नक्कली भ्याट बिल बनाउने ५ जनाविरुद्ध मुद्दा दायर- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नक्कली भ्याट बिल बनाउने ५ जनाविरुद्ध मुद्दा दायर

कान्तिपुर संवाददाता

काठमाडौँ — नक्कली भ्याट बिल बनाएर राजस्व छली गरेको आरोपमा ५ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले १२ करोड २० लाख माग दाबीसहित सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले बाराको करैया गाउँपालिका ७ मा संचालित यादव बिजनेस ट्रेड लिंकका सञ्चालक सोनालाल प्रसाद यादवसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

नक्कली मूल्य अभिवृद्धि कर बिजक (भ्याट बिल) बनाउनेहरूमा जयकिशोर साह, परमेश्वर साह, मुकेशकुमार झा, सानुकुमार श्रेष्ठ र सोनालाल प्रसाद यादव छन् ।उनीहरूविरूद्ध १२ करोड २० लाख ६१ हजार २३३ रुपैयाँ बिगो तथा सजाय माग दावीसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

प्रकाशित : मंसिर २०, २०७८ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्

दक्षिण अफ्रिकाले रिपोर्ट गर्नुअघि नै नेपालमा भित्रिएको थियो ओमिक्रोन

संक्रमण नियन्त्रणमा राख्न विदेशबाट आउनेलाई अनिवार्य परीक्षण र क्वारेन्टिनमा राख्न विज्ञको सुझाव 
स्वरूप आचार्य

काठमाडौँ — दक्षिण अफ्रिकाले विश्वजगतलाई जानकारी दिनुअघि नै कोरोनाभाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ विश्वभर फैलिसकेको हुनसक्ने आकलन गरिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको ‘बी.१.१.५२९’ उत्परिवर्तित रुपलाई ‘भेरिएन्ट अफ कन्सर्न’ घोषणा गरेर ‘ओमिक्रोन’ नाम दिनुअघि नै नेपाल प्रवेश गरेका एक विदेशी सो भेरिएन्टबाट संक्रमित भएको देखिएको छ ।

नेपालमा मंसिर १९ गते आइतबार ओमिक्रोन भेरिएन्टबाट दुईजना संक्रमित भएको पुष्टि भए पनि तीमध्ये एकजना विदेशी ओमिक्रोन फैलिएको देशबाट मंसिर ३ गते आएका थिए । त्यसको ४ दिनपछि मंसिर ७ मा उनीसहित उनको सम्पर्कमा आएका अर्का व्यक्तिमा संक्रमणको लक्षण देखिएको थियो ।

विश्व स्वास्थ्य संगठनले मंसिर १० गते ओमिक्रोनलाई ‘भेरिएन्ट अफ कन्सर्न’मा राखेर सबै देशलाई उच्च सतर्कता उपनाउन आग्रह गरेको थियो । यस्तै दक्षिण अफ्रिकाले नोभेम्बर २३ अर्थात मंसिर ७ गते ५० भन्दा बढी उत्परिवर्तन भएको नयाँ कोरोनाभाइरस फेला परेको जानकारी दिएको थियो ।

जबकि बोत्सवानाले कात्तिक २५ गते (नोभेम्बर ११) मा पहिलोपटक यो भेरिएन्ट फेला पारेको थियो । साथै, दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले समेत कात्तिक २३ गते (नोभेम्बर ९) को नमुनाको जिनोम सिक्वेन्सिङ गर्दासमेत ओमिक्रोन भेरिएन्ट फेला परेको दाबी गरेका छन् ।

नेपालमा मात्र नभई यूरोपका केही देश तथा अमेरिकामासमेत दक्षिण अफ्रिकाले रिपोर्ट गर्नुपूर्व नै यो भेरिएन्टबाट संक्रमित भएकाहरु पाइएको छ । ती देशहरुमा नोभेम्बरको पहिलो र दोस्रो सातामा संकलन गरिएको नमुनाको जिनोम सिक्वेन्सिङ गर्दा ओमिक्रोन भरिएन्ट नै देखिएको जनाइएको छ ।

