कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेज प्राधिकरण र उद्योगीबीच विवाद, मूल गेटमै तेर्स्याइए मालवाहक ट्रक

माधव ढुंगाना

भैरहवा — उत्पादित बस्तुको ६० प्रतिशत विदेश निकासीको विषयलाई लिएर विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण र व्यवसायीबीच विवाद भएको छ । भैरहवा विशेष आर्थिक क्षेत्रमा पहिलोपटक स्थापित तथा सञ्चालित उद्योग शक्ति मिनरल्स प्रालि र प्राधिकरणबीच विवाद सुरु भएको हो ।

सेज प्राधिकरण र उद्योगीबीच विवाद, मूल गेटमै तेर्स्याइए मालवाहक ट्रक

विशेष आर्थिक क्षेत्र ऐनबमोजिम उत्पादनको ६० प्रतिशत बाह्य निकासी नगरेको भन्दै सेज प्राधिकरणले मंगलबारदेखि आन्तरिक निकासी रोक लगाएपछि विवाद उत्पन्न भएको हो । आन्तरिक निकासीमा प्राधिकरणले रोकेपछि त्यसको विरोधमा शक्ति मिनरल्सले पनि बुधबारदेखि भारततर्फ गर्दै आएको बाह्य निकासी पनि रोकेको छ । उद्योगका आन्तरिक र बाह्य निकासीका लागि लोड गरिएका मालवाहक ट्रक र अन्य उपकरण सेजको मूल गेटमै खडा गरिएका छन् ।

सेज ऐनअनुसार सेजमा सञ्चालित उद्योगले एक वर्षपछि ६० प्रतिशत उत्पादन बाह्य निकासी गर्नुपर्ने प्रावधान छ । आन्तरिक बजारमा ४० प्रतिशतसम्म बिक्री गर्न पाइन्छ । शक्ति मिनरल्सले चालु आवको पहिलो चार महिनामा बाह्य निकासी ६.५० प्रतिशत मात्रै गरेको जनाएको छ । उद्योगले भने १७ प्रतिशत भएको दाबी गरेको छ ।

उद्योगका मेकानिकल इन्जिनियर दीपक झाले दुई वर्षयता कोरोनाका कारण निकासीमा समस्या भएको बताए । ‘बाह्य मुुलुुकमा ६० प्रतिशत निकासी नगरेको भन्दै पूर्व जानकारीबिना हाम्रो उत्पादन आन्तरिक बजारका लागि एकाएक बिक्री रोकियो,’ उनले भने, ‘कोरोना महामारी र त्यस बेला स्वयं सेज प्राधिकरणले उद्योगलाई सहजीकरण नगर्दा बाह्या निकासीमा समस्या थियो ।’ उक्त उद्योगबाट कुखुुराको दाना बनाउन प्रयोग गरिने लाइनस्टोन ग्रिड र पाउडर उत्पादन गर्ने गर्छ । तीन वर्षदेखि उत्पादन सुरु गरेको उक्त उद्योगमा ४० करोड रुपैयाँ लगानी छ ।

चालुु आर्थिक वर्षको चार महिनामा १७ लाख ६१ हजार रुपैयाँ बराबरको उत्पादन भारत निकासी गरेको यो उद्योगले आन्तरिक बजारमा २ करोड ५३ लाख रुपैयाँको बिक्री गरेको छ । ‘सेजमा जुन प्रकारको सेवा सुविधा दिने भनेर व्यवसायीलाई बोलाइयो, ती सुविधा उपलब्ध गराउन प्राधिकरणले ध्यान दिंदैन,’ झाले भने, ‘बाह्य निकासीमा भने उद्योगलाई समस्या परेको बेलामा पनि नियमअनुरूप भएन भनेर अवरोध गर्छ ।’


सेज ऐनमा उल्लेख भएअनुरूपको बिजुली, पानी, टेलिफोन, सडक बत्ती, भन्सार सुविधा, एकद्वार प्रणालीलगायतका सुविधा नभएको उनले बताए । आवश्यक पूर्वाधार र सुुविधा दिन सरकार चुुकेको आरोप उनको छ । पछिल्ला दिनमा आन्तरिक बजारमा दैनिक करिब ४ लाख र बाह्य बजारमा २ लाख रुपैयाँ मूल्य बराबरको निकासी गर्दै आएको छ । बाह्य निकासीमा पछिल्ला दिनमा सुधार आइरहेको उद्योगले जनाएको छ ।

विशेष आर्थिक क्षेत्र भैरहवाका प्रमुख तथा इन्जिनियर जीवन पौडेलले ऐनअनुुसारको निकासी नगरेपछि शक्ति मिनरल्सलाई आन्तरिक बजारमा बिक्री वितरणमा रोक लगाइएको बताए । ‘उद्योगले बाह्य निकासीलाई बढाउनुुपर्छ,’ उनले भने, ‘जुुन उद्देश्यले यहाँ उद्योग स्थापना भएको हो, त्यसअनुसार चल्नुपर्छ ।’ सेजमा व्यवसायीलाई दिनु पर्ने सुविधा र पूर्वाधार बिस्तारै भइरहेको उनले बताए ।


प्रकाशित : मंसिर १६, २०७८ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?