कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सौराहलाई एमाले प्रतिनिधिको आश्वासन ‘फेरि आउँछौं, आउनुअघि फोन गरौंला’

रमेशकुमार पौडेल

चितवन — नेतृत्व चयन गर्दै नेकपा (एमाले) को दसौं महाधिवेशन मंगलबार साँझ सकियो । मतदानलगत्तै धेरै प्रतिनिधि घर फर्के । केही प्रतिनिधि नतिजा कुरेर बसे । तर बुधबार बिहान १० बज्दा नबज्दै केन्द्रीय समितिमा निर्वाचित केहीबाहेक महाधिवेशनका लागि आएका प्राय:ले सौराहा छाडेका थिए । होटलबाट बाहिरिँदै गर्दा रिसेप्सनबाट भिजिटिङ कार्ड झिकेर खल्तीमा राख्दै भन्थे, ‘फेरि आउनुपर्छ । आउनुअघि फोन गरौंला ।’

सौराहलाई एमाले प्रतिनिधिको आश्वासन ‘फेरि आउँछौं, आउनुअघि फोन गरौंला’

महाधिवेशनमा लागि २२ सय प्रतिनिधिसहित एमालेका नेता, कार्यकर्ता मंसिर ९ देखि नै चितवनमा भेला हुन थालेका थिए । मंसिर १० मा नारायणगढमा उद्घाटन कार्यक्रम सकिएलगत्तै उनीहरु बास बस्न सौराहा गए । बन्दसत्र सौराहामै भयो । मंसिर १० देखि सौराहाका सबै होटलका कोठा भरिए । सडकभर गाडी र मान्छेको ताँती लाग्यो । सौराहा न रातमा सुत्यो, न दिनमा आराम गर्‍यो ।

दुर्लभ वन्यजन्तु हेर्न चितवन निकुञ्ज घुम्न आउने देशविदेशका पर्यटक बास बस्ने ठाउँ हो, सौराहा । तर पर्यटन सुस्ताएका बेला एमाले पार्टीका प्रतिनिधिहरुले सौराहालाई चलायमान बनाए । शान्त राप्ती नदी र निकुञ्जको हरियो जंगलको आडमा रहेको सौराहामा दुईचार दिन व्यस्त सहर बजारको झैं चमकधमक देखियो । ‘त्यत्रो भीड आउँदा पनि अनावश्यक होहल्ला र फोहोर भएन,’ सौराहाका गोपाल अधिकारीले भने ।

सरस्वती चालिसे सौराहा साना पर्यटन व्यवसायी संस्थाको निवर्तमान अध्यक्ष हुन् । बुधबार मध्याह्न पाहारिलो घाम ताप्दै ८० वर्षीय गोपाल अधिकारी र सरस्वती चालिसे महाधिवेशनको चहल पहलका विषयमै कुरा गर्दै बसेका थिए । सौराहा पर्यटकीय क्षेत्र हुनुअघि २०२६ सालदेखि बस्दै आएका घिमिरेलाई महाधिवेशनमा आएकाहरु ‘सभ्य’ लाग्यो । अधिकारीका कुरामा व्यवसायी सरस्वती चालिसेले पनि सहमति जनाइन् । देशभरबाट आएका मान्छे भेला हुँदा व्यवसायीलाई लाभ हुने नै भयो । सौराहामा सटर भाडामा लिएर फलफूल, तरकारी पसल, किराना सामग्री र प्रोभिजनल स्टोर्स जस्ता पर्यटक लक्षित सामग्री बेच्ने ५२ जना साना पर्यटन व्यवसायी संस्थाका सदस्य छन् । महाधिवेशनका बेला उनीहरुको व्यापार राम्रै भयो ।

सौराहाका व्यवसायी प्रतिनिधिको व्यवहार र उनीहरुका कारण बढेको व्यपारबाट सन्तुष्ट छन् । सौराहा आएका पर्यटक हात्ती सफारी, जिप सफारी र राप्ती, बुढी राप्ती र ढुङ्ग्रे खोलामा डुंगा सफारी गर्दछन् । राप्ती किनारमा लहरै बनेका रेस्टुराँ र पबमा बसेर साँझपख अस्ताउँदै गरेको सूर्य नियाँल्दै खानपानमा रमाउँछन् । मान्छे आएको तुलनामा सफारी र रेस्टुरेन्टको व्यपार भने त्यति चलेन । महाधिवेशन प्रतिनिधि र एमाले कार्यकर्ताबाहेक अरू पर्यटक नआएका कारण सफारीमा खासै चाप नभएको सौराहा आडको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितबहादुर तमाङले बताए ।

परिवारसहित फर्केर घुम्न आउने चाहना भएकाहरु धेरै नै भेटिए । ‘हामी आशावादी छौं । किनकि प्राय:ले सौराहा घुम्नुपर्ने ठाउँ रहेछ, अहिले चाप पर्‍यो, पछि आउँला भनेका छन्,’ क्षेत्रीय होटल संघ सौराहा (हान) का पूर्वअध्यक्ष सुमन घिमिरेले भने । सौराहाले उत्कृष्ट सेवा दिन सक्छ भन्ने सन्देश देशभर गएको हुँदा आउँदा दिनमा यसले पर्यटनमा राम्रो प्रभाव पार्ने होटल पार्क सफारीका सञ्चालक महेश खनालको भनाइ छ ।

महाधिवेशनले सौराहालाई एकै पटक देशभर चिनाएको रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडा बताउँछन् । ‘हामी सौराहाको प्रचार गर्न देशका विभिन्न ठाउँमा जाने गरेका थियौं । तर अहिले त देशका कुनाकुनाबाट मान्छेहरु सौराहा आए । यो राम्रो अवसर हो । सौराहालाई धेरैले चिने,’ उनले भने ।

यस पटक सौराहाका सानाभन्दा साना व्यवसायीले पनि आम्दानी गरे । सौराहा आडको चराचोक घर भएकी सुमित्रा खनालले करेसाबारीको सयपत्री बेचेरै १५ हजार रुपैयाँ कमाइन् । होटल व्यवसायीहरुले पनि यो बेला राम्रो आम्दानी लिए । पार्टीले नेता, स्वयंसेवक र अतिथि राख्न सौराहामा ३५ सय बेड बुक गरेको थियो । अरूले पनि कोठा उत्तिकै मात्रामा बुक गरेका थिए । त्यसैले सौराहाका होटलमा रहेका ६५ सय बेड यस पटक पूरै भरिए ।


प्रकाशित : मंसिर १७, २०७८ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?