३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नेपाल दुई दशकभित्रै समुन्नत राष्ट्र : प्रधानमन्त्री देउवा

'सरकार निजी क्षेत्रलाई नियन्त्रणको पक्षमा छैन, तपाईंको लगानी र सम्पत्तिको सुरक्षा हुन्छ'

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई अबको ५ वर्षभित्र विकासशील र दुई दशक (वि.सं २१००) सम्ममा समुन्नत राष्ट्र बनाउनका लागि दोस्रो चरणको आर्थिक सुधार आवश्यक रहेको बताएका छन् । दोस्रो चरणको सुधारका लागि नीति नियम र आवश्यक पूर्वाधार निर्माणसँगै निजी क्षेत्रको भूमिका पनि बढाउने पक्षमा सरकार रहेको प्रधानमन्त्री देउवाले बताए ।

नेपाल दुई दशकभित्रै समुन्नत राष्ट्र : प्रधानमन्त्री देउवा

बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५ औं वार्षिकोत्सव समारोहमा बोल्दै देउवाले यसअघि मुलुकले अवलम्बन गरेको खुला बजार अर्थनीतिका कारण हासिल गरेको उपलब्धीलाई दोस्रो चरणको आर्थिक सुधारमार्फत संस्थागत गरिनुपर्नेमा जोड दिए । त्यसका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य हुने बताए । दोस्रो चरणको सुधारका लागि सरकार आवश्यक नीति, कानुन, रणनीति, योजना तथा संरचना निर्माणका लागि तयार रहेको उनको भनाइ छ । सरकार निजी क्षेत्रलाई अनावश्यक नियन्त्रण गर्ने पक्षमा नरहेको देउवाको भनाइ छ । नेपाललाई केही समयअघिमात्र संयूक्त राष्ट्रसंघको महासभाले विकासोन्मुखबाट विकासशील राष्ट्रमा बढुवा गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । नेपालले सन् २०२६ सम्ममा विकासशील राष्ट्र बन्नका लागि तयारी अवधि पाएको छ । त्यस्तै, सन् २०३० सम्ममा दिगो विकास सम्बन्धी सबै लक्ष्य पुरा गर्ने नेपालको योजना छ ।

‘दोस्रो चरणको आर्थिक सुधारले नेपाललाई विकसित राष्ट्रको रुपमा स्थापित गर्न सहयोग पुग्नेछ,’ प्रधानमन्त्री देउवाले भने, ‘कतिपय साथीहरुलाई सुधार भन्ने शब्द मन नपर्न सक्छ, तर आधारभूत रुपमा मुलुकका सबै राजनीतिक दलले यो एजेन्डा स्वीकृत गरेका छन् ।’

दोस्रो चरणको आर्थिक सुधारका लागि अब ढिलाई गर्न नहुने पनि प्रधानमन्त्री देउवाको भनाइ छ । राजनीतिक उतार–चढाव, प्राकृतिक प्रकोप र कोभिड १९ महामारीका कारण नेपालको अर्थतन्त्र निकै पछि परिसकेको र अब सुधार प्रकृया थालनी गर्न लामो समय नरेको उनले बताए । त्यस्तै, नेपालमा लगानी र व्यवसायको वातावरण बनाउनका लागि सरकार प्रतिवद्ध रहेको उनले बताए । ‘सरकार अनावश्यक नियन्त्रणको पक्षमा छैन, बरु आवश्यक नियमन र सहजीकरणको पक्षमा छ,’ प्रधानमन्त्री देउवाले भने, ‘त्यसैले देश तथा विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्छु । नेपालमा तपाईको लगानी र सम्पत्तिको सुरक्षा हुन्छ । सरकारले त्यसको ग्यारेन्टी लिन्छ ।’

त्यस्तै, अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सुधारका प्रयास भइरहेको र विभिन्न नीतिगत व्यवस्थाले निजी तथा बाह्य क्षेत्रलाई थप सशक्त बनाउँदै लगेको बताएका छन् । ‘आर्थिक सुधारका लागि प्रयासहरु भइरहेका छन् । सार्वजनिक खरिद नियमावलीमा संशोधन, विदेशी मुद्रामा बैंक खाता खोल्ने लगायतका सुधारका प्रयास भइरहेका छन्,’ अर्थमन्त्री शर्माले भने ।

सेजनले आफ्नो रजत जयन्तीका अवसरमा हिमाल खबर डटकमका रमेश कुमार न्यौपाने र अन्नपूर्ण पोस्ट दैनिककी सुनीता कार्कीलाई सेजन अवार्डबाट सम्मानित गरेको छ । वर्षभरीमा प्रकाशित आर्थिक समाचारहरुमध्येबाट परेका प्रस्तावमध्ये अनलाइन र छापा गरी दुई विधामा अवार्ड दिइएको हो । त्यस्तै, सेजनका पूर्व उपाध्यक्ष सन्जय न्यौपानेको स्मृतिमा स्थापना भएको ‘सन्जय न्यौपाने रिसर्च ग्रान्ट’ कारोबार दैनिककी सरस्वती ढकाललाई दिइएको छ भने ‘सेजन हाइड्रो फेलोसिप अवार्ड’ नागरिक दैनिकका हिमाल लम्साललाई दिइएको छ ।


प्रकाशित : मंसिर १५, २०७८ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?