नेदरल्याण्ड्सको नेसनल इन्स्टिच्युट एण्ड द इन्भायरमेन्टले समेत नोभेम्बर १९ (मंसिर ३) मा लिएको नमुनामा पनि ओमिक्रोन भेरिएन्ट देखिएको पुष्टि गरेको थियो । यस्तै, अमेरिकामा ओमिक्रोन भेरिएन्ट कुन हदसम्म फैलिएको छ भनेर थाहा पाउन ड्रेनेज प्रणाली (ढल) बाटसमेत नमुना लिएर अनुसन्धान गरिने भएको छ ।

हालसम्म विश्वका ४४ मुलुकमा यो भेरियन्ट देखापरेको औपचारिक जानकारी विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् ।

थाइल्याण्डमा रहेर जनस्वास्थ्यका विषयमा अनुसन्धान गरिरहेका नेपाली जनस्वास्थ्यविद् सुशील कोइरालाका अनुसार पनि अहिलेको अवस्था हेर्दा ओमिक्रोन भेरिएन्ट पहिलोपटक दक्षिण अफ्रिकाले औपचारिक रुपमा रिपोर्ट गरे पनि त्योभन्दा केही महिना अघिदेखि नै फैलन सुरु गरेको जस्तो देखिन्छ । ‘कहाँ यो भेरिएन्ट उत्पत्ति भयो र कहिले देखि फैलिन थाल्यो भनेर यकिन गर्न कठिन हुन्छ,’ उनले भने ।

जोन हप्किन्स विश्वविद्यालयका जनस्वास्थ्य विज्ञ डा. दीनेश न्यौपानेका अनुसार रोग फैलिन थालेपछि मात्रै भेरिएन्टको बारेमा थाह हुन्छ । ‘जिन सिक्वन्सिङ महंगो हुन्छ । हत्तपत्त गरिन्न । त्यसैले रोग फैलिएको अलि पछि मात्र थाहा पाउने सम्भावना हुन्छ,’ उनले भने, ‘दक्षिण अफ्रिकाले रिपोर्ट गर्नुअघि नै अन्य देशमा पनि यो फैलिसकेको हुनसक्ने सम्भावना छ ।’

उनका अनुसार जनस्वास्थ्यका मापदण्डहरुको पालना नगर्ने हो र खोप लगाउने कार्यलाई व्यापक नबनाउने हो भने जुनसुकै नयाँ भेरिएन्ट पनि फैलने खतरा रहन्छ । ‘ओमिक्रोन फैलिएला वा नफैलिएला वा फैलियो भने यसले कति असर गर्ला अहिले नै भन्न सकिन्न । तर खोपको कभरेज कम, जनसस्वास्थ्यका मापदण्डको पालनामा नगर्ने, कन्ट्याक ट्रेसिङ नहुने, भिडभाड निरन्तर गरिरहने हो भने ढिलो चाँडो त्यस्तो ठाउंमा कोरोना फैलिन्छ,’ उनले भने, ‘ओमिक्रोन फैलिएन भने पनि ‘पाई’ले छोड्दैन ।’

हृयाम्स अस्पतालमा कार्यरत संक्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदीका अनुसार पनि यूरोपको बेल्जियम तथा अमेरिकाकै रिपोर्ट हेर्दा दक्षिण अफ्रिकी देशहरुमामा फैलनुअघि नै यो यूरोप तथा अमेरिकामा फैलन थालेको जस्तो देखिएको छ । ‘ओमिक्रोनमा देखिएक अनुवांशिक उत्परिवर्तन तथा दक्षिण अफ्रिका बाहिरका मुलुकका पुरानो नमुना परीक्षण गर्दा हाल यो भेरिएन्ट रहेको देखिएको छ,’ उनले भने, ‘त्यस हिसाबले नेपालले दक्षिण अफ्रिकी देशहरुलाई बन्देज लगाउनु गलत हो ।’

