२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

विदेशबाट फर्किएका नेपालीबाट ४ दिनमै विमानस्थल भन्सारले खोस्यो ५६ किलो सुन

काठमाडौँ — विदेशबाट फर्किएका नेपालीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिनदिनै सुन बरामद हुन थालेको छ । गत चार दिनमा कुल ५६ केजी ९३ ग्राम सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालका प्रमुख, प्रशासक महेश भट्टराईले जानकारी दिए ।

विदेशबाट फर्किएका नेपालीबाट ४ दिनमै विमानस्थल भन्सारले खोस्यो ५६ किलो सुन

‘यो सोमबारदेखि बिहीबारसम्म बरामद भएको सुनको परिमाण हो,’ उनले भने, ‘अझैं पनि विदेशबाट फर्केनेहरूबाट अवैध सुन बरामद हुने क्रम रोकिएको छैन ।’ सुनका गहना भन्दै काँचो सुनलाई सामान्य तोडमोड गरेर ल्याइने गरेको भन्दै भन्सारले पछिल्ला दिनमा विमानस्थलमा कडा जाँच गर्न थालेको छ । विदेशबाट फर्कंदा ५० ग्रामसम्म सुनका गहना ल्याउन पाइन्छ भने काँचो सुनका हकमा भन्सार शुल्क तिर्नुपर्छ । ( विदेशबाट आउँदा के ल्याउन पाइन्छ, के पाइँदैन ? )

भन्सारले सुन बरामद गरिसकेपछि ६० दिनभित्र भन्सार महशुल बुझाई लैजान सकिने भट्टराईले जानकारी दिए । चार दिनमा ९ सय ९३ जना यात्रुले करिब ३ करोड ९८ लाख ११ हजार ३ सय २८ रुपैयाँ भन्सार महशुल तिरेर ४१ केजी ५०२ ग्राम सुन फिर्ता लगेको उनले बताए । बरामद सुन फिर्ता नलैजाँदासम्म भन्सारकै लकरमा राखिन्छ ।

अहिलेसम्म सबैभन्दा बढी सोमबार एकैदिन ४ सय १५ जना यात्रुबाट २१ केजी काँचो सुन बरामद भएको थियो । मंगलबार भने २ सय २१ जना यात्रुबाट ११ केजी सुन बरामद भएको भन्सार कार्यालयले जनाएको छ ।

‘बुधबार र बिहीबार पनि अवैध सुन पाएका छौं,’ विमानस्थल भन्सार कार्यालका प्रमुख, प्रशासक भट्टराईले भने ‘बुधबार ३ सय २६ जना यात्रुबाट १५ केजी १६ ग्राम र बिहीबार २ सय ११ जना यात्रुबाट ९ केजी ७७ ग्राम सुन बरामद गर्‍यौं ।’

उनका अनुसार अघिल्लो दिनदेखि लकरमा डिपोजिट भएका सुन यात्रुहरुले भन्सार महशुल बुझाएर लैजाने क्रम पनि चलिरहेको छ । बुधबार ४ सय १० जना यात्रुले एक करोड २६ लाख ८७ हजार ४ सय ५ रुपैयाँ भन्सार महशुल बुझाएर १३ केजी १२ ग्राम सुन फिर्ता लिएर गएका छन् । बिहीबार पनि २ सय ४१ जना यात्रुले एक करोड ९ लाख ९३ हजार ११ रुपैयाँ भन्सार महशुल बुझाएर ११ केजी ४० ग्राम सुन फिर्ता लगिसकेको उनले सुनाए । सोमबार भने १ सय ९५ जना यात्रुले करिब ९४ लाख रुपैयाँ भन्सार महशुल तिरेर १० केजी सुन फिर्ता लगेका छन् । मंगलबार एक सय ४७ जना यात्रुले ६७ लाख ३० हजार ९ सय १२ रुपैयाँ भन्सार महशुल बुझाई ६ केजी ९८२ ग्राम सुन फिर्ता लगेको भन्सार कार्यालले जानकारी दिएको छ ।


प्रकाशित : मंसिर १७, २०७८ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?