डलर फेरि महँगियो 

काठमाडौँ — आइतबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर (विक्री दर) १ सय २० रुपैयाँ ५७ पैसा तोकेको छ । यो पछिल्लो ४५ दिन यताकै उच्च हो । यसअघि कात्तिक ३ गते अमेरिकी डलरको विनिमय दर १ सय २० रुपैयाँ ८५ पैसा थियो । विश्व बजारमा अमेरिकी डलरको माग बढ्न थालेपछि त्यसको भाउ पनि बढ्न थालेको हो ।

डलर फेरि महँगियो 

पछिल्लो ४ वर्षमा अमेरिकी डलरको भाउ करिब १९ रुपैयाँ बढेको छ । २०१७ को डिसेम्बरमा डलरको मूल्य १०२ रुपैयाँको हाराहारीमा थियो । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा (भारु) कमजोर हुँदा नेरु पनि कमजोर बनेको छ । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर रहेकाले पनि भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ ।

पछिल्ला महिनामा भारतमा पनि आयात उच्च दरले बढेको छ । चालु खाता घाटा फराकिलो बन्दै गएको छ । अपेक्षित रुपमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिन सकेको छैन । हाल नेपालको कुल वैदेशिक व्यापारको करिब ६५ प्रतिशत हिस्सा भारत केन्द्रित छ । खुला सिमानाका कारण धेरै नेपालीको रोजगारीको गन्तव्य भारत बन्दै आएको छ । यसकारण नेपालको अर्थतन्त्र ठूलो मात्रामा भारतमा आश्रित छ ।


प्रकाशित : मंसिर १९, २०७८ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?