कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

भारतबाट निजी रेल ल्याउने प्रतिस्पर्धाले नेपाली आयातकर्तालाई लाभ 

शंकर आचार्य

पर्सा — भारतीय रेल्वे कम्पनीबीच सिर्सिया सुक्खा बन्दरगाहमा मालबाहक रेल ल्याउन प्रतिस्पर्धा बढेपछि नेपाली आयातकर्तालाई फाइदा हुन थालेको छ । प्रतिस्पर्धाको कारण तेस्रो मुलुकबाट आयातित मालबस्तु बोकेका कन्टेनर भारतीय बन्दरगाहहरूबाट वीरगन्जसम्म ल्याउने ढुवानी लागत सस्तिँदै गएको छ । 

भारतबाट निजी रेल ल्याउने प्रतिस्पर्धाले नेपाली आयातकर्तालाई लाभ 

यसअघि भारतीय सरकारी स्वामित्वको कम्पनी कोंकरको १७ वर्ष पुरानो एकाधिकार तोड्दै यसै वर्षको सेम्टेम्बर १५ मा पहिलोपटक भारतको निजी क्षेत्र हिन्द टर्मिनल प्रालिको रेल्वे र्‍याक वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको थियो । अढाई महिनाको अवधिमा हिन्द टर्मिनलले मात्रै भारतको विभिन्न बन्दरगाहबाट १५ पटक आफ्नो रेल्वे र्‍याकमा नेपाली आयातकर्ताको मालबस्तु बोकेका कन्टेनर वीरगन्जसम्म ल्याएको बन्दरगाहस्थित इन्टर मोडल यातायात विकास समितिका प्रमुख कमल ज्ञवालीले जानकारी दिए ।

मंगलबार भारतीय निजी क्षेत्रको अर्को कम्पनी प्रिस्टिन मेगा लजिस्टिक पार्क प्रालिले आफ्नो पहिलो रेल्वे र्‍याक सिर्सिया सुक्खा बन्दरगाहमा ल्याएको थियो । कोलकत्ता बन्दरगाहबाट उक्त र्‍याकमा नेपाली आयातकर्ताले तेस्रो मुलुकबाट आयात गरेको मालबस्तु बोकेका कन्टेनर ल्याइएको उनले बताए ।

अब कोंकर, हिन्द टर्मिनल्स र प्रिस्टिन गरी तीनवटा भारतीय कम्पनीले वीरगन्जसम्म रेल ल्याउन थालेपछि त्यसको लाभ नेपाली आयातकर्तालाई नै भई रहेको ज्ञवाली बताउँछन् । ‘स्वभाविक रुपमा सेवा प्रदायक कम्पनीबीचको प्रतिस्पर्धाले सेवाग्राहीलाई जहिले पनि लाभ नै मिल्ने हो,’ उनले भने, ‘अन्य भारतीय निजी क्षेत्रका कम्पनी पनि यो प्रतिस्पर्धामा उत्रन लागेको जानकारी पाएको छु ।’ ५ महिनाअघि नेपाल र भारतका सरकारबीच भएको रेल्वे सर्भिस एग्रिमेन्टपछि भारतीय निजी कम्पनीहरुले पनि नेपालसम्म ढुवानी गर्ने बाटो खुलेको थियो ।

प्रिस्टिनले नेपाली कम्पनी भ्याली समूहसँगको संयूक्त लगानीमा ५ वर्षका लागि ३ अर्ब ३३ करोड रुपैयाँमा सिर्सिया सुक्खा बन्दरगाह सञ्चालनको ठेक्का पाएको छ । यसअघि निरन्तर हिमालयन टर्मिनल्सले झण्डै १६ वर्ष यो बन्दरगाह सञ्चालन गरेको थियो । प्रिस्टिनले मंगलबार बिहान २० फुटे ९० वटा कन्टेनर बोकेको रेल्वे र्‍याक सिर्सिया सुक्खा बन्दरगाहमा ल्याएको थियो । उसले सातामा २ पटक आफ्नो रेल्वे र्‍याक भारतबाट वीरगन्ज ल्याउने लक्ष्य राखेको प्रिस्टिन भ्यालीका अधिकृत अतुल शर्माले जानकारी दिए । ‘हामीले वीरगन्जसम्म सातामा २ पटक कन्टेनरवाहक रेल्वे र्‍याक ल्याउने लक्ष्य राखेका छौं,’ उनले भने, ‘बिशाखापटनम बन्दरगाहबाट वीरगन्जका लागि कुदेको अर्को रेल्वे र्‍याक बिहीबारसम्म यहाँ आइपुग्ने छ ।’

