२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

विश्व बैंकको सहयोगमा दुई अक्सिजन प्लान्ट सञ्चालन, पाँच वटा थपिँदै 

काठमाडौँ — विश्व बैंकको आर्थिक तथा प्राविधिक सहयोगबाट बनेका दुई वटा अक्सिजन प्लान्ट सञ्चालनमा आएका छन् । सातवटै प्रदेशका प्रादेशिक अस्पतालमा सो बैंकको सहयोगमा प्लान्ट बनाउन थालिएको थियो । लुम्बिनी प्रादेशिक अस्पताल र प्रदेश नम्बर २ को जनकपुर प्रादेशिक अस्पतालमा निर्माण भएका प्लान्टहरू सञ्चालनमा आएका हुन् । सञ्चालनमा आएका अक्सिजन प्लान्ट प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । 

विश्व बैंकको सहयोगमा दुई अक्सिजन प्लान्ट सञ्चालन, पाँच वटा थपिँदै 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियन्त्रण महाशाखा प्रमुख मदन कुमार उपाध्याय र विश्व बैंकको माल्दिभ्स, नेपाल तथा श्रीलंकाका कन्ट्री डाइरेक्टर फारिस हदाद जार्भोसले आइतबार यी दुई अक्सिजन प्लान्ट सम्बन्धित प्रदेशलाई हस्तान्तरण गरे ।

विश्व बैंकले आइतबार जारी गरेको विज्ञप्तिअनुसार बाँकी पाँच प्रदेशका अक्सिजन प्लान्ट पनि १५ दिनभित्र सञ्चालनमा आइसक्नेछन् । विश्व बैंकको सहयोगमा प्रदेश नम्बर १ को दमक नगरपालिका अस्पताल, बागमती प्रदेशको हेटौंडा अस्पताल, गण्डकी प्रदेशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, कर्णाली प्रदेश अस्पताल र सुदूरपश्चिमको महाकाली प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट बनिरहेका छन् ।

विश्व बैंकको कार्यक्रम ‘कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेयडनेस प्रोजेक्ट’अन्तर्गत रहेर यी प्लान्टहरू निर्माण गरिएका हुन् । आगामी तीन वर्षसम्मको सञ्चालन तथा मर्मत सम्भारको काम युनाइटेड नेसन अफिस फर प्रोजेक्ट सर्भिसेजमार्फत हुने विश्व बैंकले जनाएको छ ।प्रदेशहरुलाई अक्सिजन प्लान्ट हस्तान्तरणपछि बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकारले सामुदायिक र सरकारी स्वास्थ्य संस्थाहरुको क्षमता अभिवृद्धिका लागि पहल गरिरहेको दावी गरे । कोभिड– १९ महामारीका क्रममा माग बढ्ने मेडिकल अक्सिजन पर्याप्त मात्रामा उपलब्ध गराउन यी प्लान्टहरुले सहयोग गर्ने उनले बताए ।


प्रकाशित : मंसिर १९, २०७८ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?