कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सडकका जटिल पहिरोको अध्ययन, कतै सकियो कतै जारी 

काठमाडौँ — पानी पर्नासाथ पहिरो खसेर लामो समय अबरुद्ध हुँदै आएका आधा दर्जन सडक खण्डका पहिरोको अध्ययन थालिएको छ । केहीको अध्ययन सकिसकेको छ भने केहीको जारी रहेको सडक विभागले जनाएको छ । विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार धेरै पहिरो खस्ने ठाउँको अध्ययन गरेर दिगो समाधान गर्न खोजिएको हो । 

सडकका जटिल पहिरोको अध्ययन, कतै सकियो कतै जारी 

अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे खण्ड, नौबिसे–मुग्लिन खण्डको फिस्लिङ, कान्ति राजमार्गको छपाली तथा भट्टेडाँडा, बाजुराको ओमकोटमा बढी समस्या छ । गत कात्तिकमा परेको बेमौसमी वर्षाले इलाम र पाँचथरको विभिन्न खण्डमा अझै पहिरोको समस्या छ । ती ठाउँको पनि अहिले अध्ययन भइरहेको महानिर्देशक थापाले बताए । ‘केही सडकको परामर्शदाता छनौट गरेर र केहीको विभाग आफैंले अध्ययन गरिरहेको छ,’ महानिर्देशक थापाले भने, ‘जसमध्ये केहीको अध्ययन सकिसकेको छ, अध्ययन सकिएका सडकको दिगो समाधान गर्नेगरी काम अघि बढाइने छ ।’

केही सडक विभागकै स्रोत र केहीको विपद व्यवस्थापनसँग समन्वय गरेर काम गरिने उनले सुनाए । विभागका प्रवक्ता शिवप्रसाद नेपालका अनुसार बाजुरामा अहिलेसम्म अध्ययन भएको छैन । त्यसका लागि परामर्शदाता छनौट गरेर पठाउने प्रक्रियामै रहेको उनले बताए । ‘मध्यपहाडी राजमार्गको विभिन्न खण्डमा समस्या छ, तर यो निर्माणाधीन सडक भएकाले पहिरो आउने, फाल्ने काम भइरहेको हुन्छ,’ प्रवक्ता नेपालले भने, ‘सडकको निर्माण सकिएर मर्मतअन्तर्गत गइसकेपछि क्षति भएमा त्यहाँ मर्मतको बजेट छुट्याइने छ ।’ अध्ययनका लागि बढीमा ४ महिनाको समय दिएर विस्तृत अध्ययन गराइएको हो ।

महानिर्देशक थापाका अनुसार माइखोला नजिकै पहिरोको समस्या छ । पाँचथरमा गत कात्तिकमा आएको बेमौसी वर्षाका कारण पहिरोले समस्या थपेको हो । जहाँ १ सय भन्दा बढी स्थानमा पहिरोको समस्या छ । गत कात्तिकमा परेको बेमौसमी वर्षाका कारण मात्र देशभरका सडकमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । त्यसअघि वर्षाको सिजनमा २ अर्ब ३५ करोड रुपैयाँको क्षति भएको सडक विभागको भनाई छ ।


प्रकाशित : मंसिर २०, २०७८ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?