सुक्खा बन्दरगाहसम्म निजी क्षेत्रले रेल संचालन गर्न थालेपछि ढुवानी भाडा समेत सस्तिएको छ । हाल २० फुटे कन्टेनरको भाडा ६५ हजार रुपैयाँ मात्र छ । अढाई महिना अघिसम्म कोंकरको मात्र एकाधिकार हुँदा उसले नेपाली आयातकर्तासँग सोही कन्टेनरको भाडा ९० हजार रुपैयाँ लिन्थ्यो । हिन्द टर्मिनल्सले अढाई महिना अघि पहिलो पटक आफ्नो रेल्वे र्‍याक वीरगन्ज ल्याएकै दिन कोंकरले पनि आफ्नो ढुवानी भाडा दर घटाएर ६५ हजार रुपैयाँ बनाएको थियो ।

वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरी गौतमले भारतीय कम्पनीबीचको प्रतिस्पर्धाले नेपाली आयातकर्तालाई लाभ भइरहेको बताए । ‘१७ वर्ष कोंकरको एकाधिकार हुँदा नेपाली आयातकर्ताले उसले भनेकै शुल्क तिर्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अहिले हामीसँग विकल्प तयार छ, अब नेपाली आयातकर्ताको कन्टेनर लामो समय भारतीय बन्दरगाहमा अड्किने समस्या पनि समाधान हुँदै जाने छ ।’ वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडियाले यसरी एकपछि अर्को गरी भारतीय रेल्वे कम्पनीहरू नेपाल भित्रिन थालेपछि ढुवानी सेवामा प्रतिस्पर्धा बढ्ने र त्यसले लागत कम हुन जाने बताउँछन् । ‘अब कोलकत्ता बन्दरगाहमा लामो समय हाम्रो कन्टेनर अड्किएर चर्को विलम्ब शुल्क तिर्नुपर्ने समस्याको समाधान पनि हुन जान्छ,’ उनले भने, ‘साथै हाम्रो समयको पनि बचत हुन्छ ।’

२०६१ सालदेखि सञ्चालनमा आएको मुलुककै पहिलो सुक्खा बन्दरगाह सिर्सियामा स्थापना कालदेखि नै भारतीय रेल्वेको भगिनी संस्था कोंकरको एकाधिकार थियो । कोंकरले समयमा कन्टेनर तथा बल्क कार्गो बस्तु ढुवानी नगरिदिने, रेल्वे भाडा बढी लिने तथा खाली कन्टेनरहरू वीरगन्जबाट फिर्ता लैजान समय लगाउनेजस्ता गुनासो लामो समयदेखि नेपाली आयातकर्ताको रहँदै आएको थियो ।

सुक्खा बन्दरगाह भारतको रेल्वे सञ्जालसँग जोडिएपछि नेपाली आयातकर्ताले तेस्रो मुलुकबाट आयात गरेको मालबस्तु ल्याउन सहज भएको छ । सडक मार्ग भन्दा रेल मार्गबाट कन्टेनर तथा मालबस्तु ढुवानी गर्दा लागत सस्तो पर्न जाने, बाटोमा मालबस्तु हराउने समस्या नहुने तथा टुटफुट समेत नहुने भएकाले नेपाली आयातकर्ताले पछिल्लो समय रेलबाटै मालबस्तु ढुवानी गर्न रुचाउन थालेका छन् ।

भारतबाट चिनी, रासायनिक मल, फलाम, गेडागुडी बल्क कार्गो बस्तु आयात गर्न पनि रेल अत्यन्त उपयोगी साबित हुँदै आएको छ । इन्टर मोडल यातायात विकास समितिको तथ्यांक अनुसार, चालु आवको मंसिर १४ गतेसम्म भारतबाट २ सय ८३ वटा रेल्वे र्‍याक सिर्सिया सुक्खा बन्दरगाह आइपुगेका छन् । प्रत्येक रेल्वे र्‍याकमा ८० देखि ९० वटा सम्म मालबाहक कन्टेनर हुन्छन् ।


प्रकाशित : मंसिर १७, २०७८ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?