बिलासिताका वस्तु आयातमा कडाइ गर्छौं : अर्थमन्त्री शर्मा

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले बिलासिताका वस्तु आयातमा सरकारले कडाइ नीति लिने बताएका छन् । आन्तरिक उत्पादनलाई प्रवद्र्धन एवम् औद्योगिकीकरणका लागि सहजीकरणको नीति लिँदा केही वस्तुको आयात निरुत्साहन भइसकेको शर्माको भनाइ छ ।

बिलासिताका वस्तु आयातमा कडाइ गर्छौं : अर्थमन्त्री शर्मा

बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५ औं वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री शर्माले उत्पादन, उत्पादकत्व र औद्योगिकीकरणका लागि विलासिताका वस्तु आयातमा कडाइ गर्दै जाने बताएका हुन् ।

स्वदेशी एवं विदेशी लगानीका लागि प्रोत्साहनको नीति सरकारले लिएकाले निजी क्षेत्रले यसबाट लाभ लिन सक्नुपर्ने अर्थमन्त्री शर्माले बताए । खुला बजार अर्थतन्त्र, आर्थिक उदारीकरण र सशक्त निजी क्षेत्रको पक्षमा सरकार रहेको पनि उनले स्पष्ट पारे । ‘आर्थिक सुधारका प्रयास भइरहेका छन् । सार्वजनिक खरिदमा भएको नीतिगत व्यवस्था र मौद्रिक नीतिमार्फत भएका विभिन्न व्यवस्था यसैको निरन्तरता हो,’ शर्माले भने, ‘गैर आवासीय नेपालीले विभिन्न ८ वटा विदेशी मुद्रामा खाता खोल्न सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।’

नेपालले जलविद्युत्, पर्यटन लगायतका क्षेत्रलाई तुलनात्मक लाभ क्षेत्रका रुपमा स्थापित गर्न सक्नुपर्ने पनि अर्थमन्त्री शर्माको भनाइ छ । व्यवसायिक कृषि र आन्तरिक स्रोत साधनको भरपुर उपयोगमार्फत आयात घटाउनुपर्ने नीति लिनुपर्ने र त्यसका लागि निजी क्षेत्रको भूमिका अहम् हुने उनले बताए ।


प्रकाशित : मंसिर १५, २०७८ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?