२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

११ महिनामा भित्रिए सवा लाख पर्यटक

काठमाडौँ — कोरोना महामारीका कारण यो वर्ष (सन् २०२१) का पहिलो ११ महिनामा हवाई मार्ग भएर १ लाख २६ हजार २ सय ८३ पर्यटक मात्र नेपाल घुम्न आएका छन् । गत वर्ष त्यही अवधिमा हवाई मार्गबाट २ लाख ३० हजार ८५ जना पर्यटक आएका थिए । त्यसअघि सन् २०१९ को नोभेम्बरमा मात्र १ लाख ३० हजार पर्यटक नेपाल आएका थिए ।

११ महिनामा भित्रिए सवा लाख पर्यटक

सरकारले गत वर्ष २० लाख पर्यटक ल्याएर नेपाली अर्थतन्त्रलाई कायापलट गर्ने लक्ष्य राख्दै नेपालले भम्रण वर्ष अभियान घोषणा गरेको थियो । तर महामारीका उक्त अभियान स्थगन गरिएको थियो । पर्यटन बोर्डका अनुसार, २०२० को नोम्बरको दाँजोमा यो वर्ष नोभेम्बरमा २४ हजार बढी पर्यटक आएका छन् । गत वर्ष नोभेम्बरमा १९ सय पर्यटक मात्र आएका थिए । पर्यटकको आगमन संख्या घटेको देखिए पनि यो वर्ष ‘स्तरीय’ पर्यटक आएको व्यवसायीहरु बताउँछन् । पर्यटन बोर्डका सीईओ (प्रमुख कार्यकारी अधिकृत) धनञ्जय रेग्मी पर्यटकको संख्यालाई नै उपलब्धि नै मान्नुपर्ने बताउँछन् ।

सरकारी तथ्यांकका अनुसार जुन (मध्यअसार) यता पर्यटकको संख्या क्रमश: बढ्दो छ । जुनमा ११ सय पर्यटक आएका थिए भने नोभेम्बरमा यो संख्या २६ हजार पुग्यो । पर्यटकको संख्यामा वृद्धिसँगै ठमेलदेखि पोखरासम्मका पर्यटकलक्षित बजारमा पनि चहलपहल बढेको छ ।

‘हवाई मार्गबाट जति आएका छन्, यिनले पोखराका व्यवसायीलाई उत्साहित बनाएका छन्,’ सीईओ रेग्मीले कान्तिपुरसँग भने । उनका अनुसार नेपालको पर्यटन क्षेत्रले कोराना कालमा मासिक ७ अर्ब रुपैयाँ नोक्सानी बेहोरेको छ । ‘करिब डेढ खर्ब लगानी भएका ८ हजार २ सय ८५ वटा (वायुसेवा, होटल, रेस्टुरेन्ट, रिसोर्ट, टुर, ट्राभल, साहसिक खेल पर्यटनलगायत) क्षेत्र जोखिममा परे,’ रेग्मीले भने । अबको वसन्तकालीन यामको बुकिङ आशालाग्दो रहेको नेपाल एसोसिएसन फर टुर एन्ड ट्राभल एसोसिएसनका महासचिव सुधीरकुमार उपाध्यायले जानकारी दिए । पछिल्लो समय टुर प्याकेज बनाउने व्यवसायीहरुले उल्लेख्य संख्यामा बुकिङ कल पाइरहेको उनले बताए ।

होटलतर्फ पनि बुकिङबारे चासो क्रमश: बढिरहेको होटल संघ नेपाल (हान) की अध्यक्ष सिर्जना राणाले बताइन् । कोरोना महामारीपछि देशभरका होटलले आन्तरिक पर्यटकमा चित्त बुझाउनुपरेको थियो । महामारीकै असरले पर्यटकको संख्यामा कमी आउँदा काठमाडौंका तारे होटल अझै पूर्ण रूपमा सञ्चालनमा आइसकेका छैनन् । ‘अहिले काठमाडौंका होटलमा आक्कल झुक्कल विदेशी देखिन थालेका छन्,’ अध्यक्ष राणाले भनिन् ।

प्रकाशित : मंसिर १६, २०७८ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?