कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

नेपालीलाई अवसर दिन रेलवे अध्यादेशमा परिवर्तन

३ वर्ष सहचालक भएर काम गरेका नेपालीलाई एक वर्ष तालिम दिएर चालक बनाउन मिल्ने व्यवस्था गरिँदै
विमल खतिवडा

काठमाडौँ — रेल चलाउने नेपाली चालक नपाएपछि उनीहरूलाई अवसर दिन भन्दै अध्यादेशमा परिमार्जन गरिएको छ । नयाँ प्रावधानमा शैक्षिक योग्यता थपिएको छ । तर चालक बन्न आवश्यक अनुभवको अवधि घटाइएको छ ।

नेपालीलाई अवसर दिन रेलवे अध्यादेशमा परिवर्तन

यसअघि रेलवे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा चालक बन्न माध्यमिक तह पास गरेको र पाँच वर्ष सहचालक भएर काम गरेको हुनुपर्ने उल्लेख थियो । तर बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी अध्यादेशमा तीन वर्ष मात्र सहचालक भएर काम गरेको अनुभवले काम गर्ने बताइएको छ ।

यसैगरी मान्यता प्राप्त शिक्षण संस्थाबाट मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स वा अटोमोबाइल विषयमा कम्तीमा डिप्लोमा तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था भने थपिएको छ । मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट रेल चालक वा सहचालकको तालिम लिई रेल चलाउनयोग्य भएको प्रमाणपत्र पाएको पनि हुनुपर्नेछ । चालकका लागि २१ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने पनि अध्यादेशमा उल्लेख छ । राष्ट्रिय सभामा २०७६ पुस १८ मा पेस गरिएको विधेयकमा भने चालकका लागि २५ वर्ष उमेर पुगेको हुनुपर्ने उल्लेख थियो ।

विधेयकअनुसार सुरुमा चालकका लागि आवेदन खुलाउँदा कोही पनि नेपालीले आवेदन नदिएको रेल विभागले जनाएको छ । त्यसैले २६ जना प्राविधिक भारतबाट ल्याइँदै छ । नेपाली प्राविधिकलाई अवसर दिन अहिले अध्यादेशमा खुकुलो व्यवस्था ल्याइएको विभागका महानिर्देशक दीपककुमार भट्टराईले बताए । ‘नेपाली प्राविधिक पो छैनन् । तर डिप्लोमा तह यहाँ पढाइ हुन्छ,’ उनले भने, ‘तिनैमध्ये राख्न मिल्ने गरी प्रावधान ल्याइएको हो ।’ त्यसैका लागि सहचालकको अनुभव घटाइएको उनले प्रस्ट्याए ।

रेल सञ्चालनमा आएपछि एक वर्ष चालक र सहचालक भारतीय रहनेछन् । त्यस अवधिमा नेपालीले भारतीय प्राविधिकसँग रेल चलाउन सिक्नेछन् । उनीहरूलाई तालिम लिन भारत पनि पठाइनेछ । ‘हाम्रो योजना नेपाली नै चालक बनाउने हो,’ भट्टराईले भने । एक वर्षभित्र नेपाली चालक र प्राविधिक तयार हुने उनको भनाइ छ । कसैले बाह्य देशबाट चालक वा सहचालक अनुमतिपत्र प्राप्त गरेको भए त्यस्तो व्यक्तिले नेपालमा रेल चलाउन अध्यादेशमा उल्लेख नियमअनुसार निवेदन दिनुपर्नेछ । रेलवे प्रशासकले चालक वा सहचालकको अनुमतिपत्रका लागि लाग्ने दस्तुर लिई अध्यादेशबमोजिम चालक र वा सहचालकको अनुमतिपत्र दिन सक्नेछ ।

यो अध्यादेश भने दोस्रो पटक ल्याइएको हो । यसअघि संसद्बाट विधेयक फिर्ता नलगी अध्यादेश जारी गरिएको थियो ।

प्रकाशित : मंसिर १८, २०७८ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?