पर्वतारोहण संघले राहत दिने

काठमाडौँ — नेपाल पर्वतारोहण संघले निप्पोन फाउन्डेसन (जापान) को सहयोगमा कोरोना भाइरसको महामारीबाट पीडित ३ हजार पर्वतारोही र २ सय कुष्ठरोगीलाई राहत वितरण गर्ने भएको छ ।

पर्वतारोहण संघले राहत दिने

राहत वितरण गर्ने घोषणा गर्दै बुधबार आयोजित कार्यक्रममा संघका अध्यक्ष सन्तवीर लामाले भने, ‘कोभिड १९ महामारीबाट एकदमै पीडित भएको मानिसहरूको समूहमध्ये पर्वतारोही पनि हो । धेरै पर्वतारोही अझै पनि आर्थिक संकटबाट गुज्रिएका छन् । त्यसैले हामी उहाँहरूलाई निप्पोन फाउन्डेसनको सहयोगमा थोरै भएपनि राहत वितरण गर्दैछौं । यो हाम्रो सानो प्रयासमा तीन हजार गाइडलाई राहत वितरण गर्दैछौं, जसबाट १५ हजार मानिस लाभान्वित हुनछन् ।’ संघमा ११,४११ जना गाइड दर्ता भएका छन् ।

सस्ंकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले कार्यक्रमको उद्घाटन गर्दै भने, ‘कुष्ठरोग उन्मूलनमा जापानले नेपाललाई धेरै सहयोग गरेको छ । यो महामारीसँग जुध्न पनि जापानको सहयोग महत्वपूर्ण रहेको छ । महामारीले समस्यामा परेका पर्वतारोहीलाई निप्पोन फाउन्डेसनको सहयोगले केही राहतसँगै आत्मविश्वास दिनेछ ।’ संघका महासचिव कुलबहादुर गुरुङले अर्को महिना (पुस) देखि राहत वितरण गर्ने बताए ।

दुई लाख १ हजार ६ सय अमेरिकी डलर बजेटको कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका ३ हजार पर्वतारोहीलाई खाद्यन्न तथा खोकना (ललितपुर) मा २ सय कुष्ठरोगीलाई जाडो यामको लागि लत्ताकपडा वितरण गर्ने संघले जनाएको छ । संघले यसअघि आइसोलेसन सेन्टरहरूमा अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजर, साबुनलगायत स्वास्थ्य सामग्री वितरण गरेको थियो ।

प्रकाशित : मंसिर १५, २०७८ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?