ छ— उमेरलाई साइडमा राखेर हेरौं । युवा आऊ आऊ त भनिन्छ । तर आइसकेपछि एकछिन है भन्न त भएन नि ।

प्रतिद्वन्द्वीलाई के भन्नुहुन्छ ?

म प्रतिद्वन्द्वी भनेर कहिल्यै भन्दिनँ । म त अझै पनि सर्वसम्मत नेतृत्व चयन हुनुपर्छ भनेर लागिपरेको छु । प्रतिद्वन्द्वी भन्नासाथ एउटा मनमुटावको वातावरण आउन सक्छ । हामी सबैजना एउटै टिमका हौं । नाडाको चुनाव सकिनासाथ हामी सबै जना एकै ठाउँ बसेका हुन्छौं । एकजुट हुन्छौं ।

याे पनि ‘योगदानलाई हेरेर नेतृत्वमा सहमति गरौं’

प्रकाशित : मंसिर २१, २०७८ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?