सबै क्षेत्रमा व्यापार सम्भव छैन, उत्पादनबाट आत्मनिर्भर बन्नुपर्छ : अर्थमन्त्री शर्मा
मोरङ — अर्थमन्त्री जनार्दन शर्माले अब सबै क्षेत्रमा व्यापार सम्भव नभएकाले उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । समग्र विकासका लागि उत्पादन गरेर आयात प्रतिस्थापन गर्दै आत्मनिर्भर हुनुपर्ने उनले बताए ।
'समग्र विकासका लागि व्यापार कि उद्योग भन्ने प्रश्न गम्भीर भएको छ । अब सबै क्षेत्रमा व्यापार सम्भव छैन, गर्नसक्ने क्षेत्रको उत्पादन गर्ने कि नगर्ने ?,’ अर्थमन्त्री शर्माले भने, ‘उत्पादन गर्नसक्ने वस्तु उत्पादन गरेर आयात प्रतिस्थापन गर्दै निकासी गर्न सक्यौं भने मात्रै आत्मनिर्भर हुन सक्छौं ।’
विद्युत निकासीभन्दा खपत बढाउनु पर्ने उनको भनाइ थियो । मन्त्री शर्माका अनुसार मुलुकमा १० हजार मेगावाट विद्युत कसरी खपत गर्ने भन्नेबारे अध्ययन भइरहेको छ ।
मोरङ व्यापार संघको ६५ औं वार्षिक साधारण सभामा शुक्रबार मन्त्री शर्माले यस्तो बताएका हुन् । यस क्रममा उनले समग्र विकासका लागि योजना कार्यान्वयनको मोडल परिवर्तन गर्नुपर्ने बताए ।
उनले भनेका छन् 'अहिलेको तरिकाले मुलुकको विकास सम्भव छैन । मुलुकमा योजना कार्यान्वयनको मोडल परिवर्तन गर्नुपर्छ । जनतासहित सरकार एकाकार भएर काम गरे बजेट पनि खर्च हुन्छ, पारदर्शिता पनि हुन्छ र विकास पनि छिटो हुन्छ ।’ कर्मचारीतन्त्रमा भर परेर काम गर्दा सिमित हुने भएकाले त्यसलाई तोड्न जनतालाई जोड्नु पर्ने उनले भनाइ थियो ।
मन्त्री शर्माले प्रदेश १ को विकासका लागि संकुचित भइसकेको सुनसरी–मोरङ औद्योगिक करिडोरको विकल्प आवश्यक भइसकेको पनि बताएका थिए । अर्को औद्योगिक करिडोर बनिसकेपछि विराटनगर विमानस्थलको स्तरोन्नति स्वतः हुनेमा उनले विश्वास व्यक्त गरे ।
यस्तै संस्थागत विकास र सुदृढीकरण नहुनुले समस्या जहाँको त्यहीँ रहेको उनको भनाइ थियो । तर विराटनगरमा अर्को औद्योगिक करिडोर बनाउन स्पष्ट मार्गचित्रसहित मन्त्रालयमा आउन प्रदेश १ का उद्योगी, व्यवसायी, प्रदेश र स्थानीय सरकारलाई उनले आग्रह गरेका थिए ।
यस क्रममा उनले मोरङ व्यापार संघ पुरानो र अनुभवी भएकाले यसलाई अर्थ मन्त्रालयको सल्लाहकार नियुक्त गर्ने घोषणा पनि गरेका छन् ।
प्रकाशित : मंसिर १७, २०७८ २१:१५