अवैध मोबाइल भित्रिने क्रम नरोकिए धर्नामा बस्ने व्यवसायीको चेतावनी- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अवैध मोबाइल भित्रिने क्रम नरोकिए धर्नामा बस्ने व्यवसायीको चेतावनी

कान्तिपुर संवाददाता

काठमाडौँ — व्यवसायीले अवैध मोबाइल भित्रिने क्रम नरोकिए धर्नामा बस्ने चेतावनी दिएका छन् । बुधबार मोबाइल वितरक संघको दोस्रो महाधिवेशनमा उनीहरुले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तुरुन्त कार्यान्वयनमा ल्याउन अर्थमन्त्री जनार्दन शर्मासँग आग्रह गरे ।

साउन १ बाटै लागू गरिने भनिएको एमडीएमएस प्रणाली अझै पूर्ण रूपमा लागू हुन सकेको छैन । यसले गर्दा अवैध मोबाइल फोनको बिक्री वितरण बढिरहेको व्यवसायीहरू बताउँछन् ।

‘अब पनि एमडीएमएस लागू भएन भने हामी दूरसञ्चार प्राधिकरणको गेटमा धर्नामा बस्नुको विकल्प हुँदैन,’ मोबाइल फोन आयातकर्ता संघका उपाध्यक्ष सञ्जय अग्रवालले भने, ‘आश्वासन मात्रै धेरै आइसक्यो । यही महिनाभित्र लागू गर्नुपर्छ ।’ कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले एमडीएमएस तुरुन्तै कार्यान्वयनमा ल्याउने आश्वासन दिए ।

‘मलाई यसबारे व्यवसायीहरूले हिजोमात्रै भन्नुभयो,’ मन्त्री शर्माले भने, ‘यो तत्काल लागू गर्न निर्देशन दिइसकेको छु यो समस्या समाधान हुन्छ ।’ शर्माले एमडीएमएसका विरुद्ध कोही पनि नलागेको र कसैले आफूलाई रोक्न नखोजेको स्पष्ट पारे ।प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले केही महिनाको अन्तरालमै एमडीएमएस लागू हुने प्रतिबद्धता व्यक्त गरे ।

उनका अनुसार आव २०७७/७८ मा करिब ३७ अर्ब रुपैयाँ बराबरको ७० लाख हाराहारीका मोबाइल सेट आयात भएको थियो । त्यसबाट करिब ६ अर्ब राजश्व संकलन भएको अर्यालले बताए । नेपाल भित्रिनेमध्ये २५ देखि ३० प्रतिशत मोबाइल फोन अवैध रूपमा आउने गरेको अनुमान छ ।

(तीन महिनामै सवा १७ अर्बको मोबाइल भित्रियो)


प्रकाशित : मंसिर १५, २०७८ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्

बुढीगण्डकीमा खसेर बेपत्ता

कान्तिपुर संवाददाता

गोरखा — चुमनुव्री गाउँपालिका–४ गपस्थित भीरबाट बुढीगण्डकीमा खसेर बागलुङ निसिखोला गाउँपालिका–६ का ४१ वर्षीय वीरबहादुर घर्ती बेपत्ता भएका छन् ।

सिर्दिवासबाट खच्चडमार्फत उपभोग्य सामाग्री पुर्‍याउन नामरुङ हिँडेका घर्ती गपस्थित साँघुरोबाटोबाट झन्डै एक सय ५० मिटर तल बुढीगण्डकीमा खसेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।

घर्ती उत्तरी क्षेत्रमा खच्चड धपाउने काम गर्दै आएका थिए । स्थानीय लार्के प्रहरी चौकीबाट खटि गएको प्रहरी टोलीले बुधबार बिहानबाट स्थानीयको सहयोगमा बेपत्ताको खोजी गरिरहेको प्रहरीले जनाएको छ । ‘तल ठाडै भीर छ, बेपत्ता भएका व्यक्तिको झोला, पर्स मोबाइल, टोपी किनारमा फेला परेको छ,’ उनले भने ।


प्रकाशित : मंसिर १५, २०७८ १३:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×