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा जनस्वास्थ्य विषयकी प्राध्यापक विन्ज्वला श्रेष्ठका अनुसार ओमिक्रोनको मूल स्रोत पत्ता लगाउनभन्दा पनि अहिले यसलाई कसरी नियन्त्रणमा राख्न सकिन्छ भनेर सोच्न जरुरी छ । ‘यसको मूल स्रोत के थियो भन्ने महत्त्वपूर्ण छैन । त्यो पत्तै नलाग्न पनि सक्छ,’ उनले भनिन्, ‘अब हामीले नियन्त्रण र रोकथामको उपायमा ध्यान दिनुपर्छ ।’

विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई भेरिएन्ट अफ कन्सर्नको सूचिमा राखेर सबै देशलाई उच्च सतर्कता अपनाउन सुझाव दिएसँगै नेपालले पनि यो भेरिएन्टको नियन्त्रण तथा रोकथामका लागि विभिन्न उपाय अवलम्बन गर्न सुरु गरेको थियो । नेपालले अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरूमा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगेटिभ पीसीआर रिपोर्ट अनिवार्य गरेको खोपको विवरण लिने गरेको छ । यस्तै लक्षण तथा चिन्हहरूको जाँच गर्ने तथा हवाई र स्थल नाकाहरू भई प्रवेश गर्ने पूर्ण मात्रा खोप नलगाएका र शंकास्पद सबै यात्रुहरूको एन्टिजेन परीक्षण गर्ने गरिएको मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले बताए ।

उनका अनुसार एन्टिजेन परीक्षणमा पोजिटिभ फेला परेकाहरुको नमूना संकलन गरी पीसीआर गर्ने र शंकास्पद नमुनाहरुको जीन सिक्वेन्सिङ गर्न थालिएको छ । साथै, विगत एक महिना अगाडिदेखि पोजिटिभ भएका नमूनाहरूको थप परीक्षण पनि गर्न सुरु गरिएको छ ।

डा. अधिकारीका अनुसार ओमिक्रोनको संक्रमणबाट बच्न पहिला जस्तै जनस्वास्थ्यका सबै मापदण्डहरुको पालना र खोप नै प्रमुख उपाय हो । ‘मास्कको सही प्रयोग, भौतिक दूरी कायम गर्ने, भीडभाड नगर्ने तथा हात धुने कार्य, हावा आवतजावत हुने स्थानमा बस्ने र खोपको प्रयोग महत्त्वपूर्ण छ,’ उनले भने, ‘सबैलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न र खोप अभियानमा सहभागी हुन हामीले पटकपटक अनुरोध गरेका छौं ।’

संक्रामक रोग विशेषज्ञ डा. सुवेदीका अनुसार सरकारले अब ओमिक्रोनलाई द्रूत गतिमा समाजमा फैलनबाट रोक्न परीक्षण, क्वारेन्टाइन र आइसोलेसनमा पूर्ण कटिवद्ध भएर लाग्नुपर्छ । ‘अब फेरि कोरोना संक्रमणको लक्षण देखिएकाहरुको परीक्षण गर्न फेरि सबैलाई प्रोत्साहन गर्नुपर्छ । पीसीआर परीक्षण वा आरडीटी एन्टिजेन परीक्षणलाई जति बढी सहज बनायो त्यति बढी परीक्षण हुन्छ र समाजमा छिटो फैलनबाट रोक्न सक्छौं,’ उनले भने, ‘साथै विदेशबाट आउने सबैले अनिवार्य कोरोना परीक्षण गराएको हुनुपर्छ र नेपाल आएपछि विमानस्थलमै परीक्षण गर्ने व्यवस्था गरिनुपर्छ । उनीहरुलाई पाँच दिन भए पनि अनिवार्य क्वारेन्टिनमा राखेर फेरि परीक्षण गरेर मात्रै निस्कन दिने हो भने लकडाउन मै पुग्नुपर्ने गरी संक्रमण फैलिँदैन ।’

