विदेशबाट फर्कनेले ल्याउने सुन घट्न थाल्यो, कति तिर्नुपर्छ भन्सार शुल्क ?

काठमाडौँ — विदेशबाट फर्कंदा नेपालीले ल्याउने ‘अवैध’ सुनको मात्रा घट्न थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जाँचमा कडाइ गरेपछि काँचो सुनलाई गहना भनी ल्याउने क्रम घटेको हो । गहनाको रुपमा सामान्य तोडमोड गरेर काँचो सुन नै भित्रिन थालेपछि भन्सार कार्यालयले कडाइ गरेको थियो । 

विदेशबाट फर्कनेले ल्याउने सुन घट्न थाल्यो, कति तिर्नुपर्छ भन्सार शुल्क ?

भन्सार कार्यालयले गत सोमबार एकैदिन ४ सय १५ जना यात्रुबाट २१ किलो ‘अवैध’ (तोडमोड गरिएको काँचो) सुन बरामद गरेको थियो । सोमबारको तुलनामा शुक्रबार र शनिबार बरामद सुनको मात्रा घटेको त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख, प्रशासक महेश भट्टराईले जानकारी दिए ।

‘शुक्रबार र शनिबार अवैध सुन हामीले कम पाएका छौं । शुक्रबार १५० जना यात्रुबाट ६ केजी २५ ग्राम र शनिबार ७४ जना यात्रुबाट ३ केजी ३१ ग्राम सुन बरामद भएको छ,’ उनले भने । यसरी बरामद भएको सुनको भन्सार महशुल तिरेर सम्बद्ध यात्रुले फिर्ता लैजान सक्छन् । ६० दिनभित्र यस्तो सुन फिर्ता लैजान सक्ने व्यवस्था छ । बरामदपछि भन्सारको लकरमा सुन जम्मा गरिन्छ । जम्मा भएको सुन क्रमश: यात्रुले भन्सार महशुल तिर्दै लैजाने गरेका छन् ।

शुक्रबारकै दिन १६१ जना यात्रुले ६६ लाख ७४ हजार ८ सय ५४ रुपैयाँ भन्सार महशुल बुझाएर ६ केजी ९१ ग्राम सुन फिर्ता लगेका छन् । भट्टराईका अनुसार बरामद भएको सुनमध्ये शनिबार ७१ जनाले भन्सार महशुल तिरेर ३ केजी १० ग्राम सुन फिर्ता लगे । यसबाट २९ लाख ७९ हजार ८ सय ७० रुपैयाँ राजस्व संकलन भएको उनले बताए । भन्सार कार्यालयले मंगलबार विदेशबाट फर्केका २ सय २१ जना यात्रुबाट ११ किलो 'अवैध' सुन बराम गरेको थियो । यसैगरी बुधबार ३ सय २६ जना यात्रुबाट १५ केजी १६ ग्राम र बिहीबार २ सय ११ जना यात्रुबाट ९ केजी ७७ ग्राम सुन बरामद गरेको थियो ।

कति तिर्नुपर्छ भन्सार महशुल ?

सुनका गहना र सुनमा दुई किसिमका भन्सार महशुल तोकिएको छ । विदेशबाट फर्कनेले ५० ग्रामसम्म सुनका गहना ल्याउन पाउँछन्, यसमा भन्सार शुल्क लाग्दैन । तर सोभन्दा माथिको गहनामा भन्सार शुल्क तिर्नुपर्छ । ५० देखि १ सय ग्रामसम्म सुनका गहना ल्याउँदा प्रति दश ग्राम १० हजार पाँच सय रुपैयाँका दरले र सो परिमाणभन्दा बढी थप एक सय ग्रामसम्म सुनका गहनामा प्रति दश ग्राम १२ हजार रुपैयाँका दरले भन्सार महशुल बुझाई फिर्ता लैजान सक्छन् । सो परिमाणभन्दा बढी ल्याएमा जफत हुन सक्ने व्यवस्था छ ।

तर सुनमा भने केही कडा व्यवस्था छ । जम्मा १ सय ग्रामसम्म सुन ल्याउन सकिने व्यवस्था छ । १ सय ग्रामसम्मको सुनमा पहिलो ५० ग्रामसम्म प्रति १० ग्राम ९ हजार ५ सय रुपैयाँ र त्यसपछिको ५० ग्राममा प्रति १० ग्राम १० हजार ५ सय रुपैयाँ भन्सार शुल्क लाग्छ ।

यो पनि - विदेशबाट आउँदा के ल्याउन पाइन्छ, के पाइँदैन ?

प्रकाशित : मंसिर १९, २०७८ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?