शंकास्पद कारोबारको उजुरी ४० प्रतिशत बढ्यो- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शंकास्पद कारोबारको उजुरी ४० प्रतिशत बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो एक वर्षमा वित्तीय क्षेत्रमा शंकास्पद आर्थिक कारोबारको उजुरी करिब साढे ४० प्रतिशत बढेको छ । उक्त अवधिमा शंकास्पद कारोबारको दायरा विस्तार हुनुका साथै गोएएमएललगायत विद्युतीय प्रणालीमार्फत उजुरी गर्न मिल्ने भएपछि संख्या बढेको वित्तीय जानकारी इकाईले बताएको छ । गत आर्थिक वर्षमा कुल १ हजार ५ सय ३३ वटा शंकास्पद कारोबारसम्बन्धी उजुरी परेको इकाईले जनाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो करिब ४०.६४ प्रतिशत बढी हो । आर्थिक वर्ष २०७६/७७ मा यस्तो उजुरी संख्या १ हजार ९० थियो ।

गोएएमएल सम्पत्ति शुद्धीकरणसम्बन्धी कारोबारका लागि विकास गरिएको रिपोर्टिङ प्रणाली हो । यो प्रणालीमा आबद्ध भएपछि कानुनमा तोकिएको सीमाभन्दा धेरै रकम वा गतिविधिसम्बन्धी कारोबार स्वचालित रूपमा वित्तीय जानकारी इकाइमा उजुरीका रूपमा पुगिहाल्छ । पछिल्ला महिनामा शंकास्पद कारोबारको उजुरी बढ्नुमा गोएएमएल प्रणालीमा सरोकारवालाको आबद्धता पनि एक प्रमुख कारण भएको बताइएको छ ।

‘शंकास्पद कारोबारका गतिविधि पनि बढेका छन् । धेरै उजुरी करछली, हुन्डीलगायत पैसा ओसारपसार गर्ने अनौपचारिक माध्यमका छन्,’ स्रोतले भन्यो, ‘अनलाइनमार्फत ठगी, चिट्ठा, बैंकिङ प्रणाली ह्याक गरी हुने चोरीलगायतका कसुर र संगठित अपराध पछिल्ला वर्षहरूमा बढ्दो छ ।’ इकाईमा प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै करछलीसम्बन्धी रहेको बताइएको छ । त्यसपछि सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, हुन्डीलगायत पैसाको अनौपचारिक ओसारपसारलगायत क्षेत्रको उजुरी आउने गरेको स्रोतले बताएको छ । ‘गत आर्थिक वर्षमा प्राप्त कुल शंकास्पद कारोबारका उजुरीमध्ये ३५.७१ प्रतिशत करछलीसम्बन्धी छन्,’ स्रोतले भन्यो, ‘१८.५७ प्रतिशत बैंकिङ कसुर, १६.४३ प्रतिशत सम्पत्ति शुद्धीकरण, १०.७१ प्रतिशत चिट्ठा, जुवातास र दान तथा अनुदानसम्बन्धी उजुरी छन् ।’ प्राप्त कुल उजुरीमध्ये ५ प्रतिशत मात्र मुद्रा, बैंकिङ, वित्त, बिमा, सहकारी तथा अन्य औजारसम्बन्धी उजुरी रहेको बताइएको छ ।

विगतमा बैंक तथा वित्तीय संस्थाले मात्र शंकास्पद कारोबारसम्बन्धी उजुरी गर्दै आएका थिए । पछिल्ला वर्षमा गैरबैंकिङ कारोबार गर्ने व्यवसायलाई पनि समेट्न थालिएको स्रोतले बताएको छ । ‘धितोपत्र, बिमा समिति, सहकारी विभाग मातहतका संघसंस्थाले शंकास्पद कारोबारको उजुरी आउने क्रम बढ्दो छ,’ स्रोतले भन्यो, ‘बिस्तारै रेमिट्यान्स कम्पनी, क्यासिनो, मनी ट्रान्सफरलगायत गैरवित्तीय पेसाकर्मी तथा व्यवसायीलाई पनि प्रणालीमा आबद्ध गराउने योजना छ ।’

प्रकाशित : मंसिर २१, २०७८ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्

गायक अमात्यको जग्गा विवादमा सम्पत्ति शुद्धीकरणको अनुसन्धान

जग्गाको नक्कली कागजात बनाई त्यसलाई बैंकमा धितो राखेर दलालले झिके १९ करोड रूपैयाँ कर्जा
यज्ञ बञ्जाडे

काठमाडौँ — बाराको विश्रामपुरमा रहेको गायक योगेश्वर अमात्यको जग्गा तेस्रो पक्षले कुमारी बैंकमा राखेर हिनामिना गरेका विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालेको छ । फर्जी कागजात बनाएर आफ्नो जग्गा अरू कसैले बैंकमा धितो राखेर कर्जा लिएको भन्दै गायक अमात्यले प्रहरी केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) मा उजुरी दिएपछि उक्त घटना बाहिरिएको हो । त्यसपछि विभागले पनि छानबिन थालेको हो ।

नियमबमोजिम उक्त जग्गासम्बन्धी विवादको सूचना दर्ता भइसकेकाले छानबिन प्रक्रिया सुरु भएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बताएको छ । ‘प्रारम्भिक चरणको छानबिन सुरु भएको छ,’ विभागका सूचना अधिकारी विनोदकुमार दाहालले भने, ‘अन्य सरकारी निकायले पनि अनुसन्धान गरिरहेकाले उनीहरूसँग समन्वय गर्दै अघि बढ्छौं ।’ उक्त जग्गाको नक्कली कागजात बनाएर बैंकमा धितो राखेर १९ करोड रुपैयाँ कर्जा लिएको देखिन्छ । त्यो १९ करोड कहाँ र कसले उपयोग गर्‍यो, सोही प्रक्रियामा सम्पत्ति शुद्धीकरण सम्बन्धमा जारी निर्देशन पालना भए/नभएकोबारे अनुसन्धान गर्ने विभाग स्रोतले बताएको छ ।

