कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बल्ल धान किन्ने तयारीमा जुट्यो खाद्य कम्पनी

काठमाडौँ —  खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किसानबाट धान खरिदको तयारी गरेको छ । अधिकांश किसानले धान व्यापारीलाई बेचेपछि  खाद्यले बल्ल खरिद गर्ने सुरसार थालेको हो । धान खरिद गर्नकै लागि कम्पनीले मंसिर १५ गते शाखा कार्यालयलाई सुर्कुलर गरिएको जनाएको छ । केन्द्रीय कार्यालयको सर्कुलरपछि जिल्लामा प्राथमिक खरिद कमिटीको बैठक गरेर धान खरिद सुरू हुनेछ ।

बल्ल धान किन्ने तयारीमा जुट्यो खाद्य कम्पनी

‘धान खरिद गर्न मंसिर १५ गते सर्ककुर गरिसकेका छौँ । अब जिल्लामा रहेको खरिद कमिटीको बैठक बसी धान किन्ने निर्णय हुन्छ,’ कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले भनिन्, ‘सम्भवत: अबको साता धान खरिद सुरू हुन्छ ।’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा भदौ २९ मा बसेको मन्त्रिपरिषद् बैठकले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ५२ रुपैयाँ र मध्यम धानको २ हजार ९ सय २ रुपैयाँ तोकेको छ । अन्य धानको हकमा खरिद कमिटीले मूल्य तय गर्ने उनले बताइन् ।

खरिद समितिको अध्यक्षमा सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, सदस्यमा कृषि कार्यालय प्रमुख, कृषि कार्यालयले तोकेका कृषक र सम्बन्धित जिल्लाका संस्थान प्रमुखको कमिटी रहन्छ । कमिटीले स्थानीय उत्पादन, बजार मूल्य र सीमावर्ति मूल्य विश्लेषण गरेर उचित मूल्य तोक्ने कम्पनीको दाबी छ । सरकारले तोकेको धानको मूल्यबारे कतिपय किसान बेखबर छन् । जानकार किसानले पनि भनेअनुसार मूल्य पाएका छैनन् ।

सरकारले मूल्य तोकेपछि कार्यान्वयनको जिम्मा खाद्य व्यवस्था तथा व्यापार कम्पनीकै हो । खाद्यले चालु आर्थिक वर्षमा ३० हजार २ सय टन धान किन्ने योजना बनाए पनि खरिद गर्न ढिलाई गरेको छ । कम्पनीले समयमै धान नकिन्दा किसान सस्तोमा बिक्री गर्नुपर्ने बाध्यतामा छन् । व्यवसायीले भिजेको धान भन्दै प्रतिक्विन्टल १ हजार ९ सय रुपैयाँदेखि २ हजार ३ सय रुपैयाँमा खरिद गरिरहेको राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतले बताए ।

महासंघका अनुसार पश्चिम क्षेत्रमा करिब ९० प्रतिशत धान कटानी भइसकेको छ । पूर्वमा पनि धेरै कटानी भइसकेको छ । धान कटानी तिहारपछि सुरु भएको थियो । करिब ७५ प्रतिशत बिक्री भइसकेपछि बल्ल खाद्यले किन्ने सुरसार गरेको उनले बताए ।

प्रकाशित : मंसिर १७, २०७८ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?