३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

उत्तरी नाका अझै असहज

अनिश तिवारी

सिन्धुपाल्चोक — प्रधानमन्त्री कार्यालयका सचिव शिशिरकुमार ढुंगानाको अगुवाइमा सरकारी सम्मिलित टोलीले आइतबार तातोपानी नाकाको अनुगमन गर्‍यो । चिनियाँ नाकाको भौतिक संरचना र सम्बद्ध अधिकारीसँग हालको अवस्थाबारे जानकारी लिन आएको टोलीमा १३ जना थिए ।

उत्तरी नाका अझै असहज

टोलीलाई व्यवसायी र स्थानीयले सोधे, ‘तपाईंहरूले पनि अवस्था हेर्नुभयो । अब नाका सहज हुन्छ ?’ काठमाडौं फर्केपछि प्रतिवेदन तयार गर्ने सोही आधारमा नाकामा व्यापार बढाउन योजना बनाएर चीन पक्षसामु विवरण राख्ने आश्वासन टोलीले दिएको थियो । तर नाका चिनियाँ अधिकारीको आदेशअनुसार सीमित मात्रै खुलेको छ ।

अनुगमन टोलीमा गृह र परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, सडक विभागका सिनियर डिभिजन इन्जिनियर, नेपाल इन्टर मोडल यातायात विकास समिति कार्यकारी निर्देशक आशिष गजुरेल र नेपाल पारवहन तथा गोदाम लिमिटेड व्यवस्थापक गिरिराज ज्ञवाली थिए । दुई साताअघि सभामुख अग्नि सापकोटा, अर्थमन्त्री जनार्दन शर्मा, अर्थ मन्त्रालय अधिकारीहरू, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठसहित दर्जनभन्दा बढी उच्च अधिकारीले नाकाबारे अनुगमन गरेका थिए । आयात–निर्यात सहज बनाउने विषयमा चीनसँग छलफल गरिसकेको र नाका पूर्ण रूपमा खुलाउन पहल भइरहेको सभामुख सापकोटाले बताएका थिए ।

अर्थमन्त्री शर्माले पूर्ण रूपमा खुलाउन भौतिक संरचना व्यवस्थित बनाउन सरकार लागिपर्ने बताएका थिए । दुई वर्षअघि तातोपानी निरीक्षणमा आएको सरकारी अधिकारीको टोलीले प्रतिवेदन तयार पारिसकेको बताएको थियो, साथै नाका पूर्ण रूपमा खुलाउन भौतिक पूर्वाधार सुरक्षित व्यवस्थित हुनुपर्ने निर्क्योल निकालेको थियो ।

भूकम्पको चार वर्षपछि आयात सहज बनाउने गरी खुलाउने भनिएको नाका भोटेकोशी बाढीपहिरोको अवरोधपछि खुल्दै बन्द हुँदै गर्न थालेको धेरै भयो । पछिल्लो समय ताल फुट्ने हल्ला र कोभिडले आयात व्यापार खुम्च्याइदियो । २० वर्षअघिदेखि चल्दै आएका एक हजार चार सय मालवाहक कन्टेनर, २८ सय चालक र पाँच हजार मजदुर परिवार बेरोजगार भए । भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल भन्छन्, ‘नाका कहिल्यै सन्तुलनमा आएन, हामी खुब दौडियौं, नाका सहज हुने वातावरण बनेन,’ उनले भने ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतम दैनिक ६/७ कन्टेनरबाट रोल कपडा, स्याउ र लसुन भित्रिरहेको बताउँछन् । ‘नाका जसरी सहज हुनुपर्ने थियो, त्यो भएन,’ उनले भने, ‘उच्चस्तरीय टोलीलाई हामीले यहाँको सबै विवरण दिएका छौं ।’


प्रकाशित : मंसिर १५, २०७८ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?