यस विषयमा सीआईबीले ५ जना अभियुक्तलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरीले शेषकुमार महर्जन, कुसन प्रधान, मुक्तिलाल गौतम र बैंक कर्मचारी सोनु ठाकुर तथा राजेश चौरासियालाई पक्राउ गरेको छ । सीआईबीको अनुसन्धान सकिएपछि राष्ट्र बैंकको सुपरिवेक्षण विभागले सम्बद्ध कुमारी बैंकमा स्थलगत सुपरिवेक्षण गरेर प्रतिवेदन तयार पारिसकेको छ । यद्यपि प्रतिवेदन गभर्नर र सञ्चालक समितिमा पेस भइसकेको छैन ।

बैंकको कमजोरीका कारण उक्त घटना भएको सुपरिवेक्षण प्रतिवेदनले देखाएको छ । ‘जग्गा बैंकमा धितो राखेर कर्जा लिन सम्बन्धित बैंकले उक्त जग्गा दृष्टि बन्धक गर्छन् । यसरी दृष्टि बन्धकका क्रममा गरिने तमसुकमा स्थानीय नगरपालिकाको छाप लगाइएको छ,’ स्रोतले भन्यो, ‘त्यो ठाउँमा मालपोत कार्यालयको छाप हुनुपर्ने हो । यसले पनि उक्त जग्गा बिक्रीबारे फर्जी कागजात बनाएको पुष्टि हुन्छ ।’ प्रहरीका अनुसार बाराको विश्रामपुरमा गायक अमात्यको १२ बिघा जग्गा छ । उक्त स्थानमा अमात्यले २५ बिघा जग्गा किनेका थिए । पछि १३ बिघा जग्गा विक्री गरेका थिए । बाँकी १२ बिघा जग्गा वोल्भा भूमि वन कम्पनीका नाममा थियो ।

यसका सञ्चालकमा गायक अमात्य र उनकी श्रीमती छन् । उक्त जग्गा बिक्री गर्न स्थानीय जग्गा व्यापारीहरूले पटकपटक आग्रह गर्दै आएका थिए । दलालहरूले धेरै नै सताउन थालेपछि पत्रिकामा सूचना नै निकालेर जग्गा बिक्रीमा नरहेको बताएका थिए । जग्गाको रेखदेख गर्न स्थानीय शिक्षक अशोककुमार पाण्डेलाई जिम्मा लगाएका थिए अमात्यले । एक दिन उक्त जग्गा अरू कसैले बैंकमा धितो राखेर कर्जा लिएको कुरा पाण्डेले अमात्यलाई जानकारी दिएका थिए । त्यसपछि अमात्यले आफ्नो जग्गा धितो राखेर अर्को व्यक्तिले ऋण लिएको भन्दै प्रहरीमा उजुरी गरे । त्यसपछि उक्त घटना बाहिरिएको हो ।

नक्कली जग्गाधनी बनेर एसके महर्जन र मुक्तिलाल गौतमले डेनियल ट्रेडिङ कम्पनीका नाममा अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर कुमारी बैंकबाट १९ करोड ऋण निकालेको प्रहरीको अनुसन्धानमा देखिएको छ । अनुसन्धानमा महर्जन र गौतमले नक्कली लालपुर्जा बनाएर कुमारी बैंकबाट ऋण निकालेको भेटिएको थियो । उनीहरूले गत साउनमा कुमारी बैंकको न्युरोड शाखाबाट ऋण लिन निवेदन दिएका थिए । त्यसको धितोका लागि बारामा रहेको अमात्यको जग्गा राखिएको थियो । न्युरोड शाखाले धितो मूल्यांकनका लागि बारामा रहेको शाखामा पठायो । यसरी केन्द्रीय कार्यालयको निर्देशनमा शाखा कार्यालयले प्रक्रिया सुरु गरेर कर्जा प्रवाह गरेको थियो ।

‘अनुसन्धानका क्रममा बारा शाखाका ऋण अधिकृत सोनु ठाकुरले धितो बन्धकमा हस्ताक्षर गरेको भेटियो,’ स्रोतले भन्यो, ‘मूल्यांकनकर्ता राजेश चौरासियाले मालपोत कार्यालय गएर जग्गाको वास्तविक जग्गाधनी बुझ्नुपर्नेमा त्यो नगरेर सीधै मूल्यांकन गरेको भेटियो ।’ यस घटनामा मूल्यांकनकर्ताको कुनै हात नरहने भएको भन्दै मूल्यांकनकर्ताहरूको संगठनले विरोध गरिरहेको छ ।

उता बैंकले नक्कली धितो राखेर प्रवाह भएको ऋण बैंकले असुल गरिसकेको प्रहरीको अनुसन्धानमा देखिएको छ । प्रहरीले अभियुक्तलाई थुनामा राखेर ६० दिनसम्म अनुसन्धान गर्न पाउँछ । त्यसपछि मुद्दा चलानका लागि सरकारी वकिलको कार्यालयले प्रक्रिया अघि बढाउँछ ।

प्रकाशित : मंसिर २१, २०७८ ०७:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×