कृषि सामग्री कम्पनीद्वारा गुणस्तरहीन मल बिक्री

अमृता अनमोल

काठमाडौँ — बुटवल, कृषि सामग्री कम्पनी आफैंले कम गुणस्तरको भन्दै एक हप्ता वितरण बन्द गरेको यूरिया मल फेरि सहकारीलाई बाँड्न थालेको छ ।

कृषि सामग्री कम्पनीद्वारा गुणस्तरहीन मल बिक्री

आपूर्तिकर्ता ठेकेदारको दबाबमा कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाबाट यूरिया मलको वितरण पुनः सुचारु गरेको हो । अभावको मौका छोपी तोकिएको भन्दा कम गुणस्तरको मल जानाजान वितरण हुन थालेको छ ।

स्वीच सिंगापुर कम्पनीले ल्याएको २५ हजार मेट्रिक टन मल धुलो बढी भएको मन्त्रालय स्रोतले पुष्टि गरेको छ । यसबारे जानकारी हुँदाहुँदै कृषि तथा पशुपंक्षी विकास मन्त्रालय भने वितरण रोक्नुको सट्टा मौन बसेको छ ।

गत साउन, भदौमा पनि कम्पनीले कम गुणस्तरको डिएपी मल बिक्री गरेको पाइएपछि अक्तियार दुरुपयोग अनुसन्धान आयोगले ढुवानी गर्ने भरियादेखि महाप्रबन्धकसम्मलाई छानबिनको दायरामा ल्याएको छ ।

विशेषतः यूरिया मल तीन प्रकारका हुन्छन् । दाना ठूलो भएको, मध्यम र सानो दाना भएको मल अन्तर्राष्ट्रिय बजारमा खरिद गर्न पाइन्छ । नेपालमा चीनबाट ग्लोबल टेण्डर गरी स्वीच सिंगापुर कम्पनीले ल्याएको यूरिया मल सबैभन्दा सानो दाना भएको हो ।

यूरियाको तत्व हावामा उड्ने भएकाले मसिनो यूरिया विरुवाले लिन नपाउँदै चाँडै उड्ने कृषि विज्ञहरू बताउँछन् । कृषि सामग्री कम्पनी भैरहवाका सूचना अधिकारी गणेश घिमिरेले मल पहिलाको तुलनामा केही मसिनो आए पनि पोषक तत्वमा कुनै कमी नभएको दाबी गरे । ‘रासायनिक मल आयात गर्नुअघि सरकारी र निजीस्तरबाट त्यसको गुणस्तर मापन हुन्छ । परीक्षण गर्दा गुणस्तरमा कुनै समस्या छैन,’ उनले भने ।

साविकको पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रमा मल आपूर्ति गर्दैआएको प्रादेशिक कार्यालयले पाँच हजार मेट्रिक टन यूरिया विक्री गरेको छ । थप पाँच हजार मेट्रिक टन मल विक्रीको तयारीमा छ ।

प्रकाशित : मंसिर २०, २०७८ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?