२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बारा-पर्सा औद्योगिक करिडोरका उद्योगले तत्कालै २ सय मेगावाट विद्युत् खपत गर्ने

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियान चलाइरहेको छ । अभियान अन्तर्गत प्रदेश नं २ मा पर्ने बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा ५ वर्षभित्रमा २ हजार मेगावाट विद्युत खपत हुने गरी पूर्वाधार बनाइने भएको छ । 

बारा-पर्सा औद्योगिक करिडोरका उद्योगले तत्कालै २ सय मेगावाट विद्युत् खपत गर्ने

बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनी लगायतका क्षेत्रमा हाल सञ्चालमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्षित गरी प्राधिकरणले व्यापक रुपमा विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउन लागेको हो । प्राधिकरणले मुख्य रुपमा उद्योगहरुलाई मागेजति विद्युत् दिएर खपत बढाउने योजना अघि सारेको छ । अल्पकालीन र दीर्घकालीन योजना अन्तर्गत पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले विद्युत् खपत बढाउने अल्पकालीन योजना अन्तर्गत सिमरा, परवानीपुर क्षेत्रमा सञ्चालित उद्योगहरुलाई तत्काल दुई सय मेगावाट विद्युत उपलब्ध गराउने भएको छ । त्यस क्षेत्रमा सञ्चालित स्टिल उद्योगहरुले क्षमता विस्तारका लागि थप विद्युतको माग गर्दै आएका छन् । कार्यकारी निर्देशक घिसिङले शनिबार बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरूको अनुगमन भ्रमण र उद्योगी व्यवसायीहरुसँग अन्तर्क्रिया गरी विद्युत् मागको हालको अवस्था र भविष्यको अवश्यकताका विषयमा जानकारी लिए ।

कार्यकारी निर्देशिक घिसिङले वीरगञ्ज उद्योग वाणिज्य संघ र जीतपुर नगर उद्योग वाणिज्य संघका पदाधिकारीसँग छुट्टाछुट्टै अन्तर्क्रिया गरेका थिए । सञ्चालमा रहेका सबस्टेसन र उद्योगहरूको भ्रमणपछि कार्यकारी निर्देशक घिसिङले उद्योगहरूलाई अहिलेकै पूर्वाधारबाट २ सय मेगावाटसम्म थप विद्युत् दिन सकिने बताए । बारा–पर्सा औद्योगिक करिडोरलाई लक्षित गरी पाँच वर्षमा दुई हजार मेगावाटसम्म विद्युत् खपत हुने गरी पूर्वाधार संरचनाको विस्तार गर्न लागिएको जानकारी दिँदै उनले विद्युतको खपत बढाउन उद्योगी व्यवसायीलाई आग्रह गरे ।


‘यस वर्षको बर्खामा मुलुकभित्र उत्पादित विद्युत् खपत गर्न नसकी झण्डै आठ सय मेगावाट खेर गयो, यसको मूल्य करिब ५ अर्ब रूपैयाँ हो, अब वार्षिक रुपमा करिब एक हजार मेगावाट प्रणालीमा थपिँदै छ’, उनले भने, ‘विद्युत् खपत बढाउन तत्काल गर्न सकिने काम, त्यसपछि १ वर्ष, २ वर्ष, ५ वर्ष र १० वर्षभित्रमा आउने मागलाई पूरा गर्नेगरी पूर्वाधार संरचना बनाउन लागेका छौं ।’

उद्योगहरुलाई भरपर्दो र गुणस्तरीय विद्युत् दिन पूर्वाधार संरचनाको निर्माण तथा जनचेतनामा अधिकतम प्रयास गरिएको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले अहिले चालिएका कदमको नतिजा अब देखिन थाल्ने बताए । कार्यक्रममा उद्योगी व्यवसायीहरूले विद्युत् महसुलम महंगो भएकोले सस्तो बनाउन, कम भोल्टेज तथा ट्रिपिङलगायतको समस्या समाधान गरी विद्युत् आपूर्ति सुधार गर्न, प्रसारण तथा वितरण प्रणालीको विस्तारमा लगानी बढाउन माग गरेका थिए ।

तत्काल यी उद्योगलाई दिन सकिन्छ विद्युत्

बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरुलाई तत्काल दुई सय मेगावाटसम्म थप विद्युत् दिन सक्ने देखिएको छ । अशोक स्टिललाई थप २०.५ मेगावाटको लोड स्वीकृत भएको छ । उद्योगले हाल १६ एमभीए क्षमताको ट्रान्सफर्मर राखेकोले सोही क्षमता अनुसार विद्युत् दिन सकिने छ । ट्रान्सफर्मर थप गरेपछि उद्योगले मागेजति विद्युत् दिन सकिने छ ।

जगदम्बा स्टिलले ३० मेगावाट थप माग गरेको छ । उद्योगलाई दुई महिनाभित्रमा विद्युत् आपूर्ति दिन सकिने छ । जगदम्बा इन्टरप्राइजेजको ३० मेगावाटका लागि कनेक्सन सम्झौता गर्न लागिएको छ । सम्झौता भएपछि उद्योगलाई विद्युत् उपलब्ध गराइने छ ।

हिमाल आइरनलाई १३२ केभी लाइनबाट विद्युत् आपूर्ति लिने गरी ३० मेगावाट लोड स्वीकृत भइसकेको छ । उद्योगले आफ्नोतर्फ लाइन बनाएपछि परवानीपुर सबस्टेसनबाट तत्काल विद्युत् दिन सकिने छ । नारायणी इस्पातलाई २०.५ मेगावाट विद्युत् आपूर्तिका लागि ग्रिड प्रभाव अध्ययन (जिआइएस) भइरहेको छ । बाराको सियरामा निर्माण हुन लागेको विशेष आर्थिक क्षेत्र (सेज)लाई तत्काल विद्युत् दिन सकिने छ । सेजमा आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्षित गरी लाइन विस्तार तथा सबस्टेसन निर्माण गर्न लागिएको छ ।


प्रकाशित : मंसिर १९, २०७८ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?