कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

हरियो तरकारीमा अचाक्ली मूल्यवृद्धि

प्रदीप मेन्याङ्बो

सुनसरी — कात्तिकको पहिलो साता आएको बेमौसमी वर्षाका कारण पूर्वमा यतिबेला हरियो तरकारी र फलफूलको मूल्य अचाक्ली बढेको छ । धरानस्थित कृषि उपज बजार व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार बेमौसमी वर्षाले फलफूल तथा तरकारी उत्पादनमा असर परेकाले मूल्य बढेको हो ।

हरियो तरकारीमा अचाक्ली मूल्यवृद्धि

पहाड र तराईका किसानले कात्तिक, मंसिर र पुस महिनामा बिक्री गर्नेगरी गरेको खेतीमा बेमौसमी वर्षाका कारण असर पर्‍यो, अहिले त्यसैको असर मूल्यमा परेको उनले बताए । ‘बेमौसमी वर्षाको असरले विगतका वर्षमा भन्दा अहिले उपभोक्ताले दोब्बर मूल्य खर्चेर तरकारी किन्नु पर्ने अवस्था आएको छ’ भट्टराईले भने । सुख्खाजन्य तरकारीको मूल्यमा भने गत वर्षको तुलनामा खासै फरक नपरेको उनले बताए । धरानको कृषि उपज बजारमा दैनिक एक सय मेट्रिक टन बराबर हरियो तरकारीको कारोबार हुने गरेको छ ।

फलफूल तरकारीका खुद्रा व्यवसायी विन्देश्वर चौधरी भन्छन् ‘बर्सेनि किलोमा पाँच-सात रुपैयाँ बढ्नु सामान्य हो, तर यसपटक झण्डै दोब्बर मूल्य भएको छ ।’ उनका अनुसार गत वर्षको तुलनामा मटरकोसामा प्रतिकेजी ३० रुपैयाँले वृद्धि भएको छ । गत वर्ष यही सिजनमा टमाटरको थोक मूल्य प्रतिकेजी ५५ देखि ६० रुपैयाँ थियो । तर यो वर्ष थोक मूल्यमै सय रुपैयाँ पुगेको छ । खुद्रा मूल्य १ सय २० भन्दा बढी पुगेको छ । काउलीको मूल्य गत वर्ष ३५ रुपैयाँ हाराहारी थियो भने यो वर्ष ६० रुपैयाँ पुगेको छ ।

धरान–१५ फुलबारीमार्गकी कोपिला कुलुङले विगतका वर्षमा १ सय रुपैयाँको तरकारी किन्दा पुग्ने गरे पनि अहिले दैनिक २ सय रुपैयाँ खर्च हुने गरेको बताइन् । ‘हरियो सागसव्जी, फलफूल तरकारी किनेर खान नसकिने अवस्था भयो । ५/६ जनाको परिवारलाई विहान र बेलुकाको तरकारीका लागि मात्र दैनिक २ सय रुपैयाँ बढी खर्च हुँदा धान्नै गाह्रो भयो ।’

फलफूल तरकारीको मूल्य करिव दोब्बर भइदिँदा अतिरिक्त आर्थिक भार बढेको र बचत समेत हुन छाडेको धरान–१९ चौकीबारी बस्ने उर्मिला लिम्बुले बताइन् । उनले भनिन्, ‘तरकारी बजारमा घिउसिमी, बोडी, टमाटर, बन्दा, प्याज, एक–एक केजी र एक मुठा साग किन्नलाई ५ सय रुपैयाँले पुग्दैन ।’ उनले विगत वर्षहरूमा बन्दाको मूल्य प्रतिकेजी १० रुपैयाँमै पाइने गरेको तर यो सिजनमा ४० रुपैयाँसम्म दिएर किन्नु परेको बताइन् । यतिबेला धनियाको मूल्य झनै उच्च छ । सय ग्राम बराबर हरियो मुठाको धनिया गत वर्षभन्दा चार गुणाले वृद्धि भएको छ । गतवर्ष २०–२५ रुपैयाँमा किनेर खाएको धनिया यो सिजनमा सय रुपैयाँ पुगेको उनले बताए ।

धरानस्थित कृषि उपज बजारबाट प्राप्त विगत दुई आर्थिक वर्ष र यसै मंसिर पहिलो सातामा हरियो तरकारीको औसत मूल्यसूची

(प्रति केजीमा)

तरकारी

तरकारीको मूल्य २०७६

तरकारीको मूल्य २०७७

तरकारीको मूल्य २०७८

टमाटर

४५

६०

१००

काउली

३०

३५

६०

साग

२५

२८

४० प्रतिमुठा

बन्दा

१५

१८

२६

सिमी

५०

५५

७०

घिउसिमी

६०

६५

११०

चुच्चेकरेला

२८

३०

४०

सुन्तला

१००

१०५

१२५

अकबरे खुर्सानी

३००

३५०

२०० (घटेको)

अदुवा

६०

५०

२२ (घटेको)

तेजपता

६०

५५

४५



प्रकाशित : मंसिर २१, २०७८ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?