उनका अनुसार सरकारले अघिल्ला वर्षमा गरिएको गल्तिबाट पाठ सिक्दै जनस्वास्थ्यका नियमहरूको कडाइका साथ पालना गराउने हो भने अस्पतालहरूमा बिरामीको चाप र समाजमा संक्रमण थेग्न नसक्ने गरी एकैपटक फेरि बढ्दैन । ‘हामीले केही नगरी बस्यौं भने आज दिनु दुई गुणा रात चार गुणा भएर संक्रमण फैलिन्छ र फेरि चिन्ताजनक अवस्थामा हामी पुग्छौं,’ उनले भने, ‘यसलाई फैलिनबाट पूर्ण रुपमा रोक्न त सकिन्न तर यसको गति कम गर्नका लागि जे जति सकिन्छ त्यो गर्न थालि हाल्नुपर्छ ।’

ओमिक्रोनका बारेमा पत्ता लगाएको दक्षिण अफ्रिकाको जनस्वास्थ्यविज्ञ प्रा. सलिम अब्दुल करिमका अनुसार ओमिक्रोनका बारे वैज्ञानिक तथ्यांकका आधारमा विश्लेषण भइनसके पनि आत्तिनुपर्ने अवस्था भने रहेको छैन । उनको भनाइमा दक्षिण अफ्रिकामा यो भेरिएन्ट धेरैजसो खोप नलगाएको समूहमा धेरै देखिएको छ भने पुनः संक्रमण पनि खोप नलगाएकै समूहमा धेरै देखिएको छ । त्यसैले खोपले पूर्ण रुपमा काम गर्दैन भन्नु हतार हुने उनको दाबी छ ।

‘ओमिक्रोनमा अरु ’भेरिएन्ट अफ कन्सर्न’का गुणहरू पनि छन् । त्यसकारण यसको स्वभाव अन्य भेरिएन्टसँग मिल्छ । जसले गर्दा नै हामी सबैजना यो भेरिएन्टलाई लिएर यति धेरै चिन्तित भएका हौं,’ उनले विश्व प्रसिद्ध विज्ञान जर्नल लान्सेटलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘ओमिक्रोनका बारे केही पनि आंकलन गर्नु अहिले धेरै नै चाँडै हुन्छ । किनभने हामीले यसबारे थाह पाएको केवल केही दिन मात्रै भयो । हाल हामीसँग यसलाई लिएर कुनै पनि विश्वनिय वैज्ञानिक तथ्यांक उपलब्ध छैन ।’

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले पछिल्लो पटक मन्त्रिपरिषद्ले गरेको निर्णयमा दक्षिण अफ्रिकासहित ९ देश र ती देशलाई ट्रान्जिट बनाएर आउने र पछिल्लो तीन साताको अवधीमा ती राष्ट्रहरूमा यात्रा गरेका विदेशी नागरिक बाहेकलाई नेपाल प्रवेशमा के व्यवस्था गर्ने भन्ने विषयमा मौन रहेको बताए । यद्यपि विभागले सीमा नाकाहरूबाट भित्रिने सबै विदेशीको हकमा भने यसअघि निर्धारित जनस्वास्थ्यका मापदण्ड अनुसार कडाइ गरिएको जानकारी दिए ।

खुला सिमानाका कारण भारतबाट प्रवेश गर्नेहरूलाई भने नियमन गर्न चुनौतिपूर्ण रहेको उनले बताए । सरकारले २०७६ चैत पहिलो साताबाट दक्षिणको नाकाहरू बन्द गरेकोमा पछिल्लोपटक २०७८ असोज ५ को मन्त्रिपरिषद् बैठकबाट नेपाल–भारत आवागमनलाई खुला गरेको थियो ।

प्रकाशित : मंसिर २०, २०७८ १९:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×