बेमौसमी वर्षाको प्रभाव: टिप्ने बेला हरियै सुन्तला

हरिराम उप्रेती

गोरखा — सुन्तला टिपेर बजार लैलाने सिजन सुरु हुँदासम्म सुन्तला बोटमै हरिया छन् । दानामा गुलियोपन भर्खर लाग्दै छ । अघिल्ला वर्ष कात्तिक पहिलो साताबाटै यहाँका किसानका सुन्तला बजार पुग्थे । यस वर्ष मंसिर पहिलो सातासम्म सुन्तला बोटमै हरिया छन् । गोरखा नगरपालिका–१४ कि निर्मला थापाले डेढ साताअघि तीन सय बोटको बगैंचाका सुन्तला बिक्रीका लागि ठेकेदारलाई जिम्मा लगाइन् । तर रङ नआउँदा ठेकेदारले टिप्न पाएका छैनन् ।

बेमौसमी वर्षाको प्रभाव: टिप्ने बेला हरियै सुन्तला

‘यस वर्ष भर्खर कलर आउँदै छ । अझै केही दिन लाग्ने भयो,’ थापाले भनिन् । ६ लाख रुपैयाँमा सुन्तला ठेकेदारलाई बिक्री गरेको उनले बताइन् । ‘९–१० लाख रुपैयाँको सुन्तला बिक्री गर्ने लक्ष्य थियो,’ उनले भनिन्, ‘दाना लाग्ने बेला सुन्तलामा पहेँलो पतेरा देखियो, पछि दाग पनि देखियो । ढिलो पनि पाक्यो । त्यसैले ठेकेदारसँग पनि बार्गेनिङ गर्न सकेनौं ।’ कात्तिक पहिलो साता आएको बेमौसमी वर्षाका कारण सुन्तला ढिला पाकेको उनको भनाइ छ ।

विगतमा तिहारमा खान तयार हुने सुन्तलामा यस वर्ष गुलियोपन ढिला पसेको किसान बताउँछन् । भट्टबेंसी क्षेत्रका ३० भन्दा बढी किसानका बगैंचाका सुन्तला बोटमै हरियो रहेको थापाको भनाइ छ । ‘फाटफुट मात्र सुन्तला बिक्री भएको छ, अमिलो सुन्तला बेच्न लैजान पनि ठेकेदार डराएका छन्,’ उनले भनिन्, ‘यो घाम नलाग्ने, हुस्सु बढी लाग्ने ठाउँ पनि हो । त्यसमाथि बमौसमी वर्षाले पनि सुन्तलालाई असर गर्‍यो ।’

साउन र भदौमा बढी पानी परेको र घाम कम अनि बादल बढी लागेर तापक्रम नमिल्दा यस्तो समस्या आएको कृषि प्राविधिक बताउँछन् । अघिल्ला वर्षमा तिहारका बेला गोरखाका सुन्तला बजार पुगिसक्थे । यो वर्ष मंसिर दोस्रो सातासम्म पनि सुन्तला बजार पुगेका छैनन् । जलवायु परिवर्तनको असर सुन्तला खेतीमा देखिएको देउरालीका दीपबहादुर आलेले बताए । उनले झन्डै पाँच सय बोटका बगैंचा १९ लाख रुपैयाँमा ठेक्का दिएका छन् । ‘१५–२० जना किसानको सुन्तला ठेक्का लागिसकेको छ । तर फाटफुटबाहेक टिप्न थालिएको छैन । अब कलर आएपछि ठेकेदारले टिप्न थाल्छन्,’ आलेले भने, ‘गोरखाको सुन्तला भनेर बजारमा पनि छ्यापछ्याप्ती पुगेको छैन ।’

खुद्रामा सुन्तला बेच्ने किसानले पनि सुन्तला पर्याप्त मात्रामा बजार पुर्‍याएका छैनन् । यहाँको सुन्तला काठमाडौं, बुटवल, भैरहवा नारायणगढ, मुग्लिङलगायत सहरमा बिक्री हुने गरेको छ । मनकामना, मास्कीछाप, ताप्ले, भट्टबेंसी, फिनाम र नारेश्वर सुन्तला पकेट क्षेत्र हुन् ।

प्रकाशित : मंसिर १५, २०